महानगरको विज्ञापन करको विरोधमा बुटवलका व्यवसायी

रूपन्देही । बुटवल उपमहानगरपालिकाले नगरभित्रका उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरूले राखेका परिचय पाटी (पहिचान बोर्ड) मा विज्ञापन कर असुल गर्न ठेक्का दिएपछि उत्पन्न जटिल परिस्थितिप्रति बुटवलका चार व्यवसायिक संघ-संस्थाले गम्भीर आपत्ति जनाएका छन् ।

बुधबार पत्रकार भेटघाटमा उपमहानगरपालिकाले ठेक्का दिएको गणेश एण्ड सन्स कन्ट्रक्सनका कर्मचारीहरूले व्यवसायीहरूमाथि अशिष्ट र अभद्र व्यवहार गर्नुका साथै तोडफोड गरेको आरोप लगाउँदै क्षतिपूर्तिको मागसमेत गरेका छन् ।

व्यवसायीहरूले बुटवल उपमहानगरपालिकाले ठेक्का प्रक्रियामा आफूहरूको सहभागिता नभएको भन्दै राजश्व परामर्श समितिमा राखिएको सुझावलाई तोडमोड गरी गलत प्रचार गरेको जिकिर गरेका छन् । उनीहरूले ठेक्का र कर असुलीका क्रममा भएको ज्यादती तत्काल रोक्न माग गर्दै नगरपालिकालाई समस्या समाधान गर्न आग्रह गरेका छन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रुपन्देही व्यापार संघका अध्यक्ष दिपकप्रसाद अधिकारी र उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णु पाण्डेले उपमहानगरपालिकाले संकटमा परेका व्यवसायीलाई आतंकित बनाएको जनाएका छन् ।

अधिवक्तासमेत रहेका व्यवसायी विमलराज भट्टराईले कानुन विपरीत व्यवसायीमाथि करको नाममा आतंक मच्चाइउको बताए । व्यवसायीहरू गणेश पोखरेल, गोपाल अधिकारी, प्रकाश ढकालले सबै व्यवसायीको एकताबाट मात्रै यस्तो गलत कामको अन्त्य हुने सुझाव दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *