भट्टलाई दलको नेता बनाउन प्रचण्डको निर्देशन, विनालाई इन्चार्ज बनाउन सरलको प्रस्ताव

कैलाली । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको विवाद मिलाउन पटक पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको मौखिक तथा लिखित निर्णय कार्यान्वयन नभएपछि प्रचण्डले बुधवार सबै सांसदलाई खुमलटार बोलाए ।

अघिल्लो वर्ष माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो । आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि प्रचण्डलाई नैतिक संकट परेको थियो ।

फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन प्रचण्ड एक घण्टाको लागि मात्रै काठमाडौँ आएका थिए । दिउसो ३ बजेदेखि सुरु भएको छलफल करिब २ घण्टापछि अन्ततः प्रचण्डले पुरानै शैलीमा निर्देशन दिएर सकिएको थियो ।

अभियानमा फर्किनुपर्ने भएको हुँदा बुधवार दिउसो प्रचण्ड स्वयमले संसदीय दलको समस्या र आफूले दिएको निर्देशन कार्यान्वयन नहुने अवस्थाबारे प्रसङ्ग निकालेका थिए। ‘पार्टीको पटक पटकको निर्देशन किन कार्यान्वयन भएन ? तपाईँहरूले मेरो निर्देशन समेत किन मान्नु भएन ?’ प्रचण्डले सुरुमै सोधे ।

खगराज भट्टले अध्यक्षकै कुरालाई जोड दिँदै ‘पार्टीको निर्देशन त मान्नु पर्छ नि’ भन्दै कुरा अगाडी बढाए ।

माओवादी संसद रमेश धामीले निर्देशन कार्यान्वयन नगर्नेलाई कारबाही हुनुपर्ने सम्मको विषयमा निकाले । ‘हामीलाई पार्टीले टिकट दिएको हो । सांसद बनाएको हो, मन्त्री बनाएको हो । पार्टीबाट अवसर लिने अनि पार्टीको निर्देशन नमान्ने हुन्छ’ उनले आफ्नै नाम लिँदै भने ‘पार्टीको निर्देशन भन्दा बाहिर गएको अवस्थामा म रमेश धामीलाई पनि कारबाही गर्दा हुन्छ ।’

सांसद जानकीदेवी कुवरले धामी कै कुरालाई समर्थन गरिन् । झपट साउदले सर्वसम्मत रूपमा विवाद निरूपण गर्नु पर्नेमा जोड दिएका थिए । शिवसिंह ओलीले पनि मतदान प्रक्रियाबाट विवाद मिलाउन भन्दा छलफलबाट टुङ्गो लगाउनु पर्नेमा जोड दिएका थिए ।

माओवादी उपनेता अक्कल रावलसँग भने प्रचण्डले प्रतिप्रश्न गरे । प्रदेश सभा संसदीय दलको नेता संसदीय प्रक्रियाबाट छनोट गरिएको रावलले बताउँदा प्रचण्डले आफूसँग यसअघि गरिएको सहमतिको विषयमा रावललाई स्मरण गराएका थिए । ‘तपाईँहरू मन्त्री हुँदा भएको सहमति पनि त कार्यान्वयन भएन नि प्रचण्डले भनेका थिए ।’

रावलसहितका माओवादीबाट तीन मन्त्री हुँदा प्रचण्डकै निवासमा भएका मन्त्रीहरूलाई निरन्तरता दिने तर, संसदीय दलको नेता भट्टलाई बनाउने सहमति भएको थियो । प्रचण्डले सोही विषय स्मरण गराएका थिए ।

सांसद ओमविक्रम भाट सरलले बैठकमा नयाँ प्रस्ताव अघि सारेका थिए । ‘खगराज भट्टलाई दलको नेता बनाउने हो भने इन्चार्ज फेरौँ न त ,इन्चार्ज विना मगरलाई बनाऊ’ उनले भने ‘विना मगरलाई बनाउँदा तपाइलाई परिवारको सदस्य बनाएको आरोप आउँछ भने सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट वा लक्ष्मी जोशीलाई बनाऊ ।’

भाटले इन्चार्ज फेर्ने प्रस्ताव गर्दा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल पनि सँगै बसेर सुनिरहेका थिए । सँगै रहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘कम्युनिस्ट पार्टीमा सर्त राख्न मिल्दैन’ भने । इन्चार्ज पोख्रेलले त्यसैलाई टेके ।

सांसद लक्ष्मी विकले संघीयताको मर्म विपरीत प्रदेशको विवाद केन्द्रमा छलफल भइरहेको बताएकी थिइन् । ‘सानो सानो कुरा पनि यहाँसम्म पुराउनु उपयुक्त होइन ’ उनले भनिन् ‘खगराज जी सुध्रिनु भएको छैन । यहाँ आएर म प्रचण्ड कै हुँ भन्नुहुन्छ तर सबैका फरक फरक गुट हुन्छन् ।’ छलफलबाट मात्रै निकास नआउने भन्दै सबैले मन माझ्नु पर्ने उनको सुझाव थियो ।

छलफलको उद्देश्य प्रचण्डले सुनाउँदै मानबहादुर धामीलाई मार्ग प्रशस्त गर्न र खगराज भट्टलाई दलको नेता बनाउन प्रचण्डले जोड दिएका थिए । धामीले भने आफ्नो भूमिकाबारे प्रचण्डलाई प्रतिप्रश्न गरेका थिए । ‘मेरो व्यवस्थापक कहाँ हुन्छ त ?’ उनले सबैलाई सँगै राखेर प्रचण्डलाई भने ‘म संसदीय दलको प्रक्रियाबाट निर्वाचित भएको दलको नेता हुँ कि त्यही प्रक्रियाबाट हटाउनु पर्‍यो कि त मेरो यथोचित व्यवस्थापन हुनु प¥यो ।’

धामीले प्रदेश इन्चार्ज पोख्रेलबाटै गुटबन्दी भइरहेको र उपाध्यक्ष श्रेष्ठले पनि त्यसैलाई मलजल गरिरहेको सङ्केत गरेका थिए । सह-इन्चार्ज विना मगरले पनि इन्चार्जबाट सुदूरपश्चिममा सबैमाथि समान व्यवहार हुन नसकेको बताएकी थिइन् ।

समन्वय कार्यालयको बैठकका पनि धामीलाई खबर नगरिएको विषयले पनि छलफलमा स्थान पाएको थियो । प्रदेश इन्चार्जको नेतृत्वमा सह इन्चार्जहरू, प्रदेश सभाको दल नेता, प्रदेश अध्यक्ष र उक्त प्रदेशमा कार्यरत स्थायी समिति सदस्यहरू समन्वय कार्यालयमा रहने सर्कुलरमा रहेको छ । धनगढीमा बसेको उक्त बैठकमा धामीलाई खबर नगरिएको विषयमा सह-इन्चार्ज विना मगरले प्रचण्डलाई सुनाएकी थिइन् ।

धामी त्यो बेला बैठक कक्षमा थिएनन् । उनी आए लगत्तै प्रचण्डले सोधे, ‘तपाइको बारेमा सह-इञ्चार्जले कुरा गर्नु भएको छ, समन्वय कार्यालयको बैठकका तपाइलाई खबर गरिएको थिएन ।’ आफूलाई उक्त बैठकमा नबोलाइएको भन्दै उनले भने ‘मलाई इन्चार्ज ज्यूले खबर गर्नु भएन । मलाई अक्कल माननीय ज्यूले ‘भोली त बैठक छ नि’ भनेर भन्दा मैले नै उहाँलाई सोधेको थिए । तर, उहाँले आउनुहोला पनि भन्नु भएन ।’

सबैको कुरा धैर्य गरेर प्रचण्डले सुनेपछि फेरी आफ्नो पुरानै निर्देशन स्मरण गराउँदै कार्यान्वयन गराउन निर्देशन दिएका थिए । उनले यस पटक भने आफू धनगढी पुग्नुभन्दा पहिल्यै आफ्नो निर्देशन कार्यान्वयन हुनुपर्ने बताएका थिए ।

‘म २० गते धनगढी पुग्छु म पुग्नुभन्दा पहिल्यै नै निर्णय कार्यान्वयन गराउनु होला’ प्रचण्डले सबैलाई साथमा राखेर फेरी निर्देशन दिए ।

२० फागुनमा टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रचण्ड कैलाली आइरहेका छन् । त्यो भन्दा अगाडि नै दलको नेतामा खगराजलाई पुनः स्थापित गर्न निर्देशन दिएका थिए ।

प्रचण्डले भट्टलाई दलको नेता बनाउन पटक पटक निर्देशन दिँदा पनि अझै भट्टप्रति माहौल भने बनेको छैन । बुधवार पनि भट्ट समूहले प्रचण्डकै अगाडी निर्णय गराउने लक्ष्य लिएको थियो तर, प्रचण्डले भने दलको विवाद दलबाटै समाधान गर्नेगरि उनीहरूलाई फर्काए ।

संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । यस्तो अवस्थामा केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आइरहेको छ । प्रचण्डले आफै बोलाएर २० गतेभित्रै भट्टलाई नेता बनाउन भनेपनि कुन विधिले बनाउने भन्ने विषय भने प्रदेशमा पेचिलो बन्ने देखिन्छ ।

Comments

One response to “भट्टलाई दलको नेता बनाउन प्रचण्डको निर्देशन, विनालाई इन्चार्ज बनाउन सरलको प्रस्ताव”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्डले सबैलाई गलाएर विनालाई अघि बढाउन यो सबै नाटक गरिरहेका छन् । कुरा बुझौं कमरेडहरू हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *