काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष भएकै बेला अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारको अभियोगमा मुद्दा लगाएका सूर्यप्रसाद सिलवालले विशेष अदालतबाट सफाइ पाएका छन् ।
विशेष अदालतका सदस्यहरू रामवहादुर थापा, मुरारी श्रेष्ठ र तेजनारायण सिंहको संयुक्त इजलासले उनमाथिको आरोप पुष्टि नहुने ठहर गर्दै सफाइ दिएको हो ।
सिलवालविरुद्ध अख्तियारले गत मंसिर २४ झुटा विवरण पेश गरेर नियुक्ति लिएको र नागरिकता किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।तर उनले उमेर ढाँटेर जागिर खाएको र १५ साउन २०८० मै अवकाश हुनुपर्ने जिकिर अख्तियारको थियो ।
सिलवालमाथि मुद्दा चलिरहेकै बेला सरकारले गत सातामात्र बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझालाई नियुक्त गरेको छ ।
सिलवालले सफाइ पाएसँगै उनी पुनर्वहाली भएको जिकिर उनको पक्षका कानून व्यवसायीको छ । सरकारले उनलाई अवकाश नदिएको र कार्यकाल पनि एक वर्ष बाँकी रहेको अवस्थामा उनी स्वतः पुर्नवहाली हुने दावी उनीहरुको छ ।
अध्यक्षको पदावधि ४ वर्ष हुने भएकाले उनको ४ वर्षे कार्यकाल मुद्दाकै अवस्थामा माघमा सकिएकाले पुनर्वहाली नहुने बताइएको छ ।
विगतमा यस्तै प्रकृतिको नजिरसमेत बसेको छ । राष्ट्र बैंकका तत्कालीन गभर्नर विजय भट्टराईविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले दिपेन्द्रवहादुर क्षेत्रीलाई गभर्नर नियुक्त गरेको थियो ।
विशेष अदालतबाट भट्टराईले सफाइ पाएपछि क्षेत्री गभर्नरबाट मुक्त भएर भट्टराई नै पुनर्वहाली भएका थिए । सोही नजिर अनुसार सिलवाल पुनर्वहाली भएर नयाँ अध्यक्ष स्वतः पदमुक्त हुने जिकिर गरिएको छ । सिलवाल २०७७ माघमा ४ वर्षका लागि बीमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए ।

Leave a Reply