काठमाडौं । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भनेका थिए, ‘नेपालको अर्थतन्त्रलाई नकारात्मक दिशामा जानबाट रोकेर सकारात्मक दिशामा लगिरहेका छौँ । अर्थतन्त्र क्रमशः सुधारको हुँदै गएको छ ।’
अर्थमन्त्रीले दाबी गरेजस्तै अहिले नेपालको अर्थतन्त्र सुधारको गतिमा गइरहेको छ ? नेपालको अर्थतन्त्रको ऐना कस्तो छ ? अर्थतन्त्रका सूचकहरूले सुधारका संकेत देखाइरहेका छन् ? यहाँ हामीले यस्तै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेका छौँ ।
कुनै पनि देशको वर्तमान अवस्था कस्तो छ भनेर केही सूचकहरू हेर्नुपर्ने हुन्छ । देशको अवस्था कस्तो भनेर निर्धारण गर्नका लागि विश्वव्यापी मान्यताअनुरूप केही आर्थिक परिसूचकहरू हुन्छन् । ती सूचकहरू हेर्दा पछिल्लो समय नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको देखाएको छ ।
बाह्य क्षेत्रका परिसूचकहरूले आर्थिक गतिविधिमा सुधार हुँदै गएको संकेत गरेका छन् । विगत तीन वर्षदेखि सुस्त रहेको बाह्य व्यापार चालु आर्थिक वर्षमा विस्तारोन्मुख देखिएको छ ।
सुधार हुँदै निर्यातको ‘ग्राफ’
नेपालबाट निर्यात हुने वस्तु तथा सेवाको ‘ग्राफ’मा सुधार हुँदै गएको छ । आर्थिक वर्ष २०८१/८२ को ७ महिनाको तथ्यांक हेर्दा वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको देखिन्छ । यस अवधिमा वस्तु निर्यात १ खर्ब २७ अर्ब २० करोडको भएको छ । गत वर्षको सोही अवधिमा ८६ अर्ब ८३ करोडको मात्रै वस्तु तथा सेवा निर्यात भएको थियो ।
वस्तु निर्याततर्फ मुख्यगरी सोयाविन तेल, पोलिस्टर धागो, ऊनी गलैँचा, लत्ताकपडा र अलैँचीको निर्यात उल्लेख्य वृद्धि भएको छ । अन्तिम उपभोग्य वस्तुको तुलनामा मध्यवर्ती तथा पूँजीगत वस्तुहरू जस्तै सवारी साधन तथा पार्टपुर्जा, अन्य मेशीनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, स्पोन्ज आइरन आदिको आयात वृद्धि भएकोले समेत आर्थिक क्रियाकलाप विस्तारले गति लिने देखिन्छ ।
चालु आवको सात महिनामा ११ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि माघसम्मको अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । गत आवको सोही अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।
यस अवधिमा ९ खर्ब ८८ अर्ब ५९ करोड बराबरको वस्तु आयात भएको छ । यो आयात गत आवको तुलनामा १०.०९ प्रतिशत बढी हो । उक्त अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको थियो ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्यामा भएको वृद्धिका कारण विप्रेषण आप्रवाह बढ्ने अनुमान रहेता पनि बढ्दो आयातसँगै विदेशी विनिमय सञ्चिति क्रमशः उपयोग हुँदै जाने देखिन्छ । अहिलेको अवस्थामै पनि १७ महिनाको वस्तु आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति छ ।
कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भएको छ । २०८१ पुस मसान्तमा २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ । यस्तो सञ्चिति २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड थियो ।
खर्च र राजस्व परिचालनमा सुधार
अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारी खर्च र राजस्व परिचालनमा सुधार देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्ममा संघीय सरकारको कुल खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले बढेको छ ।
यस अवधिमा सरकारले ७ खर्ब ५४ अर्ब ८५ करोडको कुल खर्च गरेको छ । जसमध्ये चालु खर्च ५ खर्ब २२ अर्ब ६३ करोड, पुँजीगत खर्च ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ६३ अर्ब ८१ करोड छ ।
चालू आवको सात महिनासम्ममा संघीय सरकारको राजस्व परिचालन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले बढेको छ । यस अवधिमा ६ खर्ब ४२ अर्ब ८५ करोड राजस्व परिचालन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ५ खर्ब ६७ अर्ब ४० करोड राजस्व परिचालन भएको थियो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्ममा २ खर्ब २९ अर्ब १५ करोड आन्तरिक ऋण र ६१ अर्ब ४२ करोड बाह्य ऋण गरी नेपाल सरकारले कुल २ खर्ब ९० अर्ब ५८ करोड ऋण परिचालन गरेको छ ।
२६ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता
चालू आर्थिक वर्षको सात महिनामा २६ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि माघ मसान्तसम्ममा ३८६ परियोजनामार्फत २६ अर्ब ८४ करोड १७ लाख ७३ हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
यस अवधिमा १७५ परियोजनामा स्वचालित मार्गमार्फत दुई अर्ब ६२ करोड ८२ लाख ५७ हजार रुपैयाँ र नियमित मार्गमार्फत २११ परियोजनामा २४ अर्ब २१ करोड ३४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
यस अवधिमा सबैभन्दा बढी वैदेशिक लगानी पर्यटन क्षेत्रमा प्रतिबद्धता भएको छ । यस क्षेत्रमा १७ अर्ब ३२ करोड ७५ लाख ९० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सेवा क्षेत्रमा पाँच अर्ब ६९ करोड ८७ लाख ३० हजार आउँदा सूचना प्रविधि क्षेत्रमा ८० करोड ६८ लाख ६३ हजार प्रतिबद्धता भएको विभागको तथ्यांकमा उल्लेख छ ।
पर्याप्त तरलता, बढ्दै कर्जा प्रवाह
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ६७ खर्ब रुपैयाँ नाघेको छ । फागुन १७ गतेसम्मको तथ्यांक हेर्दा वित्तीय संस्थाहरूमा ६७ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप रहेको देखिन्छ ।
अहिले बैंकहरुसंग पर्याप्त तरलता छ । बैंकहरुमा भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ । जसमा निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्ब ९ अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत १३० खर्ब ५२ अर्ब तानिएको हो ।
यस अवधिमा ओभरनाइट तरलता सुविधामार्फत २ अर्ब ७० करोड तरलता प्रवाह हुँदा १४८ खर्ब ५८ अर्ब ८५ करोड (कारोबारमा आधारित) खुद तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधामार्फत तरलता प्रवाह र निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन हुँदा २७ अर्ब ९४ करोड खुद तरलता प्रशोचन भएको थियो ।
निजी क्षेत्र तर्फ कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट चालू आवको छ महिनामा निजी क्षेत्रतर्फ २ खर्ब ६५ अर्ब ५६ करोड थप कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड प्रवाह भएको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्र तर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा ९.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत रहेको थियो ।
तरलता सहज भएसँगै अल्पकालीन ब्याजदर लगायत बैंक तथा वित्तीय संस्थाहरूको आधार दर तथा निक्षेप र कर्जाको ब्याजदरसमेत घटेको छ । सञ्चालन लक्ष्यको रूपमा रहेको बैंक तथा वित्तीय संस्थाहरूबिचको भारित औसत अन्तरबैंक दर २०८० माघमा ३.०४ प्रतिशत रहेकोमा २०८१ माघमा ३.०० प्रतिशत रहेको छ ।
चालु खाता करिब डेढ खर्बले बचतमा
चालु खाता करिब डेढ खर्बले बचतमा रहेको छ । चालू आवको छ महिनाको अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा ६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) आप्रवाह ४ अर्ब ५४ करोड रहेको थियो ।
यस अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो ।
विदेशी विनिमय सञ्चितिको विद्यमान स्रोत तथा खर्चका क्षेत्रहरूको विश्लेषणका आधारमा चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि शोधनान्तर बचत कायम रहने राष्ट्र बैंकले जनाएको छ ।
बढ्दै रेमिट्यान्स आप्रवाह
चालू आवको अर्धवार्षिक समीक्षासम्म आइपुग्दा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।
विगत ३ वर्षयता वर्षेनी करिब ७ लाख नेपालीहरू वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । वर्षेनी करिब १ लाख विद्यार्थीले वैदेशिक अध्ययनका लागि स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

मुद्रास्फीति ४.९७ प्रतिशत
चालु आर्थिक वर्षको ६ महिनासम्ममा औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको छ । २०८१ असोजको बाढी/पहिरोबाट भएको क्षतिका कारण आपूर्ति प्रणालीमा उत्पन्न व्यवधान तथा भारतमा खाद्यान्नको मूल्य उच्च रहेकाले खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई कार्तिक र मंसिरमा बढ्दोक्रममा रहेको मुद्रास्फीति पुसमा केही तल आएको छ ।
पछिल्लो तीन वर्षको तुलना गर्दा मुद्रास्फीति घट्दो अवस्थामा देखिन्छ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा ४.९७ प्रतिशत रहेको समग्र मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो । आव २०७९/८० मा यस्तो मुद्रास्फीति ७.७५ प्रतिशत थियो ।
वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०८१ पुसमा ५.४१ प्रतिशत रहेको छ । २०८० पुसमा वार्षिक विन्दुगत मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । २०८१ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.३६ प्रतिशत रहेको थियो ।

ढुक्क हुने स्थिति छैन: अर्थविद् खनाल
अर्थतन्त्रका केही सूचकमा सुधार देखिएपनि ढुक्क हुने स्थिति भने नरहेको अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरूमा सुधार देखिएका पक्कै हुन् । केही सूचकलाई मात्रै हेरेर हुँदैन । यति सुधारमै ढुक्क हुने स्थिति भने छैन ।’
उनका अनुसार कोरोना महामारी, ठूला देशहरूमा भएको युद्ध, विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपालको अर्थतन्त्रमा पनि त्यसको असर पर्यो । यस्तो प्रभाव केही वर्ष नेपालले भोग्नु पर्यो । तर, अहिले विस्तारै लयको दिशामा उन्मुख भइरहेको देखिन्छ ।
नेपालका अर्थतन्त्रका सूचकहरूले सुधारका संकेत देखाइरहेका छन् । रेमिट्यान्स, चालू खाता, शोधनान्तर स्थिति जस्ता केही बाह्य उपकरण सहज देखिएपनि समग्रमा मुलुकको अर्थतन्त्र कस्तो छ भनेर हेर्नुपर्ने उनको भनाई छ ।
वित्तीय संस्थाहरूमा प्रशस्त पैसा भएपनि लगानी हुन नसकिरहेको अवस्था छ । लगानी बढाउनका लागि नयाँ उपायहरू खोज्नु पर्ने उनको सुझाव छ ।
लगानीका लागि मनोबल बढाउन सरकारले ध्यान दिनु पर्ने उनको तर्क छ । अर्थतन्त्र सुधारका लागि थप कदम चाल्नुपर्ने अर्थविद् खनालको सुझाव छ ।

Leave a Reply