काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कमजोर पार्न रौतहट हत्याकाण्ड मच्याइएको टिप्पणी गरेका छन्।
सिरहामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै रौतहटमा २९ जना माओवादी युवाहरूलाई एकैठाउँमा क्रूरतापूर्वक हत्या गरिएको स्मरण गरे।
त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै
०६४ को चुनावमा आइपुग्दा मधेश माओवादीमय भएको थियो। मधेश र तराईभरि पनि त्यस बेलाको अंकगणित हेर्नुभयो भने झापादेखि कञ्चनपुरसम्म अत्यधिक ठूलो संख्यामा माओवादीका उम्मेदवार विजयी भएका थिए। त्यसपछि हामीमाथि ठूला षड्यन्त्र भए, एकातिर हामीले माओवादी आन्दोलनलाई एकताबद्ध राख्न सकेनौँ।
हाम्रा पनि कमीहरू भए, हामीभित्र पनि अहंकार जन्मियो। अर्कोतिर देशभित्र र बाहिरका दलालहरू षड्यन्त्रमा लागे। त्यही प्रक्रियामा रौतहटमा भयानक हत्याकाण्ड भयो। २९ जना माओवादी युवाहरूलाई एकैठाउँमा क्रूरतापूर्वक हत्या गरियो।
महिलाहरूलाई त्यतिबेला गरेको अपमान र अत्याचार मानिसले सुन्न पनि गाह्रो हुनेगरी हत्या गरियो। त्यसपछि माओवादीप्रति भ्रम सिर्जना गर्नको लागि मधेशमा दुष्प्रचारको अभियान पनि चलाइयो।
मधेशी दलले जनतालाई घात गरेको आरोप
मधेशका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको बताए। महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले अब मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए।
मधेसी जनता वास्तविक देशभक्त र सीमा रक्षकको रूपमा रहेको उल्लेख गर्दै उनले उनीहरूको सम्मान गर्नुको साटो अरू देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएकाले यसलाई प्रभावकारी कार्यक्रममार्फत नै अन्त्य गर्न सकिने र त्यसको नेतृत्व माओवादीले मात्रै गर्न सक्ने बताए ।
माओवादीले जनयुद्धकै क्रममा मधेसी जनताको आत्मनिर्णयको अधिकारलाई स्थापित गर्न मधेस सरकार गठन गरिएको र पार्टीभित्र पहिलो पटक मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गराए ।
झन्डै एक हजार तीन सय मधेसी जनताका छोराछोरीले माओवादी जनयुद्धमा बलिदान गरेको पनि बताए ।
आफ्नो पार्टीले जनयुद्ध सुरु गर्दा पहिलो पटक हतियारको तालिम मधेसबाटै सुरु गरेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले आफूले पहिलो पटक हतियारको तालिम धनुषा र सिरहाबाटै लिएको स्मरण गरे।
नेपालको इतिहासमै पहिलो पटक राजनीतिक दलको तर्फबाट हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको उल्लेख गर्दै उनले देशको होचो स्थान कचनकवलबट सुरु गरिएको यो अभियानको दोस्रो संस्करण मध्यपहाडी लोकमार्ग हुँदै देशको अग्लो भूभाग रहेको सोलुखुम्बुमा गएर समापन गरिने बताए ।
आफ्नो नेतृत्वको सरकारले सुरु गरेको मिटरब्याजको समस्या समाधानको अभियान अहिले कमजोर देखिएको भए पनि यसलाई अघि बढाउन पार्टी प्रतिबद्धता रहेको उल्लेख गर्दै उनले पार्टीले अब मधेस प्रदेशमा प्रदेश स्तरको र अन्य जिल्लामा जिल्लास्तरीय संघर्ष समिति गठन गरेर संघर्ष गर्ने पार्टीले निर्णय नै गरिसकेको बताए।
यसअघि दोस्रो संविधान सभामा निर्वाचित गराएर प्रधानमन्त्री बन्ने अवसर प्रदान गरेको धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले यसका लागि आफू सिरहाबासी जनतासँग आभारी र ऋणी रहेको बताए ।
सिरहाबासीले दिएको जनादेश बोकेर आफूले मधेसी जनताको पहिचान र अधिकार संविधानमा समेट्न अत्यधिक प्रयत्न गरेको र थप अधिकारका लागि संविधान संशोधन प्रक्रिया अघि बढाएको तर अन्य दलले समर्थन नगर्दा सफल हुन नसकेको बताए।
दु:ख सुखको साथी माओवादी भएको जिकिर
उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृका यादवले मधेसी जनताले सबभन्दा बढी चाहेको उल्लेख गर्दै माओवादीले मात्रै सबैखाले अत्याचारको अन्त्य गर्न सक्ने बताए। मधेसी जनतालाई दुस्ख पर्दा अरू दलले कहिल्यै सहयोग नगरेको उल्लेख गर्दै मधेसको दु:ख सुखको साथी माओवादी मात्रै भएको बताए।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी आन्दोलन र मधेस आन्दोलनलाई समायोजन गरेर अब माओवादीले मधेसी एजेन्डालाई सम्बोधन गर्न अघि बढ्नुपर्ने बताए।
संघीयता र समानुपातिक एजेन्डाको माओवादी र मधेसवादी दलको एजेन्डा भए पनि अब मधेसवादी दलले मधेसी जनतालाई घात गरेकाले अब आफ्नो एजेन्डाको रक्षाको जिम्मा माओवादीले लिनुपर्ने उनको भनाइ छ।
कार्यक्रममा माओवादी केन्द्र स्थायी समिति सदस्य विश्वनाथ साहले पनि सम्बोधन गरेका थिए भने विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए।
कार्यक्रममा नेपाली काङ्ग्रेस सिरहाका पूर्व जिल्ला सचिव रामजतन यादवसहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

Leave a Reply