पोखरा । पोखरालाई नेपालको ‘पर्यटकीय राजधानी’ भनेर सरकारले निर्णय नगरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन् ।
पोखरामा विहिबार १२औं लिटरेचर फेस्टिभलको उद्घाटन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले अहिलेसम्म पोखरालाई पर्यटकीय राजधानी भनेर निर्णय नगरेको बताएका थिए ।
सोही विषयमा टिप्पणी गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबैले स्वीकार गरिसकेको विषयमा आग्रह-पूर्वाग्रह नहुन भनेका छन् । शनिबार पोखरा महानगपालिका-१८ सराङकोटको श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा बोल्दै पाण्डेले प्रधानमन्त्री प्रचण्डबाट पर्यटकीय राजधानी घोषणा गरिएको बताए ।
‘गत वर्षको चैत ४ गते पोखरा महानगरपालिका लगायत पालिकाहरूको सिफारिसमा गण्डकी प्रदेश सरकारले निर्णय गरी सम्माननीय प्रधानमन्त्रीज्यूले पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरेको कुरा यहाँहरू सबैलाई विदितै छ,’ उनले भने ।
उले थपे, ‘जनताबाट अनुमोदन भइसकेको र सर्वस्वीकार्य नेपालका पर्यटकीय राजधानी पोखरालाई आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सबैले स्वीकार गर्दै यसको पर्यटन विकासलाई अगाडि बढाउनु नै हामी सबैको दायित्व हो भन्ने मलाई लाग्दछ ।’
११ महिनाअघि चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागितामा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।

Leave a Reply