रंगशालाका लागि संकलित रकम दुरुपयोगको उजुरीमा धुर्मुस-सुन्तलीलाई अख्तियारबाट सफाइ

काठमाडौं । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट उठेको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई सफाइ दिएको छ । प्राप्त सहयोगलाई फाउन्डेसनले प्रक्रियागतरूपमा नै खर्च गरेको ठहरसहित अख्तियारले उनीहरुलाई क्लीन चिट दिएको हो ।

बागमती क्रिकेट संघमा तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले गत २०७८ साल माघ २ गते धुर्मुस र सुन्तलीविरुद्ध अख्तियारमा उजुरी हालेका थिए । देश-विदेशमा रहेका नेपालीहरुबाट संकलित चन्दा र भरतपुर महानगरलगायत सरकारी कार्यालयबाट ५७ करोडभन्दा बढी रकम उठाएको र त्यसको दुरुपयोग गरेको उनको दाबी थियो । तर, अख्तियारको तीन वर्ष लामो अनुसन्धानबाट फाउन्डेसनले गरेको खर्च प्रक्रियामा कुनै कैफियत भएको देखिएन ।

अख्तियारका अनुसन्धान अधिकृत विमलकिशोर केपीले अधिकारीको उजुरीमा अनुसन्धान पूरा भई तामेलीमा राखिएको जानकारी गराउँदै केही दिनअघि  भरतपुर महानगरपालिकालाई पत्र पठाएका छन् । उक्त पत्रमा पछि थप प्रमाण फेला परे कानूनबमोजिम हुने उल्लेख छ ।

नेपाल प्रेससँग कुरा गर्दै केपीले फाउन्डेसनले सरकारी रकम दुरुपयोग गरेको प्रमाण नभेटिएको बताए ।

‘उहाँहरूमाथि परेको उजुरीको विस्तृत छानबिन गरिएको छ । फाउन्डेसनले प्राप्त गरेको सरकारी रकमलाई नियम र प्रक्रियासंगतरूपमा नै खर्च गरिएको पाइएकाले उजुरीलाई तामेलीमा राखिएको हो’, उनले भने ।

धुर्मुस-सुन्तली फाउन्डेसनले जनसहयोगबाट निर्माण सुरू गरेको रंगशालामा ३९ करोड ८० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी संकलन भएको थियो । यसमध्ये करिब १२ करोड रुपैयाँ सरकारी निकायहरुबाट प्राप्त भएको हो ।

रंगशालामा फाउन्डेसनले ५७ करोड ९२ लाख खर्च गरेको छ । रंगशालाको ३९ प्रतिशत काम भइसकेपछि थप स्रोत जुटाउन नसक्दा फाउन्डेसले भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

महालेखा परीक्षकको सातौं वार्षिक प्रतिवेदनअनुसार फाउन्डेसनले हस्तान्तरण गर्दा रंगशालामा ६३ करोड २२ लाख रूपैयाँ बराबरको काम भएको थियो ।

यसमध्ये १८ करोड रुपैयाँ बराबरको निर्माण सामग्री फाउन्डेसनले उधारोमा लिएको थियो । महानगरले ६३ करोडको संरचना फाउन्डेसनबाट लिए पनि १८ करोड उधारो भने तिर्न मानेको छैन । उधारोमा निर्माण सामग्री आपूर्ति गरेका व्यवसायीहरूले धुर्मुसविरुद्ध अदालतमा मुद्दा हालेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *