वडाध्यक्ष र सचिवको सेटिङमा सिरहामा भारतीयले लिए नेपाली नागरिकता

जनकपुरधाम । नक्कली आमा-बुबा खडा गरेर एक भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय सिरहाबाट नेपाली नागरिकता लिएको खुलेको छ ।

भारत विहार राज्यको मधुवनी जिल्ला जयनगर ग्रामपञ्चायत देउधा टोलका मोसताक मियाँले नागरिकता बनाएका हुन् । ठेगानामा नरहा गाउँपालिका-३ सिरहा उल्लेख गरी उनले ०८० असार २६ मा नागरिकता लिएको पाइएको छ ।

उनको जन्ममिति २०५५ साउन १५ र नागरिकता नम्बर १५०१८०/४३६२ छ । नागरिकतामा बुवा अमानत मियाँ र आमा रजिना खातुनलाई कायम गरिएको छ । अमानत र रजिना श्रीमान-श्रीमती छन् । तर, मोसताक उनीहरूको छोरा नरहेको स्थानीयको दाबी छ ।

नरहा गाउँपालिका-३ का वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डलको सेटिङमा भारतीय नागरिक मोसताकले नागरिकता प्राप्त गरेको भन्दै उजुरी पनि परेको छ ।

कागजात तयार गरेबापत वडाध्यक्ष र वडासचिवले मोटो रकम लिएको स्रोतले बतायो । जन्मदर्तादेखि सबै कागजात बनेपछि मोसताकले जिल्ला प्रशासन कार्यालयबाट सजिलै नागरिकता बनाएका छन् । नक्कली नागरिकता बनाएको उजुरी परेपछि मोसताक सम्पर्कविहीन छन् ।

बुबा बनेका अमानतले मोसताक आफ्नो छोरा नभएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘मेरो दुई छोरा छन् । मोसताक मेरो छोरा हैनन् । काम गराउन वडामा गएको बेला सचिवले सही गराएका थिए थाहै भएन ।’

वडासचिव मण्डलले भारतीय नागरिक मोसताकले नेपाली नागरिकता प्राप्त गरेकोमा आफ्नो गल्ती नरहेको बताउँछन् ।

उनले भने, ‘अमानत र रजिना वडा कार्यालयमा आएर एकैपटक तीन छोराको जन्मदर्ता बनाएका हुन् । त्यसकै आधारमा नागरिकताको सिफारिस भयो । अमानतलाई झुक्याएर सही गराई मोसताकको बुबा बनाएको कुरा झूठो हो ।’

यता, वडाध्यक्ष अन्सारीले भिडभाडको बेला मोसताकको नागरिकताको सिफारिस गर्दा गल्ती भएको बताए ।

‘सचिवलाई पठाएको थिएँ । उताबाट ठिक छ भनेर सिफारिस आएपछि मैले पनि हस्ताक्षर गरिदिएँ’, वडाध्यक्ष अन्सारीले भने ।

अन्सारीले मोसताक यहाँको मान्छे नरहेको थाहा पाएपछि तत्कालै सीडीओ अफिसमा उनको नागरिकता खारेज गर्न सिफारिस गरेको दावी गरे । अहिले विपक्षीहरू आफूलाई फसाउन षड्यन्त्रमा लागेको उनको भनाइ छ । अन्सारी एमालेबाट निर्वाचित हुन् ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भारतीय नागरिक मोसताक नेपाली नागरिकता बनाएको विषयमा हिजो एकजनाले फोन गर्दा मात्र थाहा पाएको बताए ।

उनले भने, ‘सायद उजुरी पनि परेको छ । म तत्कालै फाइल खोज्न सम्बन्धित शाखाका कर्मचारीलाई निर्देशन दिइसकेको छु । अहिलेसम्म फाइल म कहाँ आइपुगेको छैन । आएलगत्तै आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाउछौं ।’

उजुरी परेको लामो समयसम्म किन अनुसन्धान भएन ? भन्ने जिज्ञासामा उनले भने, ‘अनुसन्धान हुनुपर्ने हो । तर, खै किन भएन ? म आएको दुई महिनामात्र भएको छ । भोलि सीडीओ साहेब आउनुहुन्छ । उहाँसँग पनि एकपटक बुझ्नुहोला ।’

Comments

One response to “वडाध्यक्ष र सचिवको सेटिङमा सिरहामा भारतीयले लिए नेपाली नागरिकता”

  1. ksp pyl Avatar
    ksp pyl

    तराईका जनप्रतिनिधिको मुख्य काम नै नागरिकताको लागि यस्तै नक्कली सिफारिश गरिदिने हो। पैसा पाएपछि यिनले देश पनि बेच्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *