रुपन्देही । कपिलवस्तुबाट भारत लैजान लागेको करिब १५ किलो चरेशसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको विशेष टोलीले नेपाल भारत सीमा क्षेत्रको दशगजाबाटै चरेशसहित ३ जनालाई नियन्त्रणमा लिएको बताएको छ ।
प्रहरीले रोल्पा थवाङ गाउँपालिका ५ कि प्रेमसरी रोका, रुकुम पूर्व भूमे गाउँपालिका २ की सरिता पुनमगर तथा शिवराज ९ बनियाभार बस्ने सुकलाल घर्तीमगरबाट १४ किलो ७ सय ग्राम चरेश बरामद गरेको थियो । चरेश आउँदै गरेको विशेष जानकारीपश्चात् सक्रिय बनेको प्रहरीले सीमा क्षेत्रबाटै चरेशसहित तस्करीमा संलग्नलाई समेत पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार विशेष सुराकी पाएलगत्तै टोलीलाई सीमा क्षेत्रमा खटाइएको थियो ।
“३ जनाले कम्मरमा सेतो कपडाले बाँधेर भारततर्फ जाँदै गर्दा नियन्त्रणमा लिई खानतलासी गर्दा चरेश भेटिएको थियो” निरीक्षक खत्रीले भने । पक्राउ परेकामध्ये प्रेमसरी रोकाबाट ६ किलो, सरिता पुन मगरबाट साढे ५ किलो र सुकलाल घर्तीबाट ३ किलो २ सय ग्राम गरी जम्मा १४ किलो ७ सय ग्राम बरामद भएको थियो । अनुसन्धानका क्रममा प्रेमसरी रोकाले उक्त चरेश ७ लाखमा खरिद गरि ल्याएको बयान दिएको प्रहरी भनाइ छ ।
पक्राउ गरेकामध्ये एक जना कारोबारी रहेको र बाँकी २ जना भरिया रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले चरेश कारोबारी पक्राउ पर्नु प्रहरी सफलता भएको बताए ।
“यसअघि भरिया मात्र पक्राउ पर्दथे अहिले कारोबारी पक्राउ पर्दा केही नयाँ तथ्य खुल्न सक्छ” भट्टले भने । सीमा क्षेत्रबाट हुने लागू औषध नियन्त्रणमा कपिलवस्तु प्रहरीले विगत ३ महिनादेखि विशेष अभियान सञ्चालन गरिरहेको छ ।

Leave a Reply