दक्षिण कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आयोजनामा ‘कोरियामा नेपाली आवाज: राजदूतसँग प्रत्यक्ष संवाद,’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महामहिम नेपाली राजदूत डा.शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियामा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको समस्या, चुनौती र अवसरबारे विस्तृत संवाद गरिन् ।
कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरू, व्यवसायी, विद्यार्थी, श्रमिक, राजनीतिक दलका पदाधिकारी, एनआरएनए अभियन्ता तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले रोजगारी सुरक्षा, श्रमिक कल्याण, कानुनी सहयोग, भिसा र आप्रवासनसम्बन्धी मुद्दा, सामाजिक एकता, सांस्कृतिक, पर्यटन , विद्यार्थीका समस्या तथा दूतावास सेवामा सुधारको विषयमा आफ्ना जिज्ञासाहरू राखेका थिए।
महामहिम राजदूत डा.तुम्बाहाङ्फेले कोरियामा रहेका नेपाली समुदायका समस्यालाई नजिकबाट बुझ्न चाहेको बताउँदै दूतावासलाई प्रवासी नेपालीहरूसँग अझ सशक्तरूपमा जोड्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, उनले नेपाली श्रमिकहरूका हकहितका लागि कोरियन निकायहरूसँग निरन्तर समन्वय गर्दै दूतावासका सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताइन् ।
यस क्रममा श्रम काउन्सिलर मैया कँडेलले श्रमसम्बन्धी विभिन्न कानुनी विषय, श्रमिक हक, रोजगारदातासँग आउने समस्याहरू तथा अन्य रोजगारीसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिइन्। उनले नेपाली श्रमिकहरूको सुरक्षाका लागि दूतावासले आवश्यक सहयोग तथा परामर्श निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।
एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले प्रवासी नेपालीहरूका समस्याहरू समाधान गर्न एनआरएनए दक्षिण कोरिया दूतावाससँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । साथै, उनले शनिबारको दिन , व्यस्तता र विभिन्न अवरोधहरूका बाबजुद पनि आफ्नो अमूल्य समय दिँई कार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद ज्ञापन गरे ।

विशेष कुरा, कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि गरिएको थियो जसकारण दक्षिण कोरियाभित्र तथा अन्य देशमा रहेका धेरै नेपालीहरूले यो अन्तरक्रिया कार्यक्रमलाई अनलाइनमार्फत हेर्न र सुन्ने अवसर पाए।
कार्यक्रमको समापनमा सहभागीहरूले नवनियुक्त राजदूतको खुलेर प्रशंसा गरेका थिए साथै यस्तो प्रत्यक्ष संवाद र अन्तरक्रियालाई निरन्तर आयोजना गर्नुपर्ने माग गर्दै प्रवासी नेपालीहरूको हित संरक्षणका लागि साझा पहल आवश्यक रहेको धारणा राखेका थिए।

Leave a Reply