प्रेस चौतारी लुम्बिनीको अधिवेशन सुरु, सञ्चार ऐन र पत्रकारिता बलियो बनाउन आग्रह

रुपन्देही । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जाल विधेयक नेपाली पत्रकारितालाई बलियो बनाउन ल्याइएकाले त्यसको वास्तविकता बझाउन आग्रह गरेका छन् ।

प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका (देउखुरी ) मा शनिवार सम्बोधन गर्दै उनले प्रेस स्वतन्त्रताको पक्षमा सधैं वकालत गरेकाले प्रेस चौतारीले त्यसमा कुनै सम्झौता नगर्ने बताउँदै अब विकास र समृद्धिको अभियानमा जुट्न सबैलाई आग्रह गरे ।

‘सामाजिक सञ्जालमा एमालेमा प्रतिबद्ध साथीहरूले वास्तविकता लेख्न र बोल्न सक्दैनन् त्यो बेलासम्म अहिलेका अराजकताहरू कम हुँदैनन्’, उनले भने, ‘गलत अभियान चलाउने, गलत सन्देश दिनेहरूविरूद्व एमालेजन निदाउँछन् त्यो बेलासम्म कुण्ठा र निराशाको खेती गर्नेहरूको मनोबल अझै बढ्नेछ ।’

पत्रकारितालाई स्थापित गराउने जिम्मेवारी प्रेस चौतारीले थालनी गरेको र त्यसलाई निरन्तरता दिने बताए । उनले पार्टीका नेताको नाम जोडेर गुट-उपगुट बनाउने छुट कसैलाई नभएको जनाए । उनले एमालेमा कुनै व्यक्तिको समूह नभएकोले नेताको नाम जोडेर अगाडि नबढ्न आग्रह गरे ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य, चौतारीका इन्चार्ज तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारले अघि बढाएको सामाजिक सञ्जालले पत्रकारितामा बढेका विकृतिको कमी आउने जनाएका छन् ।

नेता गौतमले सरकारले अहिले गरेका सकारात्मक अभियानबाट निराशा र कुण्ठित राजनीति गर्नेहरू अत्तालिएको बताउँदै यो विषयमा प्रेस चौतारीका सबै सदस्यले वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन् । उनले ०८४ को निर्वाचन डिजिटल वारजस्तै हुने भएकोले तयारीमा बस्न सबैलाई आग्रह गरे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रदेश सरकारले स्थापना कालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे ।

‘पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले नीति, नियम तथा कानुन निर्माण गर्दा सरोकारवालाहरूसँग छलफल गरेरै अघि बढ्दै आएको छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘अहिले रोकिएको विषयप्रति म जानकार छु । पत्रकारिता क्षेत्रका सरोकारवालाहरूसँगको साझा निष्कर्षका आधारमा अगाडि बढ्नेछौँ ।’

उनले पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक कानुनी संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिबद्धता जनाए ।

‘प्रदेश सरकारले राम्रा कामको थालनी गरेको छ । पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर उदाहरणीय कार्य अघि बढाएका छौँ,’ उनले थपे, ‘पत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिँदै आएका छौँ ।’

त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे । ‘सामाजिक सञ्जाललाई मर्यादित बनाउन जरुरी छ। अराजकता फैलाउने छुट कसैलाई छैन,’ उनले भने, ‘पत्रकारिता क्षेत्रमै विकृति र विसंगति देखिएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षको ध्यान जान आवश्यक छ ।’

कार्यक्रममा एमाले प्रदेश अध्यक्ष तथा प्रेस चौतारी लुम्बिनी इन्चार्ज मोहन चापागाईँ, प्रेस चौतारीका पूर्वअध्यक्ष डाक्टर बालकृष्ण चापागाईँ, एमाले लुम्बिनी सचिव लक्ष्मण आचार्य, प्रेस चौतारीका उपाध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, प्रेस चौतारी केन्द्रीय सचिव विष्णु तारूके, पत्रकार महासंघ लुम्बिनी अध्यक्ष शुक्रऋषि चौलागाईलगायतले सम्बोधन गरेका थिए ।

प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता महासचिव निरू गौतमको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष दशरथ घिमिरेले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *