बुलेट मोटरसाइकल चढेर ५५ वर्षिया महिलाले सकिन् मेची–महाकाली यात्रा, महानगरले गर्यो सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘बुलेट आमा’ सुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंसा गरेको छ ।

आज उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंसा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् । उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरेका थिए । यस्तै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएर सम्मान गरे ।

प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । ‘नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो ।’ डंगोलले धारणा राख्दै अन्तरदेशीय मोटरसाइकल यात्रा सफलताको कामना गरिन् ।

झापाको बुधबारे बसोबास गर्ने तिवारी ५५ वर्षकी भइन् । नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै उनले गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् । नवौँ दिनको मध्यान्नमा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गरेकी थिइन् ।

विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनले भनिन्, ‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु । यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *