रुपन्देही। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन ९एमएसएस०मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि सेकेण्डरी बी लेभल अस्पतालहरूको उक्त मूल्याङ्कनमा देशभरका अस्पतालहरूमध्ये सबैभन्दा बढी ८९ अङ्क प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो ।
गतवर्ष पनि ८८ अङ्क पाएर पाएर प्रथम भएको थियो । त्यो भन्दाअघि ८० र ७६ अङ्क पाउँदा पनि प्रथम भएको अस्पतालका प्रशासन प्रमुख राजन केसीले बताए ।
अस्पतालमा आइतबार आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले सेवालाई थप बिस्तार र विशिष्टीकृत गर्दै लैजान आग्रह गरे । प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट व्यवस्थापनमा तयार रहेको उल्लेख गरे । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले प्रदेशको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउने गरी प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मूल्याङ्कनमा प्राप्त अहिले नतिजा पर्याप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे । श्रेष्ठले न्यूनतम सेवा मूल्याङ्कनका मापदण्ड अनुसारका आधारभूत कुराहरूको व्यवस्थापनमा सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले नीति बनाउँदा कार्यान्वयनको पाटोलाई समेत ध्यान राख्न आग्रह गरे । यसैगरी अस्पतालको निर्माणाधीन भवनबाट स्वास्थ्य सेवा सञ्चालनका लागि अहिलेदेखि नै सञ्चालन कार्यविधि (ओएमए) निर्माण गर्नुपर्नेमा जोड दिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। इन्द्र ढकालले हालसम्म भएका कार्यप्रगति र भावी योजनाबारे जानकारी गराए ।
अस्पतालमा सेवा बिस्तार कार्यक्रम अन्तरगत गाइनोतर्फ डेडिकेटेट अपरेशन थिएटर सञ्चालन, डिजिटल पेमेन्ट सेवा, एसएमएसमार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा बिस्तार, चौबिसै घण्टा बिमा सेवा कार्यक्रम, सामाजिक सेवा इकाई सञ्चालन लगायतका कार्यहरू भएको जानकारी गराए । वेस्ट म्यानेजमेन्टका लागि अटोक्लिप मेशिनको प्रयोग तथा प्रशोधन गरी बाहिर पठाउने व्यवस्था, आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु लगायतका काम भइरहेको बताए । अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भइरहेको उल्लेख गरे ।

Leave a Reply