इटालीलाई विश्वकप जिताउने गोलकिपर वुफोन नेपाल आउँदै, केपी ओली कपबारे के भने ?

काठमाडौं । इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन जारी केपी ओली कप फुटबल प्रतियोगिता फाइनलमा नेपाल आउने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी केपी ओली कप फुटबलको फागुन १९ गते हुने फाइनल खेल अवलोकनका लागी वुफोन नेपाल आउन लागेका हुन् ।

केपी ओली कपमा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । दोस्रो सेमिफाइनलमा भोलि मच्छिन्द्र एफसी र केपी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

वुफोनले सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका थिए । इटालीबाट उनले ८० खेलमा कप्तानी समेत गरेका थिए । वुफोनले १ सय ७६ खेलको कीर्तिमानी खेलेका थिए । उनले ५ पटक विश्वकप खेलेका थिए ।

फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले पराजित गरेर आफ्नो देशको लागि चौथो पटक विश्वकप फुटबल उपाधि दिलाएका बुफेनको नेपाल आगमन नेपाली फुटबलको लागि एउटा महत्वपूर्ण उपलब्धि हुने पक्का छ ।

आधुनिक फुटबलका उत्कृष्ट गोलरक्षकको रूपमा उनलाई जर्मनीको ओलिभर काहान जत्तिकै दर्जामा राख्ने गरिन्छ । उनी क्लब फुटबलमा सन् २००१ मा ५२ मिलियन युरो लिएर कीर्तिमानी मूल्यमा युभेन्टसमा आबद्ध भएका थिए ।

उनले फिफा उत्कृष्ट गोल किपर, सिरी `ए´ उत्कृष्ट खेलाडी तथा गोलकिपर अवार्ड सहित दर्जन बढी अवार्ड प्राप्त गरेका छन् । ४७ वर्षका वुफोनले युभेन्टस बाहेक फ्रेन्च क्लब पिएसजीमा पनि आफ्नो कला देखाएका छन् ।

पाँच पटक विश्वकप फुटबल खेलेका वुफोन इटालीका सर्वकालिक सफल कप्तान समेत हुन । उनले नेपाल आगमनमा यहाँका फुटबलरसँग अन्तरक्रिया गर्ने र नेपाली फुटबलको विकासको लागि सहयोगीको भूमिका खेल्ने समेत बताइएको छ ।

वुफोनको आगमनले नेपाली फुटबलको विश्वव्यापीकरणमा समेत महत्त्वपूर्ण योगदान रहने र विश्व फुटबल मिडियाले समेत कभरेज गर्ने अपेक्षा आयोजकको रहेको छ ।

उनी कति दिन नेपाल रहने भन्नेबारे आयोजकले हालसम्म जानकारी दिएको छैन । तर उनी जति दिन रहन्छन् नेपाली फुटबलको लागि त्यो स्वर्णिम पलको रूपमा भने रहने निश्चित देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *