चितवन । आगामी चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट ‘बालेन युथ फोरम’ को नाममा प्यानल दर्ता भएको छ ।
वीरेन्द्र क्याम्पस स्ववियू निर्वाचन अधिकृत देवीप्रसाद पौडेलका अनुसार क्याम्पसमा १३ वटा विद्यार्थी संघसंगठनका प्यानल दर्ता भएका छन् । जसमध्ये बालेन युथ फोरम १३ औँ नम्बरमा रहेको छ ।
निर्वाचनमा भाग लिने प्यानलमा मुख्य राजनीतिक संगठनका भ्रातृ संस्थाहरू अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघलगायत छन् ।
जसमध्ये अन्तिममा नाम दर्ता गरेको बालेन युथ फोरमले ११ जनाको प्यानल दर्ता गराएको हो । निर्वाचन अधिकृत पौडेलका अनुसार सुलभ ढुङ्गानाको नेतृत्वमा समूह दर्ता भएको हो ।
समूहको बाँकी पदाधिकारी तथा सदस्यको नाम क्याम्पसले खुलाएको छैन । अधिकृत पौडेलले दावी-विरोधको समय बाँकी रहेकोले सबै सदस्यहरुको नाम अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।
निर्वाचन अधिकृत पौडेलले नेपाल प्रेससँग भने, ‘बालेनजी स्वयंले पनि यो समूहको नाममा प्रश्न उठाउन सक्नुहुन्छ । दावी विरोधको समय पनि बाँकी छ । हामी पनि बुझ्ने चरणमा छौँ । दावी विरोधको समय सकिएपछि सबै सदस्यको नाम सार्वजनिक गर्छौं ।’


Leave a Reply