विराटनगर । नेकपा एमाले मोरङको १०औं अधिवेशनको बन्द सत्र सुरू भएको छ । शनिबारबाट जारी अधिवेशनमा ढिला गरी बन्द सत्र सुरू भएको हो । सर्वसम्मत नेतृत्व चयनका लागि नेतृत्वले दबाबकाबीच माहोल चुनावकै बनिरहेको छ ।
कोशी प्रदेशका १३ जिल्लामा अधिवेशन सकिएपछि मोरङ बाँकी थियो ।
बन्द सत्रमा संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले प्रतिवेदन पेस गरिसकेका छन् । अध्यक्षका लागि राजकुमार ओझा र अजम्बर राईले भोट माग्न थालेका छन् । पदाधिकारीमा समेत प्यानल बनाएरै प्रतिस्पर्धा हुने देखिएको छ ।
ओझा प्यानलबाट उपाध्यक्षमा शान्ति लिम्बू र सचिवमा रविन थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । उपसचिव उम्मेदवार यकिन भइसकेको छैन । ओझालाई स्थायी कमिटी सदस्यहरू शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल र प्रदेश अध्यक्ष घनश्याम खतिवडाको साथ छ ।
संस्थापन पक्षबाटै बाबुराम कार्की पनि उम्मेदवार बन्ने आशामा छन् । तर, उनको सम्भावना क्षण रहेको स्रोत बताउँछ ।
राई समूहबाट भने उपाध्यक्षमा सागर थापा र सचिवमा सोम थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू पनि प्रतिनिधिसँग भोट माग्न थालेका छन् । यो प्यानलबाट सन्तोष वान्तवा र उषा झाले उपसचिवमा मनोनयन गर्ने तयारी गरेका छन् ।
राई समूहलाई विनोद ढकालको समूहका रूपमा हेरिएको छ । ढकाल एमाले प्रदेशको अध्यक्षमा पराजित भएसँगै असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका छन् ।
कुनै बेला ओलीकै विश्वास पात्र रहेका ढकाल अहिले भने संस्थापन पक्षसँग रुष्ट छन् । उनको प्रभाव जिल्लामा बलियो रहेकाले निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान छ ।
जिल्लामा आफ्नो प्रभाव कायमै रहेको सन्देश दिन पनि ढकाल पक्ष जसरी पनि निर्वाचनमा जाने योजनामा छ । यद्यपि संस्थापन पक्ष निर्वाचन रोकेर सर्वसम्मत नेतृत्व चयनको कसरतमा रहेको छ ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले सर्वसम्मत नेतृत्व चयनको पहल भइरहेको बताए । अधिवेशनमा ९१४ जना प्रतिनिधि उपस्थित छन् ।

Leave a Reply