काठमाडौैं । निर्देशक निश्चल बस्नेतले चार दिन अगाडि गरेको एउटा फेसबुक पोस्टले अभिनेता पल शाहका फ्यानहरु भड्किएका छन् । उनीमाथि सामाजिक सञ्जालमा भद्दा गालीगलौजको वर्षात नै भइरहेको छ ।
गत मंगलबार निर्देशक बस्नेतले प्रदर्शनमा आउन लागेका दुई नयाँ चलचित्रको पोस्टर फेसबुकमा हालेका थिए । ‘फेरि रेशम फिलीली’ र ‘लाज शरणम्’ को पोस्टर सेयर गर्दै उनले लेखेका थिए, ‘बुकिङ खुल्यो है । दुवै रमाइलो होला जस्तो छ । तपाईंहरु पहिले कुन फिल्म हेर्ने ?’
यो पोस्टले पल शाहका फ्यानहरु क्रोधित बने । कारण ‘लाज शरणम’ र ‘फेरि रेशम फिलीली’ सँगै पल शाह अभिनित चलचित्र ‘मायाबी’ पनि एकै दिन रिलिज हुँदै थियो ।
तर, बस्नेतले ‘मायाबी’ को पोस्टर शेयर गरेनन् । पल शाहसँग इगो राखेर नै उनले दुई चलचित्रलाई मात्र आफ्नो टाइमलाइनमा स्थान दिएको बुझाइ पलका फ्यानको छ ।
बस्नेतको पोस्टमा अहिलेसम्म एघार सयभन्दा बढी कमेन्ट आएका छन् । अधिकांश कमेन्टहरु सकारात्मक छैनन् । पल शाहका फ्यानहरुले उनलाई मच्चिएर गाली गरेका छन् भने कतिपयले ‘आरआईपी’ लेख्न पनि भ्याएका छन् । यद्यपि, बस्नेतले नकारात्मक कमेन्टको वास्ता गरेको देखिँदैन । उनले कुनै जवाफ वा स्पष्टीकरण दिएका छैनन् ।
यसैबीच बस्नेतको यो पोस्टलाई लिएर अभिनेता पल शाहको असन्तुष्टि पनि सार्वजनिक भएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उनले बस्नेतलाई तीव्र कटाक्ष गरेका छन् ।
पल भन्छन्, ‘सबैको आआफ्नो इच्छा हुन्छ । आआफ्नो अधिकार हुन्छ । लेभल अफ थिंकिङको कुरा हो । उहाँले कतिसम्म सोच्न सक्नुहुन्छ भन्ने कुरा हो । हामी सामाजिक प्राणली हाैं । हामी चेतनशील प्राणली हौं । प्रत्येक मान्छेमा दिमाग छ । तर उहाँले कति पर्सेन्ट दिमाग लगाउनुभयो थाहा छैन ।’

Leave a Reply