वासिङटन डिसी । मेरिल्याण्ड राज्य अन्तर्गत बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को बोर्ड अफ ट्रस्टीको अध्यक्षमा प्रभुराम थापा निर्वाचित भएका छन् ।
मेरिल्याण्ड राज्यमा बस्ने नेपालीहरुको छाता संगठन तथा अमेरिकामा रहेका बिभिन्न संघ÷संस्थाहरु मध्ये शीर्ष स्थानको मानिने बानाको बोर्ड अफ ट्रष्टीको नेतृत्वका लागि मतदान भएको थियो ।
११६ मतदातामा ९७ मत ल्याएर प्रभुराम थापा बिजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धा गरेका महेन्द्र देशारले १९ मत ल्याएका थिए । बाल्टिमोरमा व्यवसाय गर्ने थापा सामाजिक तथा राजनीतिकरुपमा क्रियाशील गैरआवासीय नेपाली हुन् ।
संस्थाको उपाध्यक्षमा कलाकार तथा व्यवसायी अनुशुया श्रेष्ठ वन्त, सचिवमा सुर्योदया तिम्सिना निर्विरोध निर्वाचित भएका छन् । रिना केसी, जनक पौडेल, र सुशिला महत सदस्यमा निर्वाचित भएका छन् ।
ट्रष्टी निर्वाचन समितीको संयोजक सुबोध बिलास पन्तले अध्यक्षबाहेक सबै पदमा निर्विरोध भएको बताए । नवनिर्वाचित अध्यक्ष थापाले संस्थाको गरिमा कायम राख्दै समुदायको सेवामा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बानाको स्थापना सन् २००५ मा स्थापना भएको थियो । अमेरिकामा सबैभन्दा धेरै नेपालीहरु सदस्य रहेको संस्था बानामा ५ हजारभन्दा बढी सदस्य छन् ।

Leave a Reply