काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा आएका साधुसन्त बाबाहरुलाई बिदाइ गरेकाे छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तहरुलाई कोषले रुदाक्षकाे माला लगाइदिएर बाटोखर्चसहित बिदाइ गरेको हो ।
महाशिवरात्रि पर्व २०८१ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताए ।
तीन हजार भन्दा बढी साधुसन्तहरुलाई श्रेणी छुट्याएर रकमसहित बिदा गरिएको हो । ती साधुसन्तहरुलाई कोषले ९ श्रेणी छुट्याएको थियो । बरिष्ठताकाे आधारमा श्रेणी छुट्याएर रुदाक्षकाे मालासहित बिदा गरिएकाे प्रवक्ता अधिकारीले बताए । उनीहरुलाई श्रेणी अनुसार विभिन्न रंगकाे कार्ड दिइएकाे थियाे ।
पहिलो श्रेणीका साधुसन्त अन्तर्गत सभापति, अखडाका संरक्षकलाई गुठीले ९ हजार र कोषले ४५ सय थपेर १३ हजार ५ सय रुपैयाँ दिएर बिदा गरेको छ ।

दोस्रो श्रेणीको श्री महन्त सेक्रेटटी, श्री महन्त थानापति, रम्तापेचका श्री महन्थलाई गुठीले ५१ सय, कोषले २५५० गरी ७ हजार ५५० रुपैयाँ दिएको थियो भने तेस्रो श्रेणीको धानापति, सेक्रेटरी, श्री दिगम्बर, मण्डल श्री महन्त, अष्टकौशल महन्तलाई ३६ सय गुठी र १८ सय कोषले गरी ४४सय दिइएकाे थियाे ।
त्यस्तै जमातीया महन्त, कोठारी, भण्डारी, पुजारी, कारोवारीलाई कोष र गुठी गरी ३६ सय, नागावावा, महन्त, अवधुतानीलाई २६ सय ५०,
अवधुत (आधा सन्न्यास)लाई२४ सय, महापुरुषलाई १६५०, ब्रम्हचारी, भेषधारीलाई ८५१ र मगन्ते नारायनलाई ३ सय रुपैयाँ दिई बिदाइ गरिएको कोषले जनाएको छ ।
भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।
साधुसन्तको दक्षिणाका लागि ८ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ । गत वर्षहरु भन्दा यस वर्ष पशुपतिनाथमा आउने साधुसन्तको संख्या बढेको कोषले जनाएको छ ।


Leave a Reply