रुपन्देही । दाङको लमहीस्थित डम्पिङ साइटमा आगलागी भएको छ । डम्पिङ साइटमा आगो सल्किएपछि निस्किएको धुवाँको मुस्लोले लमही आसपासको क्षेत्र ढाकिएको छ ।
एक साताअघि वन क्षेत्रमा लागेको डढेलो डम्पिङ साइटसम्म फैलिएको होे । लमही नगरपालिका वडा नम्बर ५ गोरक्षटोल, रातोडाँडा, लमही बजार, सुनखोली, न्यूरोड बस्तीमा पनि धुवाँ फैलिएको स्थानीयले जनाएका छन् ।
सोमबार अजम्मरी सामुदायिक वनभित्र रहेको डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँले आसपासका झन्डै एक दर्जनभन्दा बढी बस्ती प्रदूषित बनेको स्थानीयको भनाइ छ । विशेषगरी लमही बजार र बजार क्षेत्रका बस्तीमा वायु प्रदूषण फैलिएको छ । दुर्गन्धसहित मानव बस्तीमा फैलिएको धुवाँले स्थानीय बिरामी पर्न थालेका छन् ।
डम्पिङ साइटको धुवाँले आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या आउन थालेको स्थानीय पत्रकार शिवु खनाल बताउँछन् ।
त्यस्तै डम्पिङ साइटसँगै जोडिएको पूर्वपश्चिम राजमार्गका विभिन्न सडकमा सहजै हिँड्न सक्ने अवस्था नरहेको स्थानीय शशिराम नेपाली बताउँछन् ।
‘लमही नगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको भने पनि फोहोरको डंगुरमा लागेको आगो अहिले झन् बढेको छ’, उनले भने ।
खुला रूपमा फालिएको फोहोरमा आगो सल्किएपछि निस्किएको दुर्गन्धित धुवाँले बस्तीमा बसी नसक्नु भएको स्थानीय सरिता विक बताउँछिन् ।
‘फोहोरको दुर्गन्धले हैरान छौं । दुर्गन्ध र धुवाँको मुस्लोले बस्तीलाई ढाकिदिँदा सास फेर्नसमेत अप्ठेरो हुने गरेको छ’, उनले भनिन् ।
डम्पिङ साइटमा लागेको आगो नियन्त्रणमा लिन नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए ।

उनले नगरपालिकाले आश्वासन दिएर पूर्ण रूपमा आगो नियन्त्रणमा लिने काम नगरेको गुनासो गरे ।
लमही नगरपालिकाले बजार क्षेत्रबाट दैनिक निस्कने फोहोरलाई अजम्मरी सामुदायिक वनमा फाल्दै आएको छ । करिब दुई दशकदेखि यहाँ फोहोर फाल्दै आए पनि नगरपालिकाले डम्पिङ साइट व्यवस्थित गर्न सकेको छैन । बस्ती छेउमै रहेको डम्पिङ साइटले दुर्गन्ध फैलाएको र पानीको स्रोतसमेत प्रदूषित बनाएको भन्दै स्थानीयले पटकपटक लमही नगरपालिकाको ध्यानाकषर्ण गर्दै आएको अध्यक्ष रिजालले बताए ।
‘तर फोहोर व्यवस्थापनमा लमही नगरपालिकाले कुनै चासो देखाएको छैन । डम्पिङ साइट व्यवस्थापनमा नगरपालिका चुक्दै आएको छ’, उनले भने ।
लमही नगरपालिकाका मेयर जोगराज चौधरीले डम्पिङ साइट व्यवस्थापन गर्ने निर्णय नगरसभाबाट निर्णय भएको बताउँदै सोहीअनाुसार व्यवस्थित डम्पिङ साइट बनाइने बताए ।
नगरसभाको योजनाअनुसार फिल्डमा काम सुरु गर्न प्राविधिकलाई निर्देशन दिएकोसमेत उनले बताए ।
कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्याएर कुहिने फोहोरबाट मल बनाउने अभियान पनि सञ्चालन गरिएको मेयर चौधरीको भनाइ छ ।
नगरबाट दैनिक ६५ देखि ७० टन फोहोर निस्कने आंकलन नगरपालिकाको छ ।

Leave a Reply