रुपन्देही । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा बस्ती पातलिँदो छ, अधिकांश सम्पन्न युवा उमेरका शहर र विदेश पसेपनि केही समययता सामाजिक असुरक्षा बढेकोले त्यहाँ रहेकालाई थप चिन्ता बढाएको छ ।
प्यूठानको माण्डवी गाउँपालिका–२ रातापानीमा रामबहादुर र हुकुमा परियार दम्पतीको हत्या उनकै भतिजाद्वारा भएको खुलेको छ । फागुन १० गते शनिबार दिउँसो रातापानीका ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियार घरमै क्षतविक्षत अवस्थामा मृत भेटिएका थिए ।
परिवारमा दाइको छोरा र पहाडमा सबैभन्दा नजिकको छिमेकीबाट भएको यो कु्रर हत्याका विषयमा जानकारी दिन प्रहरीलाई समेत अफ्ठेरो परेको थियो । घटनालगत्तै त्यहाँ पुगेको प्रहरीले दुई दिनको अनुसन्धानमा धेरै प्रमाण जुटाएर रामबहादुर–हुकुमाको भतिज ३४ वर्षीय पङ्कज परियारलाई पक्राउ गरेको जनाएको छ ।
दुई दिनदेखि घटनाको अनुसन्धान गर्न घटनास्थल बसेका जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी दिपेश बस्यालका अनुसार घनले दम्पत्तिको टाउको छियाछिया बनाइएको थियो । अझै रहस्यमय कुरा त उनै पङ्कजले टेलिफोन गरेर प्रहरीलाई आफ्नो गाउँमा यस्तो भएको भनेर सूचना दिएको खुलेको छ ।
डिएसपी बस्यालका अनुसार, पङ्कजले आफ्नै काका र काकीको हत्या गर्नुमा विवाह सम्बन्धी विषय जोडिएको हो। करिब एक हप्ता अघि मात्रै पङ्कजलाई परियार दम्पतीले अहिलेसम्म पनि विवाह गर्न नसकेको ‘थारो’ भनेका रहेछन् ।
त्यसैको इगोमा हत्या गरेको प्रहरीले अनुमान गरेको छ । सामान्य विषयलाई इगो बनाएर यो तहको क्रुर घटनाका प्रकृतिले प्रहरीलाई समेत हैरानी परेको छ ।
माण्डवी गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रकाश वलीले ती दम्पतीको हत्या भतिजाले नै गरेको धेरै आधार देखिएको र मदिराकै कारण यस्तो भएको सबैले अनुमान गरेको बताए ।
‘पूरै विवरण त प्रहरी अनुसन्धानमा खुल्ला नै, उनीहरु सबैभन्दा नजिकका छिमेकी हुन्, दुवै बसेर मदिरा खाने विवाद गर्ने गरेको पहिले पनि कुरा आएको थियो, प्रहरीको प्रारम्भिक प्रतिवेदनले पनि त्यो देखाएको छ, अनुसन्धानका लागि आएका कुकुरहरूले पनि मृतकको घर, आरोपीको घर पत्तो लगायो’, उनले भने ।
गत माघ ३० रूकुमपूर्वको भूमे गाउँपालिका– ४ साकिमका ५३ वर्षीय चन्द्रसिंह पुनले गते धारिलो हतियार प्रहार गरी आफ्नै छिमेकी ढाँटी बुढा र उनका ८ महिने नातीको हत्या गरे । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रहेको रुकुमपूर्वको दुर्गम गाउँमा पुन र बुढा सबैभन्दा नजिकका छिमेही हुन् ।
चन्द्रसिंहको हत्या गरेर खुकुरी नचाउँदै गाउँबाट प्रहरी चौकी जान हिंडेको बताए तर प्रहरीको गाडी आएको देखेर भाग्दै गर्दा भीरबाट लडेका पुनको पनि आफ्नै हातमा बोकेको खुकुरीको लागेर उनको मृत्यु भएको त्यहाँको घटनाको अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।
गाउँमा सबैभन्दा नजिकको छिमेकीबाट वृद्धसहित नाबालकको हत्या भएपछि साकिम गाउँ विक्षिप्त मात्रै भएको छैन त्रसिद भएको छ । जिल्ला प्रहरी कार्यालय रूकुमपूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव खरेलले आफ्नै छिमेकीबाट भएको यस्तो घटनाले स्थानीयलाई त्रसिद बनाउनु स्वभाविक भएको र यसबाट सबैलाई सचेत बनाएको बताउँछन् ।
‘यो घटना आवेशमा भएको देखिन्छ, हत्या गर्ने पुनको कुनै पूर्वयोजना भएको पनि भेटिएन, यस्ता डरलाग्दो अपराधका कारण गाउँ–समाजले असुरक्षित महसुस गरेको छ । आपराधिक मानसिकताको सुषुप्त पाटो कति बेला र कहाँ सक्रिय भएर डरलाग्दो रूप लिन्छ, भन्न नसकिने रहेछ, सबै क्षेत्रमा यसले सचेत हुनुपर्ने देखायो’, खरेलले भने ।
भुमे गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष श्यामप्रसाद बुढाले आफ्नै छिमेकमा भएको यस्तो घटनाले सिंगो गाउँलाई शोकमग्न र त्रसिद बनाएको बताए ।
‘खै चन्द्रसिंहलाई के भयो, मदिरा खाने भएपनि गलत काम धेरै गरेको सुनिएको थिएन, अनौठो डरलाग्दो घटना घटाए, बजै र नातीको हत्यापछि उनले आत्महत्या गरेको नै हुनसक्छ, उनी मृत भेटिएको ठाउँ नजिकै खुकुरी भेटिएको थियो, हत्यापछि भागेर बाटोमा जानेसमयमा छिमेकीसँग आफूले दुई जनाको हत्या गरेको र प्रहरी चौकी जान लागेको बताएका रहेछन्’, उनले भने, ‘ढाटीको श्रीमानसहित परिवार त्यो ८ महिनाको बच्चाको बुवाआमा पीडामा छन्, गाउँमा यस्तो डरलाग्दो घटना घटाए सबैलाई आश्चर्य र त्रसिद बनाएको छ ।’
‘उनीहरु बीचको कुनै विवाद बाहिर आएको थिएन, पुन र बुढा अनि मेरो घरको दुरी एक मिनेटको फरकमा पर्दछ’, वडाध्यक्ष बुढाले भने, ‘सामान्य परिवारमा एकजनाको सनकले गर्दा यस्तो अवस्था आयो ।’
माघ तेस्रो साता गुल्मीको मालिका गाउँपालिका वडा नं ८ का ६० वर्षीय लालबहादुर घर्ती आफ्नै छोरा डम्बर घर्तीबाट मारिए । घरायसी कुरामा सामान्य विवाद हुँदा छोरा डम्बरले बुवाको हत्या गरेका थिए ।
घर नजिकैको बारीमा ढुंगाले पुरेको अवस्थामा २ दिनपछि प्रहरीले लालबहादुरको शव फेला पा¥यो । मदिरा सेवन गरेपछि बाबुछोराबीच विवाद हुँदा बारीमा फालेर कुटपिट गरेपछि हत्या गरेर पुरेको छोराले प्रहरीसमक्ष स्वीकारेका छन् ।
माघ महिनामा पाल्पाको तानसेन नगरपालिका– वडा नं १४ साँचामा बस्दै आएका रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ५२ वर्षीय रूद्रबहादुर बुढाथोकी डेरामा मृत भेटिए । मजदुरी गर्ने बुढाथोकीको कसरी हत्या भयो भनेर प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गर्दा ३२ वर्षीय घरबेटी माधव विष्टले हत्या गरेको खुल्यो । जिप्रका पाल्पाका प्रमुख एसपी नरेन्द्र चन्दले घरबेटीले नै हत्या गरेको खुलेको र त्यसको मुद्दा चलिरहेको बताए ।
‘पाल्पामा केही समययता तीनवटा यस्ता गम्भीर प्रकृतिका घटना देखिए, ख्याहामा अविवाहित युवतीको क्रर हत्या भयो, रैनादेवी छहरामा श्रीमानले श्रीमतिलाई हानेर मारे, तानसेनमा घरवेटीले नै मारे, धेरै मदिरामै कारण यस्ता घटना भएका छन्’, उनले भने ।
यी प्रतिनिधिमूलक घटना हुन् । पहाडी क्षेत्रमा अहिले यसैपनि बस्ती पातलो छ । काम गर्न सक्ने उमेर र क्षमताका मान्छे सरकारी जागिर भएका बाहेक अरु भेटिदैनन् यस्तो अवस्थामा बढ्दै गएका घटनाले यहाँको सुरक्षा चुनौती बढेको छ ।
प्रदेश प्रहरी कार्यालय लुम्बिनीका अनुसार प्रदेशका पहाडी जिल्लामा पछिल्लो केही समययता १० वटा यस्ता हत्याका घटना भएका छन् । पाल्पामा १, गुल्मीमा २, अर्घाखाँचीमा १, प्युठानमा ३, रोल्पामा १ र रुकुमपूर्वमा १ घटना भएका हुन् ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीले समाजमा अरूको देशासिकी, आपसी मनमुटाव तथा बेमेल, सम्पत्तिको विषय तथा परिवारका एक सदस्यबाट भएको गलत क्रियाकलाप अर्को सदस्यले थाहा पाएपछि सो व्यक्तिमार्फत बाहिर नजाओस् भनेर पनि हत्यासम्मका घटना हुने गरेको बताउँछन् ।
‘श्रीमान–श्रीमतीले एकअर्काको चरित्रमाथि शंका गर्दा पनि त्यसले हत्या र आत्महत्यासम्म निम्त्याउने गरेको छ । नजिकका दाजुभाइ, नातेदार र आफ्नै सन्तानबाट हत्या हुनुमा आपसी असमझदारी, चरित्रमा शंका, दाइजो विवाद, सम्पत्ति विवाद कारण देखिन्छ ।
पारिवारिक मनमुटाव, घरेलु हिंसा, बालविवाह, कुटपिट, देखासिकी, पश्चिमा देशको प्रभाव, ‘लिभिङ टुगेदर’, व्यभिचार र सामाजिक सञ्जालले अपराध बढाएको, बढ्दो सामाजिक सञ्जाल प्रयोगले मानिसमा एक प्रकारको एन्जाइटी बढाउने, त्यसपछि निराशा उत्पन्न भएर आत्महत्या गर्नेसम्मका घटना बढ्दो छ’ उनले भनेका छन् ।
पूर्वएसपी विक्रमसिंह थापाले हिजो गाउँमा रहेको सामाजिकीकरणको अवस्था अहिले कमजोर बनेकाले यस्ता घटना बढेको विश्लेषण गर्दछन् ।
‘क्राइम अहिले प्रविधिले पनि बढाएको हो, पहिले हुने क्राइम र अहिलेका धेरै फरक छन्, अहिले सन्जालबाट हेरेर गलत काममा लागेका धेरै उदाहरण छन्, खासमा बढ्दो बेजोरगारी र निरासा यसको जड हो’ उनले भने, ‘सामाजिक सन्जाल हेरेर क्राइममा जोडिएका, यो सिकेका धेरै छन्, यसमा धेरैजसो बेरोजगारहरु नै बढी छन् ।’ थापाले सरकारले यसलाई कम गर्न विशेष योजना ल्याउनुपर्ने बताउँछन् ।

Leave a Reply