प्रचण्ड भन्छन्- जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे

राजविराज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिने बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तर्क्रियालाई सम्बोधन गर्दै सक्कली मधेसवादी दल माओवादीमात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने उनले आश्वस्त पारे ।

प्रचण्डले भने, ‘मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेका छन् । उनीहरूबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेको छ । अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको छ ।’

आफूलाई मधेसवादी भन्ने दलहरूको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशाउन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन आग्रह गरे ।

मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै प्रचण्डले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिदसहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।

Comments

One response to “प्रचण्ड भन्छन्- जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे”

  1. ksp pyl Avatar
    ksp pyl

    मधेशी युवाहरूलाई कथित जनयुद्व भनेर मर्न पठाएर अहिले त्यसको व्याज तिमी र तिम्रा सन्तान र भरौटेहरूले खाईरहेका छौ । ती लडेकाहरू खाडीतिर छन् । मुक्ति त तिम्रो भयो नि । अझै पनि जनता ठग्न मधेश छिरेको देख्दा पो रिस उठ्छ त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *