होटल बन्दीपुर हिल अन्तिम चरणमा

तनहुँ । बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ। सत्र तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ। त्यसैगरी, बजार क्षेत्रलाई हेर्न सकिन्छ, जुन पर्यटकका लागि पृथक र रोचक अनुभव हुनसक्ने बताइएको छ।

बन्दीपुर हिलले प्याकेजका रूपमा र्याफ्टिङ, रकक्लाइमिङ, जीपलाइन स्काइसाइक्लिङलगायत साहसी खेलको गन्तव्यका रूपमा विकास गर्न लागेको बन्दीपुर हिलका महाप्रबन्धक रोमनमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार यस होटलमा ८० कोठा रहने छन्। परियोजनाले तल्लो स्टेशनमा तीन अर्ब ८३ करोड लगानी गरिसकेको छ। परियोजनाको कुल लागत छ सय २९ करोडमध्ये करिब चार सय ३३ करोड बराबरको काम सम्पन्न गरिसकेको बताइएको छ।

‘साहसिक खेलका साथै खड्गदेवी मन्दिरको दर्शन गर्न सकिन्छ, बन्दीपुरमा घुम्न आउने पर्यटकले पृथक अनुभव लिन सक्नेछन्’ महाप्रबन्धक श्रेष्ठले भने, ‘रेशमी खेती, मौरीपालनसँगै समुदायको विकासका लागि बन्दीपुर हिललाई सामूहिक उद्यमी क्षेत्रमा नमूना बनाइँदैछ।’

बन्दीपुर–४ ठुलढुङ्गास्थित केबलकारको तल्लो स्टेशन ८० रोपनी क्षेत्रफलमा होटलसहितका मनमोहक उद्यान निर्माण गरिएको छ, जुन पृथ्वीराजमार्ग सडक छेउमा रहेको छ। एक हजार छ सय १६ मिटर लामो केबलकार करिब सात मिनेटमा पार हुने छ।

केबलकार यात्राको क्रममा तल्लो स्टेशनबाट माथिल्लो स्टेशनतर्फ जाँदै गर्दा ९० डिग्रीको कोणमा आकाशतर्फ उडिरहेको आभास गर्न सकिन्छ। केबलकार सञ्चालनको पहिलो वर्ष कम्पनीको विशेष अफरमा पाँच सयमा आवतजावत गर्न सकिने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *