काठमाडौं । धरानका पर्यटन व्यवसायी वासुदेव बराल हालसालै खोटाङको शिव धाम हलेसी महादेशमा पुगे । ‘पूर्वको पशुपतिनाथ’ भनेर व्याख्या गरिने खोटाङको हलेसीमा भिडभाड भने खासै नदेखेको बरालले बताए ।
इस्ट टूरिजम मार्टको तयारीमा कोशी प्रदेशभरिका व्यवसायी तथा पर्यटनकर्मीहरुसँगको अन्तरक्रियामा प्रदेश दौडाहा टीममा रहेका बराल शिवरात्रिको मौका पारेर संखुवासभा हुँदै मध्य पहाडी मार्गबाट खोटाङ पुगे । चलहपलह खासै देखेनन् ।
‘महाकुम्भको प्रभाव हो कि के हो’, बरालले नेपाल प्रेससँग भने, ‘यो साल हलेसीको भिड कम भएको धेरैले सुनाए ।’ बरालको भनाइसँग सहमत छन् हलेसी क्षेत्रका होटल व्यवसायी रुद्र गिरी । गिरीको होटल हलेसी भिजन थोरै टूरिष्ट क्लास होटलमध्येको एक होटलका सञ्चालक हुन् ।

‘हाम्रोमा रहेका साना, मझौला ठूला सबै होटलले तीन हजार जनालाई राख्न सक्छन्’, गिरीले नेपाल प्रेससँग गुनासो गर्दै भने, ‘अहिलेको अवस्थामा पचास प्रतिशत कोठाहरु खाली भएका छन् । आगमन धेरै कमजोर देखिएको छ ।’ आफूले भारतीय पर्यटकहरु नदेखेको पनि व्यवसायी गिरीले बताए ।
हलेसी विकास समितिका आठ वर्ष कार्यकारी निर्देशक भएर हालसालै बिदा भएका समर भुजेलले पनि यो वर्ष भिड पहिलाको तुलनामा कम भएको बताए । गत वर्ष ८ हजार हाराहारी आगन्तुकहरु आएकोमा अहिले पाँच हजार हाराहारी मात्रै आएको अनुमान भूजेलले गरे ।
मन्दिर परिसरबाट नेपाल प्रेससँग बोल्दै भुजेलले भने, ‘पहिलाको वर्षभन्दा पछिल्ला वर्षमा बढ्नु पर्ने हो । त्यो देखिएको छैन । आगमन नर्मल मात्रै छ ।’

हलेसी मन्दिर परिसर भएको क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कमल गिरीले मन्दिरमा आगमन राम्रो भएको बताए । आज साँझ सात बजेबाट आरती हुने र आज आएका आगन्तुकहरु भोलि १२ बजेपछि फर्कने बताए । तर, भारतीय पर्यटकहरु नआएको देखिएको भन्दै वडाध्यक्ष तथा पालिका प्रवक्ता समेत रहेका गिरीले भने, ‘भारतीयहरु साधनमा धेरै आउनुहुन्छ ।’
देशको पर्यटन गन्तव्य सूचीमा परेको हलेसीः हिन्दू, बौद्ध र किराँतको सांस्कृतिक संगम
हलेसी नेपाल सरकारले सूचीकरण गरेको पर्यटन गन्तव्यमा अटाएको एक धाम हो । पर्यटन मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० को लागि लक्षित गरेर राखिएका सय गन्तव्यमा एक गन्तव्य हलेसी पनि रहेको थियो । यहाँ हिन्दूहरुले, बौद्धहरुले र किराँतहरुले मिलेर आस्था मान्दै आएका छन् ।

हलेसी, बसाहा र भैरव नामका तीन गुफा हिन्दूहरुमा पवित्र मानिन्छन् भने यहाँ हिन्दूहरुको भिडभाड हुने समयमा भनेको शिवरात्री बाहेक रामनवमी र बालाचर्तुदशी हो । पद्मसंभवले तपस्या गरेको स्थान भन्दै बौद्ध धर्ममा यो गन्तव्य पवित्र मानिन्छ ।
सिक्किमदेखि भुटानसम्मका बौद्धमार्गीहरु बेलाबखत आउने गरेका छन् । कतिपयले त हेलिकप्टर चार्टड गरेर पनि मन्दिरलाई गन्तव्य बनाउने गरेका छन् । कोशी प्रदेशले वर्ष २०८२ लाई प्रदेश पर्यटन वर्षको रुपमा मनाउने तयारी गरेको छ । त्यसमा हलेसी पनि एक प्रमुख प्याकेज बनाउने प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउँदै आएका छन् ।



Leave a Reply