रुपन्देही । दुई समुदायका युवायुवतीबीच प्रेम विवाहपछिको विवाद बढ्दै जाँदा पश्चिम नवलपरासीमा २ समूहबीच झडप भएको छ ।
पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा झडप हुँदा १६ प्रहरी र ५ स्थानीय गरी २१ जना घाइते भएका छन् । ६ जना पक्राउ परेका छन् । स्थानीय एक जोडीको प्रेम विवाहको विषयमा बेलासपुर र छोटकी कुस्माका समूहको झडपले स्थिति तनावग्रस्त बनेको थियो ।
स्थानीयका अनुसार, हिजो केटा पक्षका एकजनालाई केटी पक्षकाकाले कुटपिट गरेपछि केटा पक्षकाहरू सोधपुछ गर्न पुगेका थिए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गर्नुका साथै ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नारायण थापाले जानकारी दिए । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी गरेका छन् । घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ जना घाइते भएका छन् ।
घाइतेमध्ये केटा पक्षका विजय धवलको अवस्था गम्भीर छ । ४५ वर्षीय वैजनाथप्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको हाल भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । साथै, घटनास्थलमा सुरक्षाकर्मीको संख्या बढाइएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले यो घटनाबारे सरकारको जवाफ माग गरेका थिए । उनले सोमबार राति थारु समुदायका दुई पक्षबीच भएको झडपमा गाडी तोडफोड भएको र गोलीसमेत चलेको भन्दै यथार्थ जवाफ खोजेका हुन् ।

Leave a Reply