काठमाडौं । जिल्लामा वास्तविक नामभन्दा पनि ‘बाङा’ भनेर परिचित छन् ओख्रेका बलराम राई । राई समुदायमा काकालाई बाङा भनिन्छ ।
बच्चादेखि बुढाबुढी, सबै दलका नेता-कार्यकर्ता, जिल्लाका प्रशासक सबैले बाङा नै सम्बोधन गर्ने सामान्य हुलियाका बलरामले आफ्नो प्रतिष्ठा र विश्वास कामले नै जोगाएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । र, जिल्लाको विकासमा उनको योगदान नेताभन्दा पनि सामाजिक कार्यकर्ताको रूपमा बढी छ ।
५२ वर्ष पुगेका उनै बाङा केही दिनयता मन्त्रीको दैलो चहारिरहेका छन् । आफ्नै खर्चमा संघीय राजधानी काठमाडौं आएका उनको एकसूत्रीय माग छ- भोजपुर सदरमुकामबाट टक्सार गुम्बा-दलगाउँ-ओख्रे हुँदै खोटाङको सिमाना हुर्बुभन्ज्याङ जाने सडकको कालोपत्रे ।
सडक कालोपत्रेका लागि उनले केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर पालिकाको सिफारिससहित कालोपत्रे योजनाको माग राखे । त्यस्तै हिजोमात्र सभामुख देवराज घिमिरेलाई आवश्यक समन्वयका लागि ध्यानाकर्षण गराएका छन् । भोजपुरकै दलगाउँ जन्मथलो भएका अमेरिकाका लागि पू्र्वराजदूत डा. अर्जुन कार्कीलाई पनि उनले भेटे ।

मन्त्री दाहालले आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिएको राईले बताए ।
यो ३३ किलोमिटर सडकको रेखांकन सांसद एवं पूर्वमन्त्री सुदन किरातीको वडा ओख्रे हुँदै पर्छ । सुदनकै पालिका भएकाले शेरधन राईले पनि बेवास्ता गरेको उनको गुनासो छ ।
‘आफू जन्मेहुर्के ठाउँ नै भएर पनि सुदनको प्राथमिकतामा कहिले यहाँको योजना परेन । झन् दुई नेताको टकरावले थिचियो यहाँको विकास’, राईले भने ।
आफ्नै अगुवाइमा ट्रयाक खोलेको सडक भएकोले स्तरोन्नतिको लागि अलि जोड दिएर लागेका छन् यतिखेर बाङा । बेलायती दातृ निकाय (डीएफआईडी) को सहयोगमा र्यापले खनाएको भोजपुर-घोडेटार सडक निर्माणको श्रेय उनैलाई दिन्छन् गाउँले ।
स्थानीयको समूह बनाएर कुटोकोदालोले खोलिएको उक्त सडकको सामाजिक परिचालनको पाटो सगरमाथा विकास संस्थाले लिएको थियो । संस्थाका अध्यक्ष बलराम नै थिए । सशस्त्र द्वन्द्वताका माओवादीले पटकपटक अवरोध गरेको उक्त सडक सुचारु गर्न उनैले सहजीकरण गरेका थिए । सडक खन्नेक्रममा स्थानीयले कमाएको ज्याला समूहको वचत परिचालन गरेर व्यवसायिक पशुपालन र कृषिमा जोड दिइएको थियो ।
त्यसैको नतिजास्वरूप सडक रेखांकनमा रहेका भोजपुर, टक्सार, दलगाउँलगायतका ठाउँमा अहिले कृषकहरू व्यवसायिक र बेमौसमी तरकारी खेतीमा आकर्षित भएका छन् । गोलभेँडामा धनकुटाको खोकुछिन्ताङको भर पर्नुपर्ने भोजपुर अहिले तीनै सडक निर्माण समूहमा आबद्ध कृषकहरूको उत्पादनले उल्टै निर्यात गर्ने अवस्थामा पुगेको छ ।
भोजपुर-घोडेटारअन्तर्गत सदरमुकामबाट एयरपोर्ट हुँदै दलगाउँसम्म १६ किलोमिटर र्यापमार्फत् र पछि आफैँ उपभोक्ता समितिको अध्यक्ष बनेर दलगाउँबाट दिपेनी-डाँडाखर्क हुँदै ओख्रे हुर्बुञ्ज्याङ १७ किमी ट्रयाक खुलाउने कामको अगुवाइ गरे । १७ किलोमिटर भने गाविस र जिविसको बजेटको योजना थियो ।
रामप्रसादराई गाउँपालिकामा पर्ने यो सडक स्तरोन्नतिका लागि उनले गरिरहेको एक्लो पहलको सामाजिक सञ्जालमा तारिफ गरेका छन् ।
आफ्नो क्षेत्रका जोकोहीलाई सदरमुकाममा सरकारी कार्यालय, अड्डाअदालत, जग्गापातजस्ता काममा पर्ने गार्हो-सार्हो फुकाउन अघि लागेर हिँड्छन् उनी । राई गैरसरकारी संस्था महासंघका दुई कार्यकाल जिल्ला अध्यक्षसमेत भए ।
बलराम २०७९ को चुनावमा एमालेबाट रामप्रसादराईमा अध्यक्ष उठेका थिए । उनी गठबन्धनबाट उठेका माओवादीका थामबहादुर राई ‘निर्माण’ सँग पराजित भए ।
‘घामपानी नभनी अनेक दु:खकष्ट भोगेर त्यतिखेर ट्रयाक खोलियो । वर्षौंसम्म हिउँदमा धुलो र वर्खामा हिलोमा गाडी कुदाउनुपर्छ । माया लागेर मन पोलेरै भन्दा हुने र लाग्ने मान्छे खोज्दै एकपटक दौडधुप गरेको हुँ’, उनले सुनाए ।
उनी १/२ दिनमा जिल्ला फर्किने तयारीमा छन् ।
-श्यामकृष्ण दाहाल

Leave a Reply