काठमाडौं । यहीँ फागुन २३ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र हो, ‘होस्टेल ३’। नयाँपुस्ताको होस्टेल र कलेज लाइफलाई चित्रण गरिएको यो चलचित्रको ट्रेलर र टिजर सार्वजनिक भइसकेको छ।
चलचित्रमा बाक्लै नयाँ अनुहारहरु देख्न सकिन्छ। यदि चलचित्रको कथावस्तु दर्शकले रुचाएमा र कलाकारले राम्रो काम गरेमा, ‘होस्टेल ३’मा देखिएका नयाँ अनुहारले पनि ‘होस्टेल’ को पहिलो सिक्वेन्सका कलाकार झैँ सिने क्षेत्रमा राम्रै स्थान पाउनेछन्।
‘होस्टेल ३’आजभन्दा १० वर्ष अगाडि निर्माण भएको चलचित्र ‘होस्टेल’को तेस्रो सिक्वेन्स हो। ‘होस्टेल’ का दुईटै सिक्वेन्सलाई अहिलेसम्म दर्शकले रुचाएका छन्। ‘होस्टेल’को अघिल्लो श्रृंखलाबाट कलाकारद्वय अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायतका दर्जनौँ कलाकार उदाएका थिए ।
रिलिजको तयारीमा रहेको यो तेस्रो सिक्वेन्समा पनि अधिकतम नयाँ अनुहारहरु छन। चलचित्रमा पारस बम ‘कूल ब्वाय’, सिम्रन पन्त, केदार घिमिरे ‘माग्ने बुढा’का छोरा ‘धुन्धुकारी’ नामले परिचित आशिष घिमिरे, ‘भ्वाइस अफ नेपाल’ फेम्ड गायक रिहान गिरी, पदम तामाङ, समा पराजुली, हिना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, रोहन श्रेष्ठ आदि लगायतका कलाकारहरु छन। यी सबै कलाकारहरूको लागि ‘होस्टेल ३’ पहिलो चलचित्र हो ।
आज हामी यसै चलचित्रका प्रमुख कलाकार मध्ये एक आशिष घिमिरेका बारेमा चर्चा गर्नेछौं। आशिष घिमिरे उर्फ धुन्धुकारी नाम दर्शकको लागि केही परिचित नाम हो। आशिषले डेढ वर्षको उमेरमा ‘गीताञ्जली’ नामक सिरियलबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए ।
६ वर्षको उमेरदेखि उनले लोकप्रिय हाँस्य–टेलि सिरियल ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार ५ वर्षसम्म अभिनय गरे । त्यसपछि, उनले ‘सिग्नेचर’ चलचित्रमा सन्दिप क्षेत्रीको बाल्यकालको भूमिका निभाए र ‘जुरेली’ नामक सिरियलमा पनि अभिनय गरे ।
पढाइलाई प्राथमिकता दिन उनले केही समय अभिनयबाट विश्राम लिए र प्लस २ पछि ‘आइटी’ मा ब्याचलर सके । यस अवधिमा, उनले केही सिरिज र म्यूजिक भिडियोमा सहायक निर्देशन र लेखन समूहमा काम गरे ।
ब्याचलर सकेपछि, आशिषले आरोहण गुरुकुल नाटक घरमा सुनिल पोखरेलसँग अभिनय सिक्न प्रवेश गरे । त्यहाँ उनले एक सडक नाटक र सुनिल पोखरेलको निर्देशनमा ‘गच्छामि’ नामक नाटक र रामभजन कामतको निर्देशनमा ‘काल’ नामक नाटकमा अभिनय गरे ।
आखिर उनी ‘होस्टेल ३’ मा कसरी फिचर्ड भए त ? चलचित्रको निर्माण टोलीले ‘शिव’ नामक भूमिकाको लागि अडिसन गरिरहेको बेला, आशिषलाई प्रस्ताव राखेका थिए। स्क्रिप्ट मन परेपछि उनले पनि यो भूमिकामा चासो देखाए । धेरै अडिसनपछि, आशिष नै ‘शिव’ को भूमिकामा फिट हुने देखिएपछि उनको अभिनय परिक्षण गरियो। त्यसमा पनि उनी सफल भए। पात्रमा फिट भएपछि उनलाई यो भूमिका दिइएको निर्देशक सशान कँडेलको भनाइ छ।
चलचित्रको लेखन तथा एसोसियट निर्देशन माधव शर्माले गरेका छन् । चलचित्रको निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।
अर्जुन तिवारीको छायाङ्कन निर्देशन रहेको चलचित्रलाई सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स ९गोविन्द शाही० र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले गर्नेछन् ।

Leave a Reply