नेपालमा मगर समुदायको बसोबास कति सय वा हजार वर्षदेखि शुरू भयो भन्ने कुनै प्रमाणिक तथ्य छैन । यद्यपि नेपालको आदिवासी जनजातिभित्र धेरै जनसंख्या भएको र फैलिएर रहेको यो समुदाय मूलबासी नेपाली हो ।
नेपाल मगर संघको स्थापना २०१२ सालमा भयो । यो संस्थाले लामो विरासत बोकेको इतिहास छ । विगतमा तत्कालीन शासन व्यवस्थामा संघ संगठन गर्ने अवस्था थिएन ।
यस्तो अवस्थामा कानुङ्ग लाङ्गघाली समाजबाट आजको विकसित मगर संघको स्थापना भएको हो । २०३८ बाट निरन्तर नेपाल मगर संघले आफ्नो स्थापना भएको दिनलाई मगर दिवसका रूपमा एउटा आन्दोलनका हिसाबबाट मनाउँदै आएको छ ।
यसपालिको ४३औँ मगर दिवस विश्वबासी मगर र नेपालका ७७ वटै जिल्लामा बसोबास गर्ने मगरहरूले धुमधामसाथ मनाइरहेका छन् । संघीय सरकारले यस दिवसमा बिदा नदिए पनि विभिन्न स्थानीय तहहरूले मगर दिवसका दिन सार्वजनिक बिदा दिँदै आएका छन् ।
राणा शासनविरुद्धको आवाज उठाउने नेपालका प्रथम शहीद लखन थापा मगर १९३३ मा झुण्ड्याएर मारिँदाको कहाली लाग्दो इतिहासलाई राज्यले अझै पनि न्याय दिन सकेको छैन ।
२०३६ पछाडिका दिनहरूमा बिस्तारै संघ संस्थाको स्थापना र परिमार्जन हुँदै आएको अवस्थामा नेपाल मगर संघले आफूलाई स्थापित गर्दै आएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा मगर जातिको जनसंख्या २७ लाखभन्दा बढी रहेको छ । यो संख्या नेपालको कुल जनसंख्याको ७ दशमलब १२ प्रतिशत हो ।
मगर समुदायको राजनीतिक योगदान
मगरहरू बहादुर लडाकु भएकोले उनीहरू बाइसे र चौबिसे राज्यका सेनामा प्रमुख रूपमा सहभागी थिए ।
विशेष गरी, पश्चिम नेपालका राज्यहरू (जस्तै पाल्पा, गुल्मी, प्यूठान, बागलुङ, रोल्पा, रुकुम, आदि) मा मगर शासकहरूको प्रभाव थियो । मगरहरू स्थानीय सेनामा मुख्य योद्धा, सेनापति तथा शासकको रूपमा काम गर्थे । कतिपय बाइसे-चौबिसे राज्यमा मगर राजाहरू शासन गर्थे ।
पाल्पा, बागलुङ, प्यूठान र रुकुमजस्ता राज्यहरूमा मगर समुदायको राजकीय प्रभाव थियो । मगरहरू राजवंश (शाही परिवार) का सदस्यहरू, मन्त्रीहरू तथा उच्च पदाधिकारीहरूको रूपमा संलग्न थिए । बाइसे राज्यहरूमध्ये कतिपय मगरहरूको नेतृत्वमा थिए । जस्तै रुकुम, रोल्पा, बागलुङ, प्यूठान, गुल्मी आदि ठाउहरूमा प्रमुख भूमिका रहेको इतिहासमा पाइन्छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा मगर समुदायलाई सेनामा भर्ती गरे । गोरखा सेनाका ठूलो हिस्सा मगर योद्धाहरू थिए, जसले नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका खेले । मगरहरू खस सेनाहरूसँग मिलेर बाइसे-चौबिसे राज्यहरूलाई गोरखाको नियन्त्रणमा ल्याउन सहयोगी भए ।
मगर समुदायले नेपालको विभिन्न राजनीतिक आन्दोलनहरूमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । पृथ्वीनारायण शाहको एकीकरण अभियानमा मगरहरू अग्रस्थानमा थिए । सेनाका उच्च ओहदामा मगरहरूको वर्चस्व थियो, जसले नेपाल एकीकरणमा ठोस योगदान दिएको इतिहास छ ।
मगर समुदायको इतिहास लामो र गौरवशाली छ । मगरहरू स्वभाव, संस्कृति, र आफ्नो गुणले एउटा विछट्टै पहिचान बोकेको सहनशील र अरुका निम्ति त्याग गर्ने र छिट्टै विश्वास गर्ने समुदाय हो ।
कानुङ्ग लाङ्गघाली समाजबाट आजको विकसित मगर संघको स्थापना भएको हो । २०३८ बाट निरन्तर नेपाल मगर संघले आफ्नो स्थापना भएको दिनलाई मगर दिवसका रूपमा एउटा आन्दोलनका हिसाबबाट मनाउँदै आएको छ ।
देशको कुनै पनि कुनामा, कुनै पनि क्षेत्रमा र अन्तर्राष्ट्रियस्तरमा मगर समुदायको बसोबास उपस्थिति र यसको इतिहास भेटाउन सकिन्छ । मगर समुदायले विगतमा लामो समय बाइसे र चौबिसे राज्य सञ्चालनमा ठूलो उपस्थिति देखाएको इतिहासमा पाइन्छ ।
मगर समुदायले सासन सत्ताको बागडोर समाउँदा सम न्याय समानताको र समविकासको अवधारणा थियो । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौं उपत्यका विजय गरेपछि एकात्मक शासन व्यवस्थाको शुरू भएको हो । करिब ३२५ वर्षपछि २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनपछि राजतन्त्रको समूल अन्त्यको घोषणा भयो ।
आदिवासी अधिकार र मगर आन्दोलन
२००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि माओवादी आन्दोलन र २०६२/६३ को जनआन्दोलनसम्म मगर समुदायको रगत पसिनाले सिंचिएर सघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा यो समुदायको अतुलनीय भूमिका रह्यो । मगरहरू विभिन्न राजनीतिक पार्टीमा आवद्ध भएर समान अधिकारका लागि लडिरहेका छन् । ६२/६३ को आन्दोलनपछि र त्यसको जगमा उभिएर बनेको नेपालको संविधानले समान हकको व्यवस्था गरेको छ । व्यवहारमा कार्यान्वयन बाँकी छ ।
मगर समुदायले आफ्नो पहिचान, भाषा, र संस्कृतिको संरक्षणका लागि विभिन्न आन्दोलनहरू गर्दै आएको छ । पृथ्वीनारायण शाहले कुटनीतिक ढंगबाट मगरातको राजा आफूलाई त्यसै घोषणा गरेका होइनन् । विश्व युद्धमा भीसी पाउने मगरदेखि विगतमा कुशल ढंगले शासन सत्ता चलाएको समुदाय हो मगर । परेका बेला राज्यलाई काँध हाल्ने समुदाय हुन् मगर ।
१८औं शताब्दीको समयमा पनि मगरले राज्यको नेतृत्व गर्नुले यसको थातथलो नेपाल र यहाँको भूमिपुत्रका रूपमा यो समुदायलाई लिन सकिन्छ । आदिवासी जनजाति समुदायको सबैभन्दा ठूलो संख्यामा रहेको मगर राजनीती र शासन व्यवस्थामा बामे सर्ने कोसिसमा छ ।
मगर समुदाय अझै पनि उच्चस्तरीय राजनीतिक ओहदामा कम देखिन्छ । उनीहरूको भाषा, संस्कृति, र पहिचानको पर्याप्त प्रतिनिधित्व हुन सकेको छैन । राज्यको नीति निर्माण तहमा मगर समुदायको सहभागिता बढाउन थप पहल आवश्यक छ । नेपालको संविधानले परिकल्पना गरेको समानता र समावेशी कार्यान्वयन आवश्यक छ । तब मात्र मूलधारका राजनीतिमा यो समुदायको उपस्थिति निर्णायक बन्न सक्छ ।
मगर दिवसको आर्थिक सन्दर्भ
नेपालको अर्थतन्त्रमा मगर समुदायको महत्त्वपूर्ण योगदान रहेको छ । मगरहरू कृषिमा आधारित समुदाय भए पनि पछिल्लो समय विभिन्न क्षेत्रमा फैलिएका छन् ।
मगर समुदायको परम्परागत पेशा कृषि तथा पशुपालन हो । मुख्यरूपमा मकै, कोदो, आलु, गहुँ, तरकारी खेती र गाई, भैँसी, खसीबोका पालन प्रमुख आयस्रोत हुन् ।
वैदेशिक रोजगार
खासगरी विगतको राज्यसत्ताले नेपालका मगर समुदायलाई भाडाका रूपमा लाहुर जाने व्यवस्थ गरेको थियो । मगर समुदायका युवा ठूलो संख्यामा वैदेशिक रोजगारमा गएका छन् । विशेषगरी भारत, खाडी मुलुक, यूरोप, बेलायत, सिंगापुर र हङकङमा । बेलायती गोर्खा फौजमा मगरहरूको महत्वपूर्ण उपस्थिति छ, जसले मगर समुदायको आर्थिक अवस्था बलियो बनाएको छ । तर, राजनैतिक चेतना र उपस्थिति न्यून छ ।
पर्यटन र व्यवसाय
मगर समुदाय बसोबास गर्ने क्षेत्रहरू पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण छन् । जस्तैः पोखरा, रोल्पा, रुकुम, रूपन्देही, नवलपरासी, पाल्पा, बागलुङ, गोरखाजस्ता ठाउँ आफैँमा पर्यटकीय छन् । मगर समुदायका व्यक्तिहरू होटल व्यवसाय, यातायात, तथा अन्य व्यवसायमा संलग्न छन् । अधिकंश मगरसहित आदिवासी जनजाति समुदायको होम-स्टे हुनुले यसको पहिचानको माग गर्दछ । यसको प्रवर्द्धन आजको आवश्यकता हो ।
आर्थिक चुनौतीहरू
मगर समुदायको ठूलो जनसंख्या अझै पनि गरिबीको रेखामुनि छ । वैदेशिक रोजगारमा निर्भरता बढी छ । जसले दीर्घकालीन आर्थिक स्थायित्वमा समस्या ल्याउन सक्छ । राज्यले मगर समुदायको आर्थिक विकासका लागि विशेष योजना ल्याउन आवश्यक छ । मगरमात्र नभएर सबै समुदायको समुन्नत विकास नै राष्ट्रको समूल विकास हो । नेपालको समृद्धिको नारा एउटै भूगोल समुदायको विकासले सम्भव छैन । समान विकास नै समुन्नत नेपालको परिकल्पना हुन आवश्यक छ ।
मगर दिवसको सामाजिक सन्दर्भ
मगर समुदायको आफ्नो विशिष्ट पहिचान, भाषा, भेषभूषा, धर्म, संस्कृति, तथा परम्परा छ । मगर दिवस समाजमा यी पहिचानलाई अझ मजबुत बनाउन मनाइन्छ । मगर समुदायको सांस्कृतिक विशेषता बोकेको विशिष्ट समुदाय हो ।
मगर समुदायले आफ्नै मगर भाषा प्रयोग गर्छन्, जसको तीन मुख्य भेद छन् खाम काइके, र ढुट मगर कुरा । मगर भाषाको लिपि ‘अक्षर मगर’ रहेको छ । यसमा १२ मगरात र १८ मगरात छन् ।
धर्म र परम्परा
मगरहरू परम्परागत रूपमा प्राकृतिक धर्म मान्ने समुदाय हुन् । पछि बौद्ध, हिन्दू तथा विभिन्न धर्ममा आवद्ध भएका छन् । खासगरी मगर प्रकृति पुजक समुदाय हुन् । पछिल्लो समयमा बौद्ध र हिन्दू धर्मको प्रभाव देखिए पनि मगरहरूको मौलिक परम्परा जीवित छ ।
नृत्य, संगीत र चाडपर्व
मगर समुदायका परम्परागत नृत्यहरू लोकप्रिय छन्, जस्तै सोरठी, सालैजो, झ्याउरे, कौडा । मगरहरूको मुख्य चाडपर्वहरू माघे संक्रान्ति, दशैँ, तिहार, चैत्र पूर्णिमा आदि हुन् ।
मगर समुदायले शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा ठूलो योगदान पुर्याएको छ । मगरहरूले आपसी एकता र सामाजिक मेलमिलापलाई बल दिएका छन् ।
सामाजिक चुनौतीहरू
विगतमा मगर समुदायमाथि आफ्नो भाषा बोल्न रोक लगाउने जस्ता कामहरूले भाषाको विकासमा ठूलो अवरोध सिर्जना भएको आज महसुस भएको छ । मगर समुदाय अझै पनि शिक्षामा पिछडिएको अवस्था देखिन्छ । नयाँ पुस्ताले मगर भाषा प्रयोग गर्न छाड्दै गएकाले यसको संरक्षणमा चुनौती थपिएको छ ।
मगर समुदायको सांस्कृतिक पहिचान जोगाउन नयाँ नीति र कार्यक्रम आवश्यक छ । राज्यले विविधता जति संरक्षण गर्न सक्छ मुलुक त्यति नै बलियो हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिरहेको छैन । आन्तरिक राष्ट्रियता मजबुत हुनु नै देश बलियो हुनु हो । भाषाका सन्दर्भमा बाहीरी भाषा, नेपाली देवनागरी र आन्तरिक गरी नेपालमा १४२ जाति र १२९ वटा भाषाहरू रहेको २०२१ को जनगणनाले स्पष्ट पारेको छ । यो सबैलाई एउटै मालामा उनेर सबैको सझा पहिचानलाई स्थापित गर्नु राज्यको कर्तव्य हो ।
मगर समुदायको इतिहास लामो र गौरवशाली छ । मगरहरू स्वभाव, संस्कृति, र आफ्नो गुणले एउटा विछट्टै पहिचान बोकेको सहनशील र अरुका निम्ति त्याग गर्ने र छिट्टै विश्वास गर्ने समुदाय हो ।
निष्कर्ष
मगर दिवस केबल एक उत्सवमात्र नभएर मगर समुदायको पहिचान, अधिकार, र योगदानको सम्मान गर्ने दिन हो । राज्यप्रतिको गुनासो पनि यही हो । मगर समुदायले नेपालको राजनीतिक, आर्थिक, र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
तर, अझै पनि मगर समुदायले राजनीतिक प्रतिनिधित्व, आर्थिक सशक्तिकरण र सांस्कृतिक संरक्षणका लागि संघर्ष गरिरहनु परेको छ । राज्यले मगर समुदायको उत्थानका लागि विशेष नीति बनाउन आवश्यक छ जसले मगर समुदायको समृद्धि र पहिचानलाई सुनिश्चित गर्न सकोस् ।
मगर दिवसको अवसरमा यी मुद्दाहरूलाई उठान गरेर आफ्नो हक अधिकारको माग गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । मगर समुदायले निजी स्वार्थभन्दा माथि उठेर मुलुक र नागरिकको स्तन्त्रताका लागि उचालेको एक अभियानले इतिहास बोकेको छ । राणा शासनविरुद्धको आवाज उठाउने नेपालका प्रथम शहीद लखन थापा मगर १९३३ मा झुण्ड्याएर मारिँदाको कहाली लाग्दो इतिहासलाई राज्यले अझै पनि न्याय दिन सकेको छैन ।
४३औं मगर एकता दिवसले समुदायमा थप उत्साह निर्माण गर्दे लैजाने र देश रहे समुदाय रहन्छ भन्ने मूल्य मान्यतालाई स्थापित गर्दै अघि बढ्ने संकल्प गरोस् ।
( सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष गाह नेपाल मगर पत्रकार संघका सचिवसमेत हुन् ।)

Leave a Reply