फिफाद्वारा पाकिस्तानी फुटबलको प्रतिबन्ध फुकुवा

हेटौँडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबलमाथि लगाएको सबै खाले प्रतिबन्ध फुकुवा गरेको छ ।

आफ्नो निर्देशनको अवज्ञा गरेको भन्दै फिफाले गत फेब्रुअरी ६ मा पाकिस्तानी फुटबलमाथि सबै खाले प्रतिबन्ध लगाएको थियो ।

फुटबलमा राजनीतिक हस्तक्षेप भएको र आफूहरूले पठाएको विधान संशोधनको मस्यौदामा निर्णय नलिएको भन्दै फिफाले प्रतिबन्ध लगाए पनि समस्यामा परेको पाकिस्तानको फुटबलको समस्या अब समाधान भएको फिफाले विज्ञप्ति जारी गरी जनाएको छ ।

विधान संशोधनको पक्षमा पाकिस्तान फुटबल संघका अधिकांश सदस्यले सहमति जनाएपछि फिफाले प्रतिबन्धको फुकुवा गरेको हो ।

प्रतिबन्ध फुकुवा भएसँगै अब पाकिस्तानले फिफाद्वारा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन पाउने भएको छ ।

प्रतिबन्धको कारण एसिया कप छनोट अन्योलमा परेपछि पाकिस्तानले फिफाको निर्देशनलाई तत्कालै कार्यान्वयन गरेको थियो । एसिया कप छनोटमा पाकिस्तानले सिरियाको सामना गर्नेछ ।

गत हप्ता लाहोरमा सम्पन्न पाकिस्तान फुटबल महासंघको विशेष साधरणसभामा फिफाले निर्देशन गरेको विधान संशोधनको पक्षमा बहुमत आएपछि फिफाले प्रतिबन्ध फुकुवा गरेको हो ।

विवाद र राजनीतिक हस्तक्षेपको कारण पछिल्लो एक दशकभित्र पाकिस्तानलाई तीन पटक फिफाले प्रतिबन्ध लगाइसकेको छ ।

फिफाले प्रतिबन्ध फुकुवा गरेसँगै पाकिस्तान फुटबल महासंघले विज्ञप्ति जारी गर्दै आगामी दिनमा फिफा र एसियाली फुटबल महासंघले गर्ने सबै प्रकारको सहयोगको निरन्तरताको अपेक्षा समेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *