काठमाडौं । सोमबार नेकपा एससम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूका अलग अलग भेला सम्पन्न भए ।
भेला आसन्न स्ववियु निर्वाचनलाई एजेन्डा बनाउँदै आयोजना गरिए, कामचाहिँ शक्ति प्रदर्शनको । प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा माधव नेपालपक्षीय भेलामा संगठनकी इन्चार्ज रामकुमारी झाक्री प्रमुख अतिथि थिइन् ।
ललितपुरको बालकुमारीस्थित क्याथफर्ड इन्जिनियरिङ कलेजमा आयोजित झलनाथ खनालपक्षीय भेलाको प्रमुख अतिथि थिए, अखिल पृष्ठभूमिका पार्टी केन्द्रीय सदस्य हिरेन्द्रबहादुर शाही ।

भेला भव्यताका साथ सम्पन्न भएको माधव नेपालपक्षीय अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले बताए । त्यहाँ विवादपूर्व संगठनको कार्यालय सदस्य रहेका श्रेष्ठसहित राजन पराजुली, अशोक थापा, कल्याण दाहालसहितका नेता उपस्थित थिए ।
खनालपक्षीय भेलामा भने तत्कालीन कार्यालय सदस्य नरेश न्यौपाने, मिलन राई र उपत्यका कमिटी अध्यक्ष प्रदीप थापासहितका नेता थिए । तत्कालीन कार्यालय सदस्य दिनेशकुमार लो भने कतै गएनन् ।
खनालपक्षीय अखिल नेता नरेश न्यौपानेका अनुसार सोमबार उक्त पक्षले कीर्तिपुर र त्रिचन्द्र क्याम्पसमा स्ववियु केन्द्रित अलग्गै भेलाको आयोजना गरेको छ । कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस कमिटीका अध्यक्ष समीर गौतम र त्रिचन्द्र क्याम्पसमा विकासजंग शाहीको नेतृत्वमा भेला भएको उनले बताए ।
क्याथफर्ड इन्जिनियरिङ कलेजमा खनालपक्षीय विद्यार्थी नेता, कार्यकर्तालाई केन्द्रित गर्ने काममात्रै न्यौपानेले बताए ।
त्यहाँ क्याम्पस कमिटीको १० औं सम्मेलन एवं स्ववियु विशेष अन्तरक्रीया सम्पन्न भएको उनले बताए । क्याम्पस सम्मेलनबाट विजय लिम्बुलाई अध्यक्ष बनाइयो ।
प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा सम्पन्न माधव नेपालपक्षीय अखिल भेलाले स्ववियु निर्वाचन लक्षित परिचालन कमिटीहरु गठन गरेको उक्त खेमाका नेता अशोक थापाले बताए ।

उनका अनुसार, सातै प्रदेशमा संगठनका उपाध्यक्षको नेतृत्वमा निर्वाचन परिचालन कमिटी बनाइने गरी भेलाले म्यान्डेट दिएको छ । उक्त भेलामा पार्टी केन्द्रीय सदस्य भीम राई, माधव पन्त, येशु लामासहितको उपस्थिति थियो ।
भेला प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरिए पनि शंकरदेव क्याम्पस र पूर्वान्चल विश्वविद्यालयका नेताको उपस्थिति बढी थियो ।

Leave a Reply