काठमाडौं महानगरमा ‘डर’ ले जान नमानेपछि सरुवा सूचीबाट काटियो सहसचिवको नाम

काठमाडौं । सरकारले एकैपटक ७८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । तर, काठमाडौं महानगरमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत अभावको समस्या समाधान भएन ।

क्याबिनेट बैठकको ३ दिनपछि सार्वजनिक भएको सूचीमा महानगर दरबन्दी रहेका सरोज गुरागाईँको नाम छैन ।

सुरूमा ८० जनाको सरुवा गरिएकोमा महानगरमा खटाइएका सहसचिव जान नमानेपछि २ जनाको नाम काटेर ७८ जनाको मात्र लिष्ट सार्वजनिक गरिएको बताइएको छ ।

यसबारेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग सोध्दा सरुवा गरेर पठाएको मान्छे जान नमानेकाले केही दिन ढिला भएको बताए । जान नमान्नेको नाम भने उनले खुलाएनन् ।

मन्त्री गुप्ताले नेपाल प्रेससँग भने, ‘एकजना सहसचिवलाई सरुवा गरिएको थियो अन्तिम समयमा जान मान्नुभएन । मन्त्रीस्तरीय निर्णयबाटै भएपनि २/३ दिनभित्र काजमा पठाउँछु ।’

गुप्ताले सोमबार रिक्त ठाउँहरूमा छिट्टै प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका थिए ।

संसद भवन परिसरबाट उनले भनेका थिए, ‘काठमाडौं महानगरपालिका मेरो कार्यालय हो । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने काम मेरो हो । मेयर सा’बको भूमिका त्यसभन्दा पृथक छ ।’

०८१ भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदीप परियारलाई महानगरबाट सरुवा गरेर सञ्चारमन्त्रालय पठाएको थियो । उनको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईँलाई पठाइएको थियो । तर, उनको मेयर बालेनसँग केमेस्ट्री मिल्न सकेन ।

याे पनि पढ्नुस्: काठमाडौं महानगरमा टिक्दैनन् प्रशासकीय अधिकृत ! बालेनकै कार्यकालमा ४ जना फेरिए, पाँचौ ल्याउन बल

गुरागाईं अहिले बिदामा छन् । पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’को प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको बालेनले उनीमाथि लगाएका छन् । व्यवसायी मनोज भेट्वालद्वारा निर्माणाधीन काठमाडौं भ्यू टावरको नक्सा पास नवीकरण गर्दा अनियमितता गरेको भन्दै बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कारवाही सिफारिस गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको कामकारबाही प्रभावित बनिरहेको छ । मेयर बालेन साहले २६ पुसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेका थिए ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर साह काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका थिए । मेयरको कुर्सीमा बसेयता उनले अहिलेसम्म ४ जना प्रशासकीय अधिकृतसँग काम गरिसकेका छन् । अहिले फेरि उनी पाचौं प्रशासकीय अधिकृतको खोजीमा छन् ।

महानगरमा पुगेका ४ जनामध्ये तीनजना प्रशासकीय अधिकृतहरू छोटो समयमै सरुवा हुँदा कर्मचारीवृत्तमा चिन्ता छाएको छ । सहसचिवहरू विवादमा तानिने डरले महानगर जान इच्छुक देखिँदैनन् ।

स्थानीय तहका जनप्रतिनिधिले दोषजति कर्मचारीलाई देखाएर आफू उम्किन खोज्ने प्रवृत्तिले पालिकामा कर्मचारी जान हतोत्साहित हुने गरेको मन्त्रालयका एक अधिकारीले गुनासो पोखे ।

Comments

2 responses to “काठमाडौं महानगरमा ‘डर’ ले जान नमानेपछि सरुवा सूचीबाट काटियो सहसचिवको नाम”

  1. Gopi K Sedhain Avatar
    Gopi K Sedhain

    ढर चाहिँ के काे हाेला? नियम, मानुन अनुसार जिम्मेवारी कहन गर्न नपाउने वा गर्न नदिने हने कि नियम, कानुनका दफाहरुकने गलत व्याख्या र कुनै छिद्रमा टेकेर अतरिक्त कमाई नहुने वा षर्न नसकिने डरले काेहि पनि कामपामा प्रमुख प्रशासकीय अभिकृत पदमा सरुवा भएर वान नमानेका हुन ? यसबारेमा नेपाल सरकारले गहन विश्लेषण गर्नुपर्छ र सुशासनकाे प्रस्थान किज्दु यहि हुन समछ । जाे जाे जान मानेका छैनन् तिनिहरुकाे सम्पति बिबरणकाे तुरुन्त छानकिन पनि शुरु गरिहाल्नु पर्छ । चेतना भया !!!

  2. सुहाङ नविन Avatar
    सुहाङ नविन

    दाँया बाँयी गर्न सकस पर्ने भे र हो की?

Leave a Reply

Your email address will not be published. Required fields are marked *