कैलाली । धनगढीको फाप्लामा सम्पन्न तेस्रो संस्करणको एसपीए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधिसँगै भिमदत्तले नगद २ लाख जितेको छ । उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ । भिमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पाण्डेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे ।
बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले । भिमदत्त नगरपालिकाकला लागि मिलन बोहराले ३४ रनको योगदान दिए ।
पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले ३ विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् । कृष्ण कार्की र सागर भण्डारीले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनायो ।
पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका वसन्त सिंह कार्कीले आक्रामक ब्याटिङ गरे । ४० बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले ।
त्यस्तै कप्तान विपिन रावल ३८ रन,सुवास ऐर १८ रन,नवयुग बस्नेत १४ रन बनाए भने आशिष लुहार १२ रनमा रिटार्यड आउट भए । भिमदत्त नगरपालिकाका लागि साजन बिटालु,किरन चन्द,सन्तोष भट्ट र समीर बिष्टले समान एक एक विकेट लिए ।

Leave a Reply