मोरङ एमालेमा नेतृत्वको दौडः विनोद ढकालको ‘पावर एक्सरसाइज’, संस्थापनबाट को होला ‘राइज’ ?

विराटनगर । शनिबार विराटनगरमा उद्घाटन हुने नेकपा एमाले मोरङको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि रस्साकस्सी तीव्र छ । कोशी प्रदेशको अधिवेशनबाट नै सुरू भएको एमाले मोरङमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी यति बेला उत्कर्षमा छ ।

प्रदेश अधिवेशनमा अध्यक्षमा पराजित भएका एमाले नेता विनोद ढकालको शक्ति जाँच्ने मौकाका रूपमा मोरङको अधिवेशनलाई हेरिँदा नेताहरूका बीचमा ध्रुवीकरणसमेत देखिएको छ ।

अधिवेशनमा ९१० जना प्रतिनिधि सहभागी हुने छन् । मनोनीत हुने ४६ जना प्रतिनिधिबाहेक अरू प्रतिनिधिको टुङ्गो लागिसकेको छ । दुई पक्षका बीचमा विवाद हुँदा प्रतिनिधि मनोनयन हुन नसकेको एमाले स्रोतले जनाएको छ ।

नेकपा एमाले मोरङका इन्चार्ज जीवन घिमिरेका अनुसार प्रतिनिधि छनौटका लागि विधानत: व्यवस्था भएको २ सयभन्दा बढी निर्वाचन क्षेत्रमध्ये ९ वटामा निर्वाचनका माध्यमबाट प्रतिनिधि छनौट भएका छन् । बाँकीमा भने सर्वसम्मतरूपमा प्रतिनिधिको छनौट भएको घिमिरेले बताए ।

एमाले मोरङको अधिवेशनमा दलितबाट ५१, जनवर्गीय सङ्गठनबाट ९५ जना, विशेष क्षेत्रबाट १९ जना प्रतिनिधि छनौट भएका छन् । ती प्रतिनिधिले एमालेको १०औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने छन् ।

नेतृत्व चयनमा दुई वटा स्पष्ट समूह देखिँदा सर्वसम्मत नेतृत्व छनौटमा समस्या देखिएको छ । जिल्लामा विनोद ढकाल नेतृत्वको समूह र संस्थापन पक्षका बीचमा चुनावी प्रतिस्पर्धा हुने एमाले नेता तथा कार्यकर्ताहरू बताउँछन् ।

एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज घिमिरेले सर्वसम्मत नेतृत्व छनौटको प्रयास हुने र नसकिए निर्वाचनबाट भए पनि नयाँ नेतृत्व चयन गरिने बताए ।

१७ गते एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशन १९ गतेसम्म सञ्चालन हुनेछ । १८ गते बन्द सत्र हुने र १९ गते निर्वाचन प्रक्रिया सुरू गरिने गरिएको कार्य तालिका तय भएको घिमिरेले बताए ।

मोरङमा अहिले विनोद ढकाल समूहले अजम्बर राईलाई अध्यक्षमा अगाडि सार्ने तयारी गरेको छ । पदाधिकारी दाबेदारका अन्य अनुहार आइसकेको छैन ।

राई अहिले जिल्ला समन्वय समिति मोरङका प्रमुख हुन् । ढकाल समूहमा रहेका नेताहरूलाई समेत संस्थापन पक्षले पदाधिकारीको रूपमा अगाडि सार्ने आश्वासन दिएपछि उनीहरू समेत अहिले दोधारे मनस्थितिमा देखिएका छन् ।

विराटनगरमा रहेको मानगढ खानेपानीको निर्वाचनका विषयलाई लिएर कारबाहीमा परेका महानगरका पूर्वअध्यक्ष सागर थापा ढकाल समूहमा छन् ।

उनलाई समेत संस्थापन पक्षले पदाधिकारीमा राख्ने आश्वासन दिइएको छ । थापाले यस विषयमा मुख खोलेनन् । उनले भने, ‘म आफैँ अध्यक्षको उम्मेदवार हो । नभए सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने अभियानमा छु ।’

संस्थापन पक्षबाट भने राजकुमार ओझा र जिल्ला सङ्गठन कमिटीका अध्यक्ष बाबुराम कार्की अध्यक्षका आकाङ्क्षी छन् । दुईमध्ये एक जनालाई अध्यक्ष बनाउने गरिएको तयारी भएको एमालेले जनाएको छ ।

एमाले स्रोतका अनुसार कार्की र ओझामध्ये एकलाई अध्यक्ष बनाउन कोशी इन्चार्ज एवम् पूर्वमुख्यमन्त्री शेरधन राई, एमाले कोशी अध्यक्ष घनश्याम खतिवडालगायतका नेता लागेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की, जीवन घिमिरेलगायतका नेताहरूको पनि यीमध्ये एकजनालाई अगाडि सारेर जाने तयारीमा रहेका छन् । दुईमध्ये पनि ओझाको सम्भावना बलियो रहेको एक नेता दाबी गर्छन् ।

ढकाल पक्षका नेताहरू आफ्नो क्याम्पमा नआए संस्थापन पक्षले जिल्ला उपाध्यक्षमा शान्ति लिम्बू र सचिवमा रविन थापालाई अघि सार्ने तयारी गरेको छ ।

कुनै बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नजिकको सम्बन्ध बनाएका नेता विनोद ढकाल अहिले कोशीमा फरक समूहको नेतृत्व गरिरहेका छन् । अघिल्लो वर्ष सम्पन्न प्रदेश अधिवेशनबाट ढकालले कोशीमा ओली समूहका नेताहरूलाई चुनौती दिएयता उनी प्रदेशमा फरक समूहको नेता बनेका हुन् ।

कोशीका सबै जिल्लामा अधिवेशन भइसक्दा पनि मोरङमा भने अधिवेशन हुन सकेको छैन । मोरङको अधिवेशनलाई आफ्ना शक्ति देखाउने मौकामा रूपमा हेर्दै ढकालसहितका उनी पक्षका नेताहरू जसरी पनि मोरङमा पार्टी नेतृत्व हात पार्ने ध्येयमा छन् ।

उनको समूहले उपाध्यक्षमा सागर थापा र सचिवमा सोम थापालाई अगाडि सार्ने तयारी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *