लैङ्गिक अल्पसंख्यकहरूको विश्व भेलाको तयारी, आर्थिक संकटमा भोजभतेर गर्न लागेको भन्दै समुदायबाटै विरोध

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्ससंख्यकहरूको एसियाली सम्मेलन नेपालमा हुने भएको छ । इन्टरनेशनल लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स एन्ड इन्टरसेक्स एसोसिएन (इल्गा) को आयोजनामा काठमाडौंमा कार्यक्रम तय गरिएको हो ।

स्थानीय आयोजक ब्लू डाइमण्ड सोसाइटीका सभापति उमेश पाण्डे (यूमिसा) का अनुसार कार्यक्रममा १५० बढी देशका ६०० भन्दा धेरैको जमघट हुनेछ । नेपाल प्रेससँग पाण्डेले भने, ‘२३ फेब्रुअरी (फागुन ११) मा आगन्तुकहरू आउने कार्यक्रम छ । २४ बाट मिटिङ भएर कार्यक्रम फेब्रुअरी २८ (फागुन १६) सम्म हुनेछ ।’

कार्यक्रममा सहभागी हुनेलाई स्वागत धमाधम भइरहेको सोसाइटीकी कार्यकारी निर्देशक मनीषा ढकालले बताइन् ।

बजेटबारेको जिज्ञासामा उनले भनिन्, ‘यो कार्यक्रमको सबै बजेट आयोजककै भएकोले यसबारेमा बुझ्न आयोजकलाई नै सोध्नुपर्ने हुन्छ ।’

नेपाल प्रेसको लागि इल्जाको औपचारिक वेबसाइटमा सोधिएको प्रश्नको जवाफ यो समाचार पार्दासम्म आएको छैन । यद्यपि कार्यक्रमका जानकारहरूले एक मिलियन अमेरिकी डलरभन्दा धेरैको लागत रहेको सुनाए । नेपालका लैङ्गिक तथा यौनिक अल्संख्यकहरूको क्षेत्रमा काम गर्नेहरूले संकटको बेला महँगो कार्यक्रम गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

गत जनवरी २० मा अमेरिकाको राष्ट्रपति भएर आएका डोनाल्ड ट्रम्पले अमेरिकी विदेशी सहायता बन्द गर्ने र दुई लिङ्ग (पुरुष र महिला) लाई मात्रै मान्यता दिने घोषणा गरेसँगै आएको कार्यक्रम भएकोले यो कार्यक्रममा विरोधका स्वर सुनिएका छन् ।

यस क्षेत्रका एक अभियानकर्मीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘नेपालमा आउँदै गरेको फण्ड रोकिएर समस्यामा छ समुदाय । यही बेला यस्तो महँगो भोजभतेरको कार्यक्रम गर्नु राम्रो होइन ।’

यस्तै सोही समुदायमा काम गर्दै आएका अभियानकर्मी सुरेन्द्र पाण्डेले पनि सरोकारवालालाई अलग गरेर कार्यक्रम गर्न लागेको भन्दै असन्तुष्टि जनाए । पाण्डेको भनाइ यस्तो छ-

एसियाभरका यौनिक तथा लैंगिक अलपसंख्यकहरूको सम्मेलन काठमाडौंमा हुन गइरहेको छ । सहभागिताका लागि संस्थागतरूपमा मायाको पहिचान नेपाल संस्थाबाट प्रतिनिधित्वको जानकारी पाइएको थियो । मायाको पहिचान नेपालको पहलमा नेपाल दक्षिण एसियामा पहिलो समलिङ्गी विवाह दर्ता गर्ने देश बनेको सर्वविदितै छ । मायाको पहिचान नेपाल नाम नयाँ भए पनि काम र यसका कार्यकारी निर्देशक जसले ब्लू डायमण्ड सोसाइटी स्थापना गर्नुभएको थियो ।

एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्त हुनुहुन्छ । संस्था फरक भए पनि हामीले गर्दै आएको काम विगत दुई दशकसम्म हुन सकिरहेको थिएन । समलिङ्गी विवाह महत्वपूर्ण हो भन्ने विश्वका यौनिक तथा लैंगिक अल्पसंख्यकले मानि आएका छन् । तर, इलगा एसिया जस्तो गरिमाय संस्थाले बेवास्ता गर्दा हामी समलिङ्गी तेस्रोलिङ्गी अन्तरलिङ्गी समुदाय जो भुइँमा रहेका समुदायको अधिकारका लागि संघर्षशील रहँदै आएकाहरूलाई दु:ख लागेको छ । जसले पुरुष र महिलाभन्दा भिन्न पहिचानको आन्दोलन सुरू गर्‍यो उसैलाई बाहिर राखेर सम्मेलन आयोजना हुनुमा कसले के कस्तो भूमिका निर्वाह गरे, त्यो भोलिका दिनमा पक्कै बाहिर आउने नै छ ।

तर, संस्थागत अभियान सुरू गर्ने र पहिचानसहितको नागरिकतादेखि वैवाहिक अधिकारलाई कानूनी रूपमा स्थापित गर्ने काममा लागेका समुदायका अभियन्ताहरूलाई बाहिर राख्नु विडम्वना हो । संविधानमा अधिकार लेखाउने, त्यो अनुसार कानून निर्माणका लागि पहल गर्ने, नेपालमा इन्द्रेणी पर्यटन भित्र्याउन पहिलो अन्तर्राष्ट्रिय इन्द्रेणी सम्मेलन गर्ने यस मायाको पहिचान इल्गा एसियाको सदस्य पनि हो । हामीलाई जानकारी भएअनुसार इल्गा एसियाले नयाँ नेतृत्व समेत चयन गर्दैछ । के नेपालका सीमित टाठाबाठा भनाउँदाहरूलाई मात्र सहभागी गराएर हामीलाई मताधिकारबाट समेत वञ्चित गराएर कुन समुदायको पक्ष पोषणका लागि सम्मेलन हुन लागेको हो ? प्रश्न गर्न मन लागेको छ । कृपया जान्ने बुझ्नेले बुझाइदिनुभए आभारी हुने थियौं ।

सुनिलबाबु पन्तले इल्गाको कार्यक्रमबारेमा मिश्रित प्रतिकृया दिए । उनले भने, ‘नेपालमा एसियाली स्तरको कार्यक्रम हुनु राम्रो कुरा हो । तर, अहिले विश्वभर यो समुदायमा आर्थिक संकट छ । यस्तो बेलामा महँगा कार्यक्रमहरूमा खर्च हुने पैसा ग्रासरुट्समा काम गर्ने संस्थाहरूलाई दिइएको भए समुदायलाई थप सहयोग पुग्ने थियो ।’

पन्तले नै स्थापना गरेको संस्था यो ब्लू डाइमण्ड सोसाइटी । र, अहिले त्यही संस्थाको कार्यक्रमले समुदायको खास मर्म नबुझेको उनको टिप्पणी छ ।

के हो इल्गाको एसियाली सम्मेलन ?

इन्टरनेसनल लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स एन्ड इन्टरसेक्स एसोसिएन (इल्गा) लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुको विश्व संगठन हो । त्यही संगठनको तर्फबाट एसियामा विभिन्न महादेशस्तरीय सम्मेलनहरू हुँदै आएको छ । सबैभन्दा पहिले भारतमा इल्जाले एसियामा मात्रै १०० भन्दा धेरै संस्थाहरुको प्रतिनिधित्व गर्ने आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ ।

सबैभन्दा पहिलो इल्गा एसियाको सम्मेलन सन् २००२ मा भारतको मुम्बईमा भएको थियो जहाँ ८० जनाको मात्रै प्रतिनिधित्व थियो । त्यसपछिका विभिन्न सम्मेलन क्रमशः २०१३ मा थाइल्याण्डको बैङ्ककमा, सन २०१५ मा ताइवानको ताइपेइमा भएको थियो । यस्तै, सन् २०१९ मा दक्षिण कोरियाले सिओलमा, सन २०२२ मा भियतनामको होचि मिन्ह सहरमा भएको थियो । सन् २०२५ को संस्करण नेपालमा हुन लागेको हो । इल्गा सम्मेलन विवादरहीत भने छैन । धार्मिक अतिवादको कारणले यो सम्मेलन रोकिएको पनि उदाहरण छ । सन २०१० मा इण्डोनेसियाको सुरावया सहरमा तय भएको सम्मेलन स्थगन भएको थियो । स्थगनको कारण इस्लामिक डिफेन्डर फ्रन्ट नामक धार्मिक दस्ता र अरु विपक्षीहरूको कारणले उक्त सम्मेलन रद्ध भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *