मुस्लिम समुदायसँग प्रचण्डले भने- तपाईंहरुलाई हामीले दिएको संवैधानिक अधिकार अरुले खोस्न खोज्दैछन्

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् ।

जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियानअन्तर्गत आज सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको बताए ।

राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने बताए ।

उनले भने, ‘माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्णरुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादीलाई बलियो बनाउनुपर्छ । अन्य दलहरुले अहिले जनताले पाएको अधिकार कुनै न कुनै बहानामा खोस्न खोज्दैछन् ।’

जनताको अधिकारविरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्न आफ्नो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए । सीमा क्षेत्रका समस्या लगेर सिंहदरबारमा घन्काउन जनतासँग माओवादी, तराई मधेस जागरण अभियान थालिएको जानकारी दिँदै यो अभियानले दक्षिण नेपालका समस्या राष्ट्रिय समस्याको रुपमा अघि बढाउने बताए ।

हरिनगर ६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरुले अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन आग्रह गर्दै बेला–बेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने बताए ।

Comments

One response to “मुस्लिम समुदायसँग प्रचण्डले भने- तपाईंहरुलाई हामीले दिएको संवैधानिक अधिकार अरुले खोस्न खोज्दैछन्”

  1. ksp pyl Avatar
    ksp pyl

    भारतको अधिकारको मात्र वकालत गर्छौ तिमीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *