यूएईमा ३ हप्ता पहिले नै मनाइयो होली

यूएई । मधेशी समुदायका दुई प्रमुख संगठनहरूले यूएईमा ३ हप्ता पहिलेनै होली मनाएका छन् । होलीको समयमा रमादान पर्व भएकोले सोही अवसरलाई मध्यनजर गर्दै, संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली समुदायले होली पर्व तीन हप्ता पहिले नै विशेष कार्यक्रमका साथ मनाएका हुन् ।

मधेशी एकता समाज, यूएईले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा दुबईमा विशेष कार्यक्रमको आयोजना गरी होली मनाएको हो ।

बर दुबईको क्लब एसके सेभेनहलमा आयोजित कार्यक्रममा सहभागीहरूले रंग खेल्दै आपसी भाइचाराको सन्देश दिएका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, गीत–संगीत तथा परम्परागत नृत्यहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री, मधेशी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय अध्यक्ष डा। रबिन्द्र कुमार यादव, श्रम सहचारी पंकज लावकर्ण, तृतीय सचिव बिमलेश मिश्र, मधेशी एकता समाज नेपालका संयोजक डा. बबी सिंह यादव, अन्तर्राष्ट्रिय समितिका महासचिव मुकेश झा लगायतको उपस्थितिमा कार्यक्रम गरिएको समाजका अध्यक्ष रोशन मार्क्सिस्टले जानकारी दिए ।

यूएईमा मधेशी प्रतिभा र उद्यमशीलतालाई सम्मान

संयुक्त अरब इमिरेट्स (यूएई) मा विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदान दिएका प्रतिभाशाली मधेशी व्यक्तित्वहरूलाई विशेष रूपमा सम्मान गरिएको थियो ।

यस अवसरमा भूउपग्रहको सफ्टवेयर डिजाइनमा संलग्न मुकेश झा, मिसाइल डिजाइनमा कार्यरत इन्जिनियर दीपक कुमार यादव, दुबईमा कारखाना स्थापना गर्ने पहिलो मधेशी उद्यमी विनेश यादव तथा सफल व्यवसायी गणेश पूर्वे र जीवछ साहलाई सम्मान प्रदान गरिएको थियो।

उनीहरूको मेहनत, लगनशीलता र उपलब्धिले मधेशी समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वहरूले आगामी दिनहरूमा मधेशी समुदायको प्रगति र उत्थानका लागि अझ बढी योगदान दिने प्रतिबद्धता जनाएका छन्।

त्यसैगरी, गैर आवासीय मधेसी संघ, यूएईले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको उपस्थितिमा दुबईको होटल एम्बेस्डरमा होली मनाएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । उपस्थितले एकआपसमा रंग लगाउँदै होली उल्लासमय तवरबाट मनाएको संघले जनाएको छ ।

आयोजकहरूका अनुसार, यो वर्ष होली पर्वको समय इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानसँग जुध्ने भएकाले समुदायले अग्रिम रूपमा (३ साता पहिले)पर्व मनाएका हुन ।

यूएईमा रहेका मधेशी तथा गैर मधेशी समुदायको उल्लेखनीय सहभागिता तथा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुतिमा भएको कार्यक्रममा सहभागीहरूले परम्परागत परिकारहरूको समेत आनन्द लिएका थिए।

स्थानीय नेपाली समुदायबीच आपसी सद्भाव र एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएका यी कार्यक्रमहरूले प्रवासी नेपालीहरूको सांस्कृतिक पहिचान जगेर्ना गर्ने प्रयासलाई थप मजबुत बनाएको आयोजकहरूको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *