चितवन । अहिले धेरै स्थानीय तहहरूले खेप्ने गरेको प्रश्न हो- कर्मचारी आफू अनुकूल नभए सिंहदरबार गएर धर्ना बस्छन् । काठमाडौं महानगरपालिकाको त प्रमुख प्रशासकीय अधिकृतसमेत जानै नरुचाउने पालिकाको रूपमा विवाद छरपष्ट छ ।
स्थानीय तहका पनि ठूला निकाय महानगरहरू विवादमा परिरहँदा तीन वर्षयता भरतपुर महानगरले भने कर्मचारी समन्वयमात्रै होइन, कार्यसम्पादनमै देशको उत्कृष्ट महानगरको उपाधि पाएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकन कार्यविधिमा समेटिएका १७ सूचकमा उत्कृष्ट भएर ७६ भन्दा बढी नम्बरका साथ उत्कृष्टमा समेटिएको छ भरतपुर महानगर ।
हुन त भरतपुर महानगरकी मेयर रेनु दाहाल देशका ठूला दलमध्ये एउटा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन् । बेलाबेला उनलाई अन्य ठाउँको बजेट शक्तिको आडमा भरतपुरमा खन्याएको आरोप पनि लाग्ने गर्छ, तर लगातार तीन पटकसम्म महानगर उत्कृष्ट हुनु आफ्नो कामको लगावको परिणाम भएको निष्कर्ष छ प्रमुख दाहालको ।
भरतपुर महानगरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचनमा उठ्दा रेनु दाहालको पार्टी नेकपा माओवादीको मात्रै मतबाट उनी निर्वाचित भएकी होइनन् । अहिलेको कार्यकालमा उनलाई गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको साथ थियो, तर रेनुको दाबी छ- ‘मलाई सबै कांग्रेसले मत दिएनन् । मेरो काम हेरेर सबै दलका भरतपुरवासीले दिएको मतले निर्वाचित भएको हुँ । काम पनि विनाभेदभाव गरेको छु ।’
मतदाताले दिएको मतलाई विनास्वार्थ, विनाभेदभाव र रिजल्ट ओरियन्टेड काम गरेर महानगरलाई उत्कृष्ट बनाउन सफल भएको उनको जिकिर छ । लगातार तीन पटकसम्म स्थानीय तहमध्ये देशभरकै उत्कृष्ट बनाउन कसरी सम्भव भयो, महानगरलाई उत्कृष्ट बनाउन के कसरी कार्यसम्पादन भयोलगायतका विषयको सेरोफेरोमा रहेर भरतपुर महानगरकी मेयर रेनु दाहालसँग नेपाल प्रेसकर्मी प्रतिमा सिलवालले गरेको कुराकानी प्रस्तुत छ नेपाल टकमाः
– भरतपुर महाननगरपालिकालाई उत्कृष्ट बनाउन कसरी सम्भव भयो ?
उत्कृष्ट बनाउन काम गर्नु जरूरी छ । जसका लागि सबै हिसाबले लगाव चाहिन्छ । महानगरको काम भनेको टीम वर्क पनि हो । विनास्वार्थ, विनाभेदभाव, रिजल्ट ओरियन्टेड काम हामीले गर्यौं । निरन्तर फलोअप, कर्मचारीहरूको कार्यविभाजन, नियमन र अनुगमनलगायत सबै चिजहरूको समग्र प्रतिफल नै भरतपुर महानगरको कार्यसम्पादनमा उत्कृष्टता हो ।
म महानगरको काममा सबै हिसाबले समर्पित छु । अन्त मेरो ध्यान नै छैन । जतिबेला पनि महानगर, महानगर, महानगरमात्रै हो । यो महानगरलाई मैले मेरो बच्चाबच्ची, बाआमा जतिकै माया, जिम्मेवारी बहन गरेको कारणले पनि यो सफल भएको जस्तो लाग्छ । अर्को भनेको तहगत समन्वयले उत्तिकै साथ सहयोग पाएको छु । उपमेयर, वडाध्यक्षहरू, महाशाखा प्रमुख, सबै कर्मचारीको राम्रो ट्युनिङ, एकता र मेलमिलापले नै महानगरमा राम्रो काम गर्न सहज भएको हो जस्तो लाग्छ ।
जनताप्रति उत्तरदायी भएकाले हामी नियमित उत्कृष्ट भएका हौं । एउटामा मात्रै होइन, लिजामा पनि उत्कृष्ट छौं । भरतपुर महानगरपालिका शून्य बेरूजु भएको स्थानीय तह हो ।
महत्वपूर्ण कुरा काम समयमै सम्पन्न गर्ने र नतिजामुखी पनि हुनुपर्ने रहेछ । महानगरले आफ्नो बजेट समयमा ल्याउने, सार्वजनिक सुनुवाइ, जवाफदेही आर्थिक मितव्ययिता, खर्च प्रणालीमा रहेर भुक्तानी गर्नुपर्ने काम सही तरिकाले गरेको छ । पालिकाभित्र भए गरेका कामहरू संघीय सरकार, अर्थ मन्त्रालयमा पठाउने काम भएको छ । सबै चिज समयमै भएका कारणले, जनताप्रति उत्तरदायी भएकाले हामी नियमित उत्कृष्ट भएका हौं । एउटामा मात्रै होइन, लिजामा पनि उत्कृष्ट छौं । भरतपुर महानगरपालिका शून्य बेरुजु भएको स्थानीय तह हो । खेल पूर्वाधार बनाउनेमा पनि देशभरकै पालिकामध्ये उत्कृष्ट छ । भौतिक र शहरी पूर्वाधार विकासमा पनि नगरपालिका संघले गरेको मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट छ । हामी हरेक कामका क्षेत्रमा अब्बल सावित गर्दै अघि बढेका छौं ।
– दोस्रो कार्यकाल कांग्रेस-माओवादीको गठबन्धनबाट निर्वाचित हुनुभयो, तर पनि ३९ सदस्यीय कार्यपालिकामा तपाईंको दलबाट तपाईंसहित ६ जनामात्रै सदस्य हुनुहुन्छ । फरक फरक विचारमा ट्युनिङ मिलाउन के गर्नुपर्ने रहेछ ?
जनप्रतिनिधिलाई भोट गठबन्धनले मात्रै हालेर नहुने रहेछ । म कांग्रेस र माओवादीको मात्रै भोटले निर्वाचित भएको होइन । जसको रिजल्ट कार्यपालिकामा मिश्रित संख्याले पनि देखाउँछ । खासमा टीममा ट्युनिङ नमिल्दा समस्या हुने हो । समन्वय र सन्तुलन कायम गर्न र समस्या आउन नदिन सजग हुने समन्वयको पाटो तत्तत ढंगले गर्नुपर्ने रहेछ । जहाँ समस्या देखिन खोजेको छ, त्यहाँ तत्काल हल गर्नुपर्ने रहेछ ।
समस्याको समाधान एकपक्षीय होइन, छलफल र वार्ता गरेर हल गर्नुपर्ने रहेछ । म कुनै समस्या आउन लागेको छ भने समस्या समाधान गरेरमात्रै कार्यपालिका बैठकमा जाने गर्छु । निर्णयमा सबैको अपनत्व हुने अवस्था भयो भने प्रश्न नै आउँदैन । हाम्रो नगरसभामा पनि समस्या आएको छैन । एक्लै पेलेर जाँदा पो समस्या आउने हो ।
तपाईंले भने जस्तै हाम्रो पार्टीका ३ वडाध्यक्ष, २ कार्यपालिका सदस्य र मसहित ६ जना कार्यपालिकामा छौं । जबकि कार्यपालिकामा ३९ जना सदस्य हुनुहुन्छ, तर मलाई कुनै जनप्रतिनिधि पनि मेयरको कामबाट रुष्ट भएको अनुभव छैन । मेयरले बायस गर्यो भन्ने सुन्नुपरेको छैन । मेयरप्रति आक्षेप, टीकाटिप्पणी छैन । आफ्नो कार्यकालमा उत्कृष्ट टीम वर्कमा मिलाएर सन्तुलित नेतृत्व प्रदान गरेको कुरामा गौरव लाग्छ ।
सबैभन्दा मूल कुरा समन्वय रहेछ । हामीले तहगत सरकारसँग, संघ, प्रदेश र पटकपटक फेरिरहने कर्मचारीका बावजुद पनि राम्रो समन्वय गर्न सक्यौं । हामीकहाँ अन्य स्थानीय तहबाट पनि भिजिटमा आउनुहुन्छ । म उहाँहरूलाई तहगत सरकारसँग समन्वय गर्ने पाटोको उदाहरण दिने गर्छु । त्यसैले समन्वय चाहिँ टीम र तहगत रूपमा हुनुपर्ने मुख्य कुरा रहेछ ।
– तपाईंले उत्कृष्ट महानगरका सूचक त पास गर्नुभयो । विकासका काममा चाहिँ केन्द्रीय सरकारले गरेको पनि जस लिने गरेको आरोप छ नि ?
म दाबीका साथ भन्छु- भरतपुर महानगरले भौतिक पूर्वाधारमा कायापलट गरेको छ । ८ वर्षमा १ हजार किलोमिटर कालोपत्रे त्यसै सम्भव हुने थिएन । मेयरसहितको टीम मरिमेटेर लागेकाले गर्दा यो सम्भव भयो । पटकपटक यस्ता काममा महानगरले जस लिने भनेर तपाईंले जस्तै प्रश्न पनि सुनिन्छ । उहाँहरूले के थाहा पाउनुपर्छ भने नगरको मेयरको काम महानगरको बजेटमा मात्रै खेलेर बस्ने होइन ।
सुन्दर महानगरमात्रै होइन, मानिसहरू बस्ने र रोजगारी सिर्जना भएको महानगर पनि बनाउन जरूरी छ । हामीले महानगरभित्र रोजगारी सिर्जना गर्न ध्यान दिन जरूरी छ ।
नगरभित्रको विकास निर्माणको लागि पनि पहलकदमी लिनुपर्छ । हामीसँग त कति नै आम्दानी छ र ! तलब, भैपरी आउने खर्चबाहेक न्यून बजेटमा काम गर्नुपर्छ । काठमाडौं र पोखराको बजेटसँग हाम्रो तुलना नै हुन सक्दैन । त्यसैले हामीले आफ्नो महानगरको विकास गर्न संघ र प्रदेश सरकारसँग धेरै लागिपर्यौं । त्यसैले बजेट आयो र काम पनि भएको देखिएकै छ ।
– भौतिक विकासको चर्चा त तपाईंले भने जस्तै राज्यकै आधिकारिक निकायले मूल्यांकन पनि गर्यो, तर पनि मानव विकासमा कम काम भएको गुनासो छ नि ?
हामीले महानगरको सबैजसो स्थानमा कालोपत्रे गर्यौं । अब सौन्दर्यकरण गर्नेतिर ध्यान छ । हरियाली महानगर बनाउन वृक्षरोपण गर्छौं, तर अझै पनि सुन्दर महानगरमात्रै होइन, मानिसहरू बस्ने र रोजगारी सिर्जना भएको महानगर पनि बनाउन जरूरी छ । हामीले महानगरभित्र रोजगारी सिर्जना गर्न ध्यान दिन जरूरी छ । अघिल्लो वर्ष ४ हजार १०० जनालाई सीपमूलक तालिम दियौं । यसवर्ष ५ हजार जनालाई तालिम दिन सूचना जारी गरेका छौं । रोजगार र उद्यमशील महानगरवासी बनाउन जरूरी छ ।
– तपाईं महिला मेयर पनि हो । चितवनमा हिंसाका घटना धेरै आउने गर्छन्, तर पनि सरकारी तहमा एउटा पुनःस्थापना केन्द्र छैन । यसतर्फ तपाईंको ध्यान किन गएन ?
महिला पुनःस्थापना केन्द्र सरकारी तहमा नै बनाउन आवश्यक छ भनेर हामीलाई कसैले घच्घच्याएको छैन । हामीले विभिन्न संघसंस्थालाई वार्षिक रूपमा सहायता गरेर पुनःस्थापनामा सहयोग गर्ने काम गरिरहेका छौं । भरतपुर महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त क्षेत्र घोषणा गर्यौं । लिखित सम्झौता नै गरेर मानव सेवा केन्द्रसँग यस कार्यक्रममा समन्वय गरेका छौं । पुनःस्थापना केन्द्रको हकमा स्थापना गर्नैपर्छ भनेर सरोकारवालाहरू आउनुभएको अवस्था पनि छैन । आउने दिनमा भयो भने हामी गर्छौं ।
– तपाईंको यो उत्कृष्टता, कार्यक्रममा बजेट प्राप्ति प्रचण्डको छोरी नभएको भए सम्भव थियो ?
प्रचण्डको छोरी भनेर मेरो त्याग, तपस्या, जनताप्रतिको लगाव, समर्पणलाई दबाउने मनोविज्ञानले काममा हतोत्साही पनि बनाउँछ । म प्रचण्डको छोरी हो, यसमा गौरव छ । यसबाट काममा केही सहज र केही असहज पनि होला, तर खाली त्यही भनेर ठुँगिराख्ने पनि गरिरहन्छन् । गरेको कामको पनि मिनिमाइज गरिदिने तप्का पनि छ । प्रचण्डको छोरी भएर बजेट ल्याउन सक्ने भए आफैं प्रधानमन्त्री भएका मानिसहरूले आफ्नो ठाउँमा विकास किन नगरेको त नि ? प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री त अरू पनि हुनुहुन्छ । उहाँहरूले पनि गर्न सक्नुहुन्छ ।
अघिल्लो वर्ष ४ हजार १०० जनालाई सीपमूलक तालिम दियौं । यसवर्ष ५ हजार जनालाई तालिम दिन सूचना जारी गरेका छौं । रोजगार र उद्यमशील महानगरवासी बनाउन जरूरी छ ।
मैले देखिने गरी गरेका कार्यक्रम जस्तोः ६ लेन सडक, सिटी हललगायत त बुबा प्रधानमन्त्री नहुँदा भएका हुन् । केही नीतिगत सहज जस्तोः क्रिकेट रंगशाला, भरतपुर विमानस्थल विस्तारका लागि नीतिगत निर्णयमा भने उहाँकी छोरी भएकाले क्याबिनेटबाट निर्णय गर्न सहयोग भयो होला । आफूले प्रयत्न गरेको काममा बल नपुग्दा बुबा लौ न भन्न सहयोग होला, तर त्यो सहयोगले पनि मलाई होइन, भरतपुरको लागि फाइदा भएको छ । जनप्रतिनिधिको हिसाबले गरेको कामलाई ओझेलमा पार्न प्रचण्डकी छोरी भनेर ठुँगिरहने कुरा गलत हो ।
– बुबाले चितवन छोडिहाल्नु भयो । अब क्षेत्र नम्बर ३ त तपाईंकै लागि सुरक्षित होला होइन ?
अझै २ वर्ष बाँकी छ । अब मेयर हुने कार्यकाल बाँकी छैन । म सांसद नै हुने हो, तर अझै पनि मेरो के हुन्छ पक्का छैन । अझै पनि बुबा आउनुभयो भने सिंगो चितवनवासीका लागि फाइदा हो । जिल्लामा शीर्ष नेता हुनु र नहुनुमा फरक पर्छ । चितवन जिल्लाको जिल्लावासी हुनुको नाताले कर्तव्यमा फरक पर्छ । बुबा आउने स्थिति भए बुबा हुनुहुन्छ । आमजनताको माग चाहिँ रेनु भन्ने छ, तर पार्टीले गरेको निर्णय मान्ने हो । मैले अहिले नै मेरो लागि यो वा त्यो क्षेत्र भन्ने अवस्था छैन ।
– तपाईं राजनीतिमा तीन वर्ष निर्वाचित जनप्रतिनिधि भएर काम गर्दा जनताले कसरी बुझे वा तपाईंको छवि कस्तो बन्यो जस्तो लाग्छ ?
म सरल, दयालु, मायालु, निःस्वार्थी, आग्रह र पूर्वाग्रह नभएको जनप्रतिनिधि हो । काममा सक्रियता भएको नेतृत्व हुँ । मलाई काम गर्ने भनेपछि हुनैपर्छ । मेरो पारिवारिक र व्यक्तिगत समय नै छैन । भरतपुरलाई नै सतप्रतिशत समय दिएको छु । बिहान ७ देखि बेलुका ९ बजेसम्म महानगर केन्द्रित काम हुन्छ । दुःख अप्ठेरोमा परेका सबै पार्टीका, सबै पक्षका महानगरवासीको दुःख बिसाउने ठाउँ मेरो निवास हो । मलाई राजनीति भनेको सेवा हो भन्ने लाग्छ । म जनताको सेवामा खुसी छु । मलाई भरतपुरवासीले त्यही रूपमा बुझ्नुभयो जस्तो लाग्छ ।
– पटकपटक बुबा (प्रचण्ड)ले नेपालको प्रधानमन्त्री महिला हुन्छिन् भन्ने गर्नुहुन्छ । तपाईंको राजनीतिक यात्रा प्रधानमन्त्री बन्नेसम्म पुग्ला ?
मैले राजनीतिमा त्यस्तो दूरगामी लक्ष्य राखेर सोच्ने गरेको छैन । म महत्वाकांक्षी पनि छैन । काम गर्दै जाऔं, सेवा गर्दै जाऔं । परिस्थिति अनुकूल बनाउने कुरालाई नकार्न सकिँदैन । सबैभन्दा पहिला चुनाव जित्नुपर्यो । शीर्ष नेताकै तहमा नपुगे पनि केही तलतलसम्म पुगिएला वा त्यही सम्भावना पनि होला ।

Leave a Reply