काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध पूर्वअध्यक्ष गणेश थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले साइबर ब्युरो गुहारेका हुन् ।
अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रूपैयाँ हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको दाबी गरेका थिए । उक्त अन्तर्वार्ता सार्वजनिक भएलगत्तै थापाले सामाजिक सञ्जालमार्फत आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न चुनौति दिए । तर, आफ्नो चुनौतिलाई बेवास्ता गरेपछि वाध्य भएर प्रहरीमा जानुपरेको थापाको भनाइ छ ।
उनले भनेका छन्, ‘कानूनी राज्यमाथि विश्वास गर्ने एउटा अनुशासित नागरिकको नाताले मेरो चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कारवाही हुने विश्वास लिएको छु । र, भविष्यमा पनि कसैले कसैमाथि विना प्रमाण हचुवाका भरमा चरित्रहत्या हुने यस्ता गतिविधि गर्न नसक्ने मेरो विश्वास छ ।’
साइबर ब्युरोमा थापाको जाहेरीको दर्ता नम्बर ११५८९ रहेको छ । राईले अन्तर्वार्तामा भनेअनुसार आफूले ८ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा छानबिन गरी आफू दोषी भए कानूनअनुसार कारवाही भोग्न तयार रहेको प्रतिबद्धता थापाले व्यक्त गरेका छन् ।
‘यदि उहाँले लगाएका आरोप प्रमाणित नभए कानूनअनुसार उहाँ कारवाहीको दायरामा आउनुपर्छ,’ उनको माग छ ।

Leave a Reply