प्रकृति लम्सालका बुवालाई प्रधानमन्त्रीको फोन- दुःखद घटना भयो, निष्पक्ष छानबिनको पहल जारी छ

रुपन्देही । भारतको उडिसामा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी परिवारलाई समवेदना दिएका छन् ।

लम्साल निवासमा पुगेका एमाले नेता महेश बस्नेतले प्रकृतिका बुवा सुनिल लम्सालसँग प्रधानमन्त्री ओलीसमक्ष फोन गराएका थिए ।

प्रधानमन्त्री ओलीले दुःखद घटनाले निकै पीडा दिएको बताउँदै निष्पक्ष छानबिनको पहल भइरहेको र स्वर्गीय प्रकृति लम्सालको न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता सरकारले जनाएको छ, सुरुवाती समयदेखि नै पहलकदमी लिएको छ’ उनले भनेका थिए ।

प्रकृतिका बुवा सुनिलले अब यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन भनेका थिए । उनले भने, ‘आगामी दिनमा यस्तो घटना सुन्न नपरोस् । दोषीलाई कडा कारबाहीका लागि सरकारबाट पहल होस् ।’

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले लम्साल परिवारसमक्ष भेटघाट गरेका छन् ।

सोमबार बिहान सिद्धार्थनगर नगरपालिका–८ बैंककलोनीस्थित लम्साल निवासमा पुगेर पूर्वमन्त्री बस्नेतले परिवारसँग भेटघाट गरेको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् ।

प्रकृतिको बुवा सुनिल लम्साल, आमा सुनिता शर्मा लम्साल र परिवारलाई भेटेर बस्नेतले समवेदना प्रकट गरेका छन् ।

पूर्वमन्त्री बस्नेतले घटनाबारे सरकारले सुरुदेखि नै पहलकदमी लिएको र प्रकृति लम्सालको मृत्युको घटना नेपालबाट पढ्न गएका सबै छोरीहरुको पीडा भएको बताए ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २१ वर्षियप्रकृति लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *