काठमाडौं । आगामी चैत ५ गतेका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भाग लिनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठन दर्ता भएका छन् ।
६२ आंगिक तथा १ हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस मध्ये करिब करिव ३५ प्रतिशत क्याम्पसमा मात्रै विभिन्न संघ संगठन स्ववियु निर्वाचनमा भाग लिनका लागि दर्ता भएका छन् ।
सम्बन्धित संघ संगठनले दिएको जानकारी अनुसार सबैभन्दा बढी नेपाली काँग्रेस निकट रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) ३६० क्याम्पसमा स्ववियु निर्वाचनमा भाग लिनका लागि दर्ता भएको संघका प्रवक्ता सुरज सेजुवालले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार सामुदायिक र आंगिकमा गरेर ७० जिल्लामा ३६० भन्दा बढी क्याम्पसमा नेविसंघले स्ववियु निर्वाचनमा भाग लिनका लागि दर्ता भएको छ ।
उनले भने, ‘अझै कतिपय जिल्ला र क्याम्पसमा संघ दर्ता भएको तथ्यांक आउनेक्रम जारी छ । स्ववियुको अस्तित्व नै नभएका मधेशमा धेरै क्याम्पस रहेकाले त्यहाँ दर्ता हुनेक्रम बाँकी नै छ । निर्वाचन हुने ठाउँमा मात्रै दर्ता हुने भएकाले क्याम्पसको संख्या अनुसार दर्ता भएको छैन । निर्वाचन नहुने ठाउँमा दर्ता हुने कुरै भएन ।’
नेकपा (एमाले) निकट अनेरास्ववियुले भने अखिल (क्रान्तिकारी) भन्दा ५ कम क्याम्पसमा संगठन दर्ता गराएको छ । अहिलेसम्म ३४० वटा क्याम्पसमा अनेरास्ववियु निर्वाचनमा भाग लिनका लागि दर्ता भएको संगठनका सचिव सञ्जिव धितालले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार काठमाडौंका कतिपय क्याम्पसमा संगठन दर्ता भइनसकेको र दर्ता हुने क्रममा रहेकाले यो संख्या बढ्ने बताए । अनेरास्ववियु सबैभन्दा बढी लुम्बिनी प्रदेशका ८४, बागमती प्रदेशका ५८, सुदूरपश्चिम प्रदेशका ५३, कोशी प्रदेशमा ५२, कर्णाली प्रदेशका ३५, गण्डकी प्रदेश २४, काठमाडौं उपत्यकाका २५ र मधेश प्रदेशका ९ वटा क्याम्पसमा मात्रै अनेरास्ववियु निर्वाचनमा भाग लिनका लागि दर्ता भएको छ ।
संगठनका सचिव धितालले भने, ‘काठमाडौंको बानेश्वर क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती क्याम्पस, जनमैत्री क्याम्पस, काठमाडौं शिक्षा क्याम्पसमा संगठन दर्ता भइसकेको छैन् । त्यहाँ दर्ता हुन बाँकी रहेको र दर्ता हुने चरणमा रहेकाले यो संख्या अझै बढ्ने छ ।’
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को संगठन देशभरका ३४५ क्याम्पसमा दर्ता भएको संगठनका महासचिव रोशन थापामगरले जानकारी दिए । उनका अनुसार केहि क्याम्पसमा तालाबन्दी, विवाद र क्याम्पसको छुट्टै कार्यतालिका लगायतका कारण दर्ता हुन नसकेको भए पनि बुधबारसम्म दर्ता हुनेछ ।
अखिल (क्रान्तिकारी) सबैभन्दा बढी लुम्बिनीमा ७७, प्रदेश नम्बर एक र बागमती प्रदेशमा बराबर ५७–५७, सुदुरपश्चिममा ५३, काठमाडौं उपत्यकामा ३७, कर्णाली प्रदेशमा ३०, गण्डकी प्रदेशमा २४ र सबैभन्दा कम मधेश प्रदेशका १० क्याम्पसमा मात्रै दर्ता भएको छ ।
महासचिव थापाले भने, ‘आसन्न स्ववियु निर्वाचनमा देशैभर उत्साहपूर्ण ढंगले अखिल (क्रान्तिकारी )बाट ३४५ क्याम्पसमा संगठन दर्ता भएको छ । केही क्याम्पसमा तालाबन्दी, विवाद, क्याम्पसको छुट्टै कार्यतालिका लगायतका कारण, संगठन दर्ता हुन नसकेकाले बुधबारसम्ममा हुन्छ ।’
उनले संगठनका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, प्रदेश समितिका पदाधिकारी एवम सदस्य, जिल्ला समितिका पदाधिकारी एवम सदस्य, पालिका समितिका पदाधिकारी एवम सदस्य र सबै इकाई समितिका पदाधिकारी एवम सदस्यलाइ चैत्र ५ सम्म स्ववियु निर्वाचनमा एकमत भएर खटिन अनुरोध गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस किर्तिपुरमा भने २१ वटा संघ, संगठन तथा समूह दर्ता भएका निर्वाचन अधिकृत प्राध्यापक डाक्टर कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।
जसमा नेपाल क्रान्तिकारी विद्यार्थी संघ, सुधारबादी विद्यार्थी संघ, अनेरास्ववियु (छैठौ), स्वतन्त्र विद्यार्थी (त्रिवि), अखिल (क्रान्तिकारी) बहुमत, अख्तियारी त्रिवी विद्यार्थी समूह, अनेरास्ववियु, नेपाली विद्यार्थी मञ्च, अन्वेषक काउन्सिल अफ एक्सप्लोरर, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, समाजवादी विद्यार्थी युनियन, अखिल (समाजवादी), प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल, अखिल (क्रान्तिकारी), विश्वविद्यालय स्वतन्त्र विद्यार्थी सर्कल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी समाज त्रिवि रहेका छन् ।
त्रिभुवन विश्वविद्याल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ को निर्वाचन कार्यतालिका अनुसार संघ, संगठन तथा समूह दर्ता गर्ने अन्तिम समय सोमबार दिउसो ३ बजेसम्मका लागि तोकिएको थियो । कार्यतालिका अनुसार बुधबार बिहान १० बजे मतदाता सूची प्रकाशित गर्ने कार्यतालिका छ ।

Leave a Reply