बुटवलमा साइनबोर्ड कर असुलीविरुद्ध व्यवसायी आन्दोलित

रुपन्देही । बुटवल उपमहानगरपालिकाले घर र पसलमा राखिएका साइनबोर्डको कर उठाउन थालेपछि व्यवसायीहरू आन्दोलित भएका छन्।

चार व्यावसायिक संस्थाले यस करलाई अव्यवहारिक भन्दै उपमहानगरलाई तत्काल खारेज गर्न माग गरेका छन्।

रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघ बुटवलले संयुक्त रूपमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललाई ५ बुँदे ज्ञापन पत्र बुझाउँदै ठेक्का मार्फत असुली भइरहेको साइनबोर्ड कर अव्यवहारिक भएको बताएका हुन्।

बुटवल उपमहानगरले गणेश एण्ड सन्स कन्स्ट्रक्सन (बुटवल–१३) लाई ठेक्का दिएर साइनबोर्ड कर उठाइरहेको छ।

व्यवसायीहरूले कोभिड महामारीको असर र आर्थिक मन्दीको समयमा चर्को कर, दोहोरो कर, बहाल कर तथा साइनबोर्ड करले व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताएका छन्।

व्यवसायीहरूका अनुसार ठेकेदार कम्पनीले जबरजस्ती साइनबोर्ड हटाउने, व्यवसायीहरूलाई धम्की दिने तथा अनावश्यक दबाब सिर्जना गर्ने जस्ता ज्यादतीपूर्ण गतिविधि भइरहेको छ।

ज्ञापनपत्रमा साइनबोर्ड हटाइएकालाई उचित क्षतिपूर्ति दिनुपर्ने, भविष्यमा व्यावसायिक संघ संस्थासँग छलफल गरेर कर प्रणाली बनाइनुपर्ने, व्यवसायीमाथिको दमन बन्द गर्नुपर्ने लगायतका माग राखिएको छ।

व्यवसायीहरूले आफ्नै घर वा पसलमा राखिएको साइनबोर्डको कर अव्यवहारिक भएको भन्दै गत असार २ गते पनि उपमहानगरलाई ज्ञापन पत्र बुझाएका थिए।

तर, माग सम्बोधन गर्नुको साटो ठेकेदार कम्पनीमार्फत ज्यादती दोहोरिएको व्यवसायीहरूको आरोप छ। यसअघि बुटवलका विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थाले पनि साइनबोर्ड कर नतिर्ने निर्णय गरिसकेका थिए।

व्यवसायीमाथि करमाथि करको भार

बुटवल चौराहास्थित ‘सबैको फार्मेसी’ का सञ्चालक किरण ढकालले आफ्नै पसलमा राखिएको बोर्डका लागि ४० हजार रुपैयाँको बिल पठाइएको बताउँदै यो नागरिकको मौलिक हक विपरीत भएको टिप्पणी गरे।

उनले ठेकेदार कम्पनीले आफ्नो पसलको साइनबोर्ड जबरजस्ती हटाइदिएको दाबी गर्दै उपमहानगरमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरे। उनले कानूनी उपचार खोज्ने बताएका छन्।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले ऐन तथा कानून अनुसार नै कर असुली भइरहेको बताउँदै ठेकेदार कम्पनीबाट भएको ज्यादतीबारे व्यवसायीसँग छलफल गर्न सकिने बताएका छन्।

व्यवसायीहरूले ठेकेदारको मनपरी रोक्न र कर प्रणालीलाई व्यवस्थित गर्न तत्काल कदम चाल्न नगरपालिकालाई चेतावनी दिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *