योजना आयोगका मधु मरासिनीको अवकाश, रिक्त सचिवमा को-को छन् दाबेदार ?

काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन् । नेपाल सरकारको विशिष्ट श्रेणी सचिवको ५ वर्षे कार्यकालबाट उनी शुक्रबारदेखि अनिवार्य अवकाशमा गएका हुन् ।

मरासिनी यसअघि अर्थ र उद्योग वाणिज्य सचिव थिए भने केही समय उपराष्ट्रपति कार्यालयको सचिव थिए । अर्थ मन्त्रालयमा लामो समय काम गरेका मरासिनी वैदेशिक सहायताको विषयमा विज्ञ पनि हुन् ।

मरासिनी अवकाशमा गएसँगै रिक्त सचिवका लागि ३ सहसचिव प्रतिस्पर्धामा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेल चलान भएर निलम्बनमा रहेका सचिव टेकरानायण पाण्डे जेलबाटै अनिवार्य अवकाशमा गएपछि यसअघि नै ३ सहसचिव एक सचिव पदमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।

जसमा पहिलो नम्बरमा वीरेन्द्र यादव, दोस्रो नम्बरमा मदन भुजेल र तेस्रो नम्बरमा चन्द्रकला पौडेललाई लोक सेवा आयोगले सिफारिस गरिसकेको छ । जसमध्ये एकजना सचिवमा बढुवा भएपछि मात्रै अब बढुवा समितिको बैठक बसेर मरासिनीको रिक्त ठाउँमा बढुवा सिफारिस गर्नेछ ।

सिफारिस भएका ३ जनामध्ये १ जना सचिव बढुवा भएमा २ जना यसअघि नै बढुवा भएका र थप एक जना नयाँ सहसचिवको नाम बढुवाका लागि सिफारिस हुनेछ । जसमा वरिष्ठताको हिसावले अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल छन् । उनी मन्त्रालयमा आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *