पहिलोचोटि फिल्ममा लगानी गरेका ‘लाज शरणम्’का निर्माता भन्छन्,‘टिमको मेहनत देखेर लगानी गरेको हो’

काठमाडौं । केही समय विवादमा परी प्रचारप्रसार नै रोकिएको चलचित्र ‘लाज शरणम्’ सेन्सर बोर्डबाट पास भएसँगै अब यो चलचित्र पुरानै तोकिएको मितीमा रिलिज हुने भएको छ। अर्थात यो चलचित्र महाशिवरात्रीको अवसर पारी यहीँ फागुन १४ बाटै रिलिज हुनेछ। चलचित्रका निर्माता नवीन श्रेष्ठका अनुसार उनले चलचित्र निर्माणका लागि कुनै पनि सम्झौता गरेका छैनन। उनी बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताउँछन् ।

रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको चलचित्रमा यो पहिलो लगानी हो । यसअघि उनले कुनै पनि चलचित्रमा लगानी गरेका थिएनन् । ‘लाज शरणम्’को टिम र मेहनत देखेर आफुले यो क्षेत्रमा लगानी गर्न तयार भएको श्रेष्ठ सुनाउछन। उनी भन्छन,‘टिमको मेहेनतले म प्रेरित भएको हो। अब यो क्षेत्रमा प्रवेश गरेपछि म पछि हट्दिनँ । चलचित्रमा लगानी गरिरहने हो।’

रियलस्टेटको व्यापार केही सुस्ताएको बेला चलचित्रमा आए पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ । आफू चलचित्र क्षेत्रमा आउनुको अर्को पनि कारण रहेको नवीन बताउँछन् । उनी भन्छन,‘चलचित्र विदेशबाट पैसा ल्याउने एक माध्यम पनि हो । विदेशी चलचित्रले जसरी नेपालबाट पैसा लैजान्छन्, त्यसैगरी विदेशबाट हामीले पनि पैसा ल्याउनुपर्छ। चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ । जसका लागि हामीले राम्रो चलचित्र बनाउनुपर्छ ।’

नेपाली चलचित्रलाई डलर भित्र्याउने माध्यमका रूपमा कलाकार, निर्माता र सरकार सबै मिलेर अगाडि बढाउनुपर्नेमा उनको जोड छ । चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर पर्सी बुधबारबाट प्रदर्शनमा आउँदैछ । तर अहिलेसम्म निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेका छैनन।

चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन। चलचित्रको मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । धुर्मुसका अलावा चलचित्रमा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *