काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेर हैरानी पार्न खोजिएको भन्दै ऊर्जामन्त्री दीपक खड्काको नियतमाथि प्रश्न उठाएका छन् ।
मन्त्री खड्काले सोधेको स्पष्टिकरणको लिखित जवाफ दिँदै घिसिङले मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएको आफूलाई हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत प्रष्ट पारेका छन् । उनले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएकोमा असन्तुष्टि जनाएका छन् ।
आफूमाथि जसरी पनि कारवाही गर्ने नियतले विदा स्वीकृतिलगायतका नियमित र अनिवार्य प्रशासनिक काममा समेत बाधा उत्पन्न गरेको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
पदबाट किन नहटाउने ? भनी सोधिएको दोस्रोपटकको स्पष्टीकरणको जवाफ कुलमानले ६ वटा बुँदामा दिएका छन् ।
उनले आफू मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (१) बमोजिम ४ वर्षको निम्ति नियुक्त भएकोमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानूनी व्याख्यासम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली र प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधासम्बन्धी विनियमावली बमोजिम मन्त्रालयलाई नभएको जिकिर गरेका छन् ।

मन्त्री खड्काले मन्त्रीस्तरीय निर्णयबाट घिसिङलाई फागुन १३ गते २४ घण्टे स्पष्टिकरण सोधेका थिए । घिसिङलाई पदबाट किन नहटाउने भनी सोधिएको स्पष्टीकरणको उनले लिखित जवाफ दिएका हुन् ।
आफ्नो यसअघिको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्ने मन्त्री खड्काको प्रश्नमा घिसिङले के कति कारणले पूर्व स्पष्टिकरण चित्त बुझ्दो भएन भनेर प्रतिप्रश्न गरेका छन् ।
आफूमाथि लगाइएका सबै आरोप मनोगत भएको भन्दै आफ्नो नियुक्तिपछिको प्रगतिको सबै सूचांकले सबै प्रगति उजागर गर्ने बताएका छन् ।
घिसिङले भनेका छन्–स्पष्टिकरण २४ घण्टाभित्र पेश गर्नुपर्ने जरुरपना र तत्कालै कारवाही गर्नुपर्ने अवस्था विद्यमान नभएको कुरा स्पष्टिकरणमा उल्लिखित विषयबाट प्रष्ट हुन्छ । तसर्थ स्पष्टिकरण माग गर्दा प्रतिवाद गर्ने उचित समय र पर्याप्त समय नदिईएको समेत प्राकृतिक न्यायको माइ सिद्धान्त प्रतिकुल छ ।
घिसिङले आफूले लक्ष्यअनुरूप प्रगति हासिल गरिरहेकै अवस्थामा मन्त्रालयबाट आवश्यक सहयोग, समर्थन, प्रोत्साहन र हौसला प्रदान गर्नुको सट्टा उल्टै अति गौण र स-साना विषयमा असजिलो पारी मानमर्दन र हतोत्साही गराउने गरी पटक पटक स्पष्टीकरण सोधेर दुःख र हैरानी दिने काममात्र भएको भन्दै यसो नगर्न अनुरोध गरेका छन् ।
घिसिङले आफूलाई सेवाबाट हटाउन नमिल्ने भन्दै मन्त्रीको नियतमाथि विभिन्न प्रश्न उठाएका छन् ।

Leave a Reply