कांग्रेसमा महाधिवेशनको बेमौसमी जश्न- एकपटक यसैपटक भनेका शेखरलाई १२ प्रश्न

(डिस्क्लाइमरः उहिलेका बुढापाकाहरूले आज पर्यन्त पनि कुनै उत्सव वा राम रमाइलो गर्नेहरूलाई यस्न मनायौ भन्ने गर्छन् । प्राचीन फारसी-पर्सियन समयको यश्न शब्दलाई भारतमा मुगल साम्राज्यको उदयसँगै जश्न भन्न थालियो र उर्दु भाषाको जश्न शब्दले धुमधामको हल्लाखल्ला, समारोह वा सामाजिक राजनीतिक उत्सवको अर्थ दिन्छ । अचेल देशको सबैभन्दा पुरानो र ठूलो पार्टी नेपाली कांग्रेसका सार्वजनिक मञ्चदेखि आन्तरिक भेला, बैठक र चिया पसलदेखि मदिरालयसम्म १५ औं महाधिवेशनको जश्न देखिन र सुनिन थालिसकेको छ । जबकी महाधिवेशन कम्तीमा २ वर्षपछि र ढिलो हुँदा २०८४ को चुनावपछि पनि सभापति शेरबहादुर देउवाले धकेल्दिन सक्छन् भन्ने यथार्थ यी जश्न मनाउनेहरूलाई पनि थाहा छ । यद्यपि महाधिवेशन सार्न नदिन महामन्त्री गगन थापाहरू सचेत छन् र त्यो अवस्थामा पुग्न नदिने सामर्थ्य पनि राख्छन् । निर्धारित मितिभन्दा १ दिन पनि ढिलो महाधिवेशन गर्ने कुरामा गगन सहमत हुन्नन ।)

तीनै तहका सरकारमा आजका मितिमा नेपाली कांग्रेस सामेल छ । आसन्न ०८४ को आम निर्वाचनलाई ‘सत्ता र प्रतिपक्ष’ दुवैले जीवन मरणको सवाल बनाएको देखिन्छ । सत्तारुढ नेकपा एमाले यतिबेला ‘जरा’ अभियान लिएर वडा तहसम्म पुगेको छ ।

विपक्षी माओवादी केन्द्र ‘माओवादीले जितेको स्थानीय तह अलग्गै चिनिनु पर्ने’ बताउँदैछ । नयाँ भनिएका ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ लगायत पनि यतिबेला ‘कांग्रेस, एमाले, माओवादी’ जस्ता परम्परागत दललाई ‘देखाईदिने’ भन्दै छन् । ०८४ मा हुने भनिएको ‘आम तथा स्थानीय निर्वाचन’ भोलि नै आए झैं गरी दलहरू निर्वाचन केन्द्रित कार्यक्रम लिएर जनताबीच गएकै समय कांग्रेसलाई भने ‘कहिले गर्ने भन्ने ठेगान नै नभएको’ महाधिवेशनले छपक्कै छोपेको छ ।

महाधिवेशनको चर्चा र गुटहरूका बैठक हेर्दा लाग्छ, कांग्रेस महाधिवेशनको उद्घाटनको पूर्वसन्ध्यामा छ । नीतिमाथि बहस नै नगरी नेतृत्वका लागि कांग्रेसका समूहहरूमा यति ज्यादा तछाड्-मछाड् किन भन्ने प्रश्नको उत्तर खोज्ने प्रयत्न यो आलेखमा गरिएको छ ।

गुटगट छलफल

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ‘११ भाइ’ पार्टी सभापति शेरबहादुर देउवा निवासमा पुगेलगत्तै महाधिवेशनले कांग्रेसलाई छपक्कै छोपेको रूपमा कार्यकर्ताले कांग्रेसलाई बुझ्न थाले । जब सिटौला नेतृत्वको टोली सभापति देउवा निवासमा पुगी आफैँ मध्येबाट उत्तराधिकारी तोकिनु पर्ने दलील पेश गरे, तब कांग्रेस वृत्तमा महाधिवेशन केन्द्रित राजनीति तरंगित बन्न पुग्यो ।

राजनीतिका चतुर खेलाडी देउवाले ‘उत्तराधिकारी तोक्ने कुरा सहमतिमै हुने’ बताएर टोलीलाई बूढानीलकण्ठ दरवारमा ‘कफीपान’ गराउँदै त पठाए, तर यतिले मात्र चित्त नबुझी संस्थापन पक्षका भनेर चिनिने नेताहरू यतिबेला सामूहिक र एक्लाएक्लै निजी निवासमा आफू समर्थक भेला गराउन व्यस्त छन् । सत्ता र पार्टी राजनीतिमा ‘चलाख’ देउवाले ‘शक्तिसँग मात्र सम्झौता गर्दा ज्यादा उपलब्धि हासिल हुने’ कुरा नबुझ्ने कुरै भएन ।

११ भाइको बैठकको तरंग सेलाउन नपाउँदै संस्थापनइतरका नेता डा. शेखर कोइरालाले पनि बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा भेला आयोजना गरे । र, रणनीतिक छलफलमा जुटे । सरकार र पार्टी संस्थापनको कमजोरीमा खेलेर चुनावी रणनीतिमा व्यस्त कोइरालासामू भने महाधिवेशनमा उठाउन र कार्यकर्ताले पत्यारयोग्य ठान्ने एजेण्डा भने कमै छ ।

‘एक पटक, यसै पटक’ भन्नुभयो हिजो । कार्यकर्ताले विवेकको मत दिए । आज फेरि चुनाव लड्छु भन्दै हुनुहुन्छ । आज पुनः लड्नु नै थियो त, हिजो ‘एक पटक, यसै पटक’को नारा किन ?

‘पार्टी संस्थापन र इतर’ दुवै ‘गुटगत समूह’ भन्दा बाहिर रहेर ‘कार्यकर्ता र जनता’ तहमा पुग्नका निम्ति मैदानमै ओर्लिएका महामन्त्री गगनकुमार थापा समूह भने यतिबेला हेर्दा तुलनात्मकरूपमा अलिक सानो देखिन्छ । तर, कार्यकर्ता र जनताकाबीच प्रभावकारी रूपमा भने यही समूह छ ।

पार्टी जन्मदादेखि नै सँगै ल्याएको ‘गुटगत’ राजनीतिले कमजोर कांग्रेसले ‘जनताको एजेण्डा पनि सम्बोधन गर्न नसक्ने र वामपन्थी तथा नयाँ भनिएकाहरूको बेग पनि रोक्न नसक्ने’ भएकाले कांग्रेस गुटगत राजनीतिबाटमाथि उठ्न पर्ने बुझाइसहितको रणनीति ‘गगन’ हरूले अख्तियारी गरेको देखिन्छ ।

जनता र कार्यकर्ताबीच पनि कांग्रेसको यतिबेलाको प्राथमिकता महाधिवेशन केन्द्रित नभई ‘आफैँ सम्मिलित तीनै तहका सरकारको क्षमता वृद्धि’को बहस समेत थापाले अघि बढाएका छन् । संस्थापन र संस्थापन इतरलाई बेमौसममै महाधिवेशनले छपक्कै छोप्दै गर्दा ‘गगन’ हरू भने महाधिवेशनको एजेण्डा हाललाई थाती राखेर ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्दै कांग्रेसलाई जनतामा स्थापित गर्ने ‘युवा अभियान’ चलाइरहेछ ।

जुन अभियानले कांग्रेसभित्र ‘एकेडेमिक बहस’ समेत प्रारम्भ गरेको छ । यही समय पार्टी सभापतिका रूपमा आफूलाई प्रस्तुत गरेका डा. शेखर कोइराला अघिल्लो महाधिवेशनमा समेत ‘एक पटक, यसै पटक’ भन्ने नारासहित चुनावी प्रतिस्पर्धामा थिए । डा. शेखरले १४औं महाधिवेशनयता अख्तियार गरेका रणनीति विवादरहित बन्न सकेनन् । तसर्थ डा. शेखरसामु केही प्रश्नहरू ‘कार्यकर्ता तथा जनता’ तहबाट उठेका छन् । जसको जवाफ कोइरालाबाट अपेक्षाकृत छ ।

डा. शेखरसँगको १२ सवाल

‘एक पटक, यसै पटक’ भन्ने नारा दिएर १४ औं महाधिवेशनमा चुनावी मैदानमा ओर्लिएका नेता कोइरालालाई पार्टी राजनीतिमा कांग्रेस कार्यकर्ताले र सत्ता राजनीतिमा सिंगो मुलुकले परीक्षण गर्न पाएको त छैन । उहाँ कांग्रेसको सभापति र मुलुकको प्रधानमन्त्री बन्नु भयो भने उहाँको परीक्षण सिंगो राष्ट्र र पार्टीले लिने नै छ । तर, देउवासँग पराजित नेता कोइरालाले ‘पार्टी र सत्ता’ राजनीतिमा यो बीचमा देखाउनुभएको दोहोरो भूमिकाको भने चर्चा नगरी रहन सकिन्न ।

डा. कोइरालासँगको सवाल नं. १

‘कांग्रेस र माओवादी’ सम्मिलित सरकार निर्माण भएर काम गरिरहेकै समय कोशी प्रदेशमा नेता कृष्णप्रसाद सिटौलानिकट नेता उद्धव थापा विजयी बने । कोइराला पक्षबाट प्रतिस्पर्धामा केदार कार्की थिए, उनले ९ मत प्राप्त गर्दै गर्दा अर्का नेता अमृत अर्यालले २ मत पाए । सो समय गठबन्धनको तर्फबाट सभामुखसहितलाई समावेश गरेर प्रदेश प्रमुखसमक्ष मुख्य मन्त्रीको दाबी ‘थापा’ ले गरेकोमा असन्तष्टि देखाउँदै नेता कोइरालाले स्टाटस लेखे र भने- कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुन जान्छ । तर, उनै कोइरालाले संवैधानिक सर्वोच्चताको विपरीत भनिएको उद्धव थापा सरकारमा आफूले भाग खोजी रामकुमार खत्रीलाई मन्त्री बनाउन दबाब दिए । यो अपरिपक्वपनको जवाफ आज पनि कोइरालाबाट कार्यकर्ताले खोजी रहेछन् ।

तपाईँले निर्माण गर्नुभएको भनिएको टीममा केही नयाँ जोगीहरू अनुहार नै छोपिने गरी खरानी घसेर पार्टी महामन्त्रीको खिलाफमा विष बमन गर्दैछन् । संसद भवन बाहिर उभिएर आफ्नो महामन्त्रीको धज्जी उडाउने नयाँ जोगीहरूबाट जोगिनुभएन भने भोलि तिनीहरूहरूले तपाईँलाई कमण्डलु बोकाउने छन् ।

सवाल नं. २

सम्भवतः ‘शेखर भर्सेस सिटौला’ भएकै कारण हुनुपर्दछ, एमालेसँग मिलेर कोशीकै मुख्यमन्त्रीमा कार्कीलाई बनाउँदै सिटौलानिकट थापालाई कोइरालाले हटाई छाडे । राजनीतिमा जोडिएर आउने नैतिक प्रश्नबारे डा. शेखरलाई सिकाइ रहनु पर्ने विषय होइन । तर, सरकार कांग्रेसले माओवादीसँग बनाएकै समय एकाएक एमालेसँग मिलेर पार्टी नीतिविपरीत केदार कार्कीलाई मुख्यमन्त्री बनाएको र मुख्यमन्त्री बनाउँदाको हस्ताक्षरको मसी सुक्न नपाउँदै भोलिपल्टै ‘म माओवादीसँगको सत्ता सहकार्यप्रति प्रतिवद्ध छु’ भनेर जारी त्यो कालखण्डको बक्तव्यको पुष्ट्याइँ कार्यकर्ताले खोजी रहेछन् । जसको सार्वजनिकरूपमै जवाफ अपेक्षित छ ।

सवाल नं. ३

‘एमालेसँग कांग्रेसको सत्ता साझेदारी हुँदा माओवादी ठिक र माओवादीसँग कांग्रेसको सत्ता साझेदारी रहँदा एमाले ठिक’ भनेर तपाईँले देख्नु भएझैँ देख्न कांग्रेस कार्यकर्ताले कुन पुस्तक पढ्न पर्ने रहेछ भनेर सोध्दैछन् । यो दोहोरो भाष्य निर्माण हुने र गरिने अध्यायको अन्त्यका निम्ति कार्यकर्ताको आग्रह छ । एउटा राजनेता बन्ने लालसाबाट राजनीतिक मैदानमा ओर्लिएको व्यक्तिको बोलाई र गराईकै आधारमा तमाम कार्यकर्ताले नेताका प्रतिको दृष्टिकोण निर्माण गर्ने हुन् । तपाईँले अख्तियार गर्दै आउनु भएको ‘डबल स्ट्याण्डर्ड’ बाट कार्यकर्ताले सिक्ने चाहीँ के ?

सवाल नं. ४

डा. शेखरले जोडतोडले ‘आजको सरकार असफल’ भन्दै आउनुभएको छ । हो, सरकारले आशातित जन अपेक्षाअनुसार काम गर्न सकेन । संविधान संशोधनदेखि सुशासनका मुद्दामा सरकार पुरै चुक्यो । सम्पत्ति शुद्धीकरणका दृष्टिले नेपाल ‘ग्रे लिष्ट’ मा परिनै सक्यो । तर, विषम परिस्थितिमा गठित यो सरकारको विकल्प खोजिएकै हो भने र तपाईँले भन्नु भए झैँ सरकार असफल भएकै हो भने तपाईँले भाग खोजेर मन्त्रीमण्डलमा पठाएका मन्त्रीदेखि भूमि आयोगका सदस्यसम्मलाई फिर्ता बोलाउने आँट किन गर्नुभएन ? कि त मन्त्री फिर्ता बोलाउनु पर्‍यो, अन्यथा तपाईँ पनि कांग्रेस पार्टीको नेताको हैसियतले सरकारलाई सफल बनाउन लाग्नु पर्‍यो । सरकारलाई सफल बनाउने दायित्वभित्र तपाईँको चाँही भूमिका कहाँनिर भन्ने प्रश्नको समेत जवाफ अपेक्षाकृत छ ।

सवाल नं. ५

पार्टी सभापति जित्नकै निम्ति पार्टी र सरकारको विरोध गर्दा नै ताली पाइने अपेक्षा तपाईँले राख्नु भएको देखिन्छ । यो हरफकार पार्टीको कुनै पनि तहमा नभएकाले सार्वजनिक सञ्चारमाध्यमबाटै तपाईँबारे प्रश्न उठाएँ । तपाईँ त पार्टीको नेता हो, त्यो पनि पार्टीभित्रकै प्रतिपक्षी । सरकार र पार्टीबारे फरक मत राख्ने ठाउँ ‘किरियापुत्री भवन’ हो कि पार्टीका वैधानिक फोरम ? यदि वैधानिक फोरम हुन् भने पार्टीको केन्द्रीय समितिको बैठकको माग किन गर्नु भएन ? प्रश्न तपाईँसमक्ष पहाड भएर उभिएको छ ।

तपाईँकै समूहबाट निर्वाचित महामन्त्री गगन थापालाई तपाईँकै प्रस्तावमा संसदीय दलको नेता उठाउनु भयो, गगन उठे । तर, फोटो खिचाउँदा ‘शेखर-गगन’ टीममा ३६ भाइ हुने, गगनको भोट चाँही २५ मात्र कसरी ? तपाईँको टीम फुटको विजारोपण कतै यही विन्दुबाट सुरू भएको त होइन ? भोलि यही नियति तपाईँका टीमका अरु कसैले भोग्नु पर्ला कि नपर्ला ? प्रश्न अनुत्तरित नै छ ।

सवाल नं. ६

तपाईँ सार्वभौम संसदको सदस्य हुनुहुन्छ । विराटनगरका लोकतन्त्रवादी मतदाताले तपाईँलाई सानदार मत दिएर संसदमा पुर्‍याए, यो सुखद् पाटो हो । तर, सार्वभौम संसदमा तपाईँ निर्वाचित भएर पुगेयता संसद कति दिन चल्यो ? त्यो संसदमा जनताका आवाज कति दिन बोल्नु भयो र संसदअन्तर्गतका समितिमा कति दिन कुन कुन विषयमा भाग लिएर कुन-कुन कानुन निर्माणमा सक्रियतापूर्वक सहभागी हुनुभयो ? यो प्रश्नको उत्तर जान्ने अधिकार हामी नागरिकलाई सुरक्षित रहेकाले जवाफ अपेक्षित छ ।

सवाल नं. ७

‘बेलायती संसदलाई डा. शेखर कोइरालाले सम्बोधन गर्ने’ भनेर व्यापक समाचार सम्प्रेषित गर्न लगाइयो । तर, तपाईँ केही सांसदको निमन्त्रणामा गएर आफ्ना अभिव्यक्ति राखेर फर्कनुभएको समाचार बाहिर आयो । हवाई कल्पना गरेर समाचार छपाउने कथित बुद्धिजीवीप्रति बेलायत उड्नुअघि र नेपाल फर्किएलगत्तै तपाईँको कुनै टिप्पणी रह्यो कि, मुसुमुसु हाँसेरै बस्नु भयो ? यो र यस्ता समाचारले तपाईँजस्तो नेताको ‘हाइट’ बढाउन मद्दत पुग्यो होला त ? प्रश्न अनुत्तरित छ । तर, जवाफ जगजाहेर नै भएकाले अपेक्षित छैन ।

सवाल नं. ८

कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकमा कुनै पनि बहानामा महाधिवेशन सार्न पाइन्न भन्नुभयो । यो तपाईँले उठाउनु भएको विषय सुन्दर र कार्यकर्ताको भावनासँग मेल खान्छ । तर, तत्कालै सभापति देउवाले ‘कुनै पनि बहाना भनेको के हो’ भनेर झोक्किँदा छिनभरमै ‘क्षमाप्रार्थी छु’ भन्नुभयो ! यसरी आफ्नो भनाइमा अडान नराख्दा कथम् भोलि पार्टी र सरकारको नेतृत्वमा तपाईँ पुग्नुभयो भने पार्टी र देशले दुःख पाउने बाहेक अरु के रहला ?

सवाल नं. ९

१४ औं महाधिवेशनमा तपाईँ सभापतिको प्रत्यासी रहेर निर्वाचनमा गगन थापालाई महामन्त्रीको प्रत्यासी बनाएर निर्वाचनमा होमिनु भयो । तपाईँको भनाइकै आधारमा पनि तपाईँकै टीमका महामन्त्री गगन आज तपाईँसँग छैनन् । प्रश्न उठ्छ- आफ्नै टीमका ‘गगन’ हरू सँगै लिएर हिँड्न सक्नुभएन भने भोलि सिंगो पार्टीको नेतृत्व गरेर तपार्इँबाट फरक विचारको सम्मान कसरी होला ? हुन त, नयाँ-नयाँ जोगीहरू खरानी ज्यादा घसेर तपाईँको दैलोमा आएकै होलान । तर, तिनैको भरमा पार्टीको ‘बेडा’ पार लाग्ला त ?

सवाल नं. १०

‘मिसन पीएम’ को नाराका साथ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तथा तपाईँकै समूहबाट निर्वाचित महामन्त्री गगन थापालाई तपाईँकै प्रस्तावमा संसदीय दलको नेता उठाउनु भयो, गगन उठे । तर, फोटो खिचाउँदा ‘शेखर-गगन’ टीममा ३६ भाइ हुने, गगनको भोट चाँही २५ मात्र कसरी ? तपाईँको टीम फुटको विजारोपण कतै यही विन्दुबाट सुरू भएको त होइन ? भोलि यही नियति तपाईँका टीमका अरु कसैले भोग्नु पर्ला कि नपर्ला ? प्रश्न अनुत्तरित नै छ ।

सवाल नं. ११

तपाईँले निर्माण गर्नुभएको भनिएको टीममा केही नयाँ जोगीहरू अनुहार नै छोपिने गरी खरानी घसेर पार्टी महामन्त्रीको खिलाफमा विष बमन गर्दैछन् । संसद भवन बाहिर उभिएर आफ्नो महामन्त्रीको धज्जी उडाउने नयाँ जोगीहरूबाट जोगिनुभएन भने भोलि तिनीहरूहरूले तपाईँलाई कमण्डलु बोकाउने छन् ।

संवैधानिक सर्वोच्चताको विपरीत भनिएको उद्धव थापा सरकारमा आफूले भाग खोजी रामकुमार खत्रीलाई मन्त्री बनाउन दबाब दिए । यो अपरिपक्वपनको जवाफ आज पनि कोइरालाबाट कार्यकर्ताले खोजी रहेछन् ।

महामन्त्री थापा उमेरका हिसाबले कांग्रेसको केन्द्रीय समितिमा रहेका धेरै नेताभन्दा भाइ होलान् । तर, आजका मितिमा उनी पार्टीका महामन्त्री हुन । महामन्त्रीको मानमर्दनले पार्टी बलियो हुने दुनियाँमा कहीँ पनि त्यस्तो पद्दति होला ? यसरी पार्टी र संसदीय लोकतन्त्रका खिलाफमा बोल्नेलाई बोलीमा लगाम लगाउन सक्नु भएन भने भोलि अरुलाई प्रश्न गर्ने ‘नैतिकता’ बाँकी रहला ?

पार्टी र लोकतन्त्र बलियो बन्ने भनेकै बौद्धिक बहसले हो । तपाईँका केही थान ‘नयाँ जोगी’ का भनाइले भोलि तपाईँ र तपाईँकै टीमका महामन्त्री एकैठाउँ बस्ने दिन आयो भने कति सम्भव होला ? यी र यस्ता परिस्थितिको मापन तपाईँबाट भएको छैन भनेर मान्न सकिन्न, तथापि तपाईँको मौनताले भने धेरै विषयको संकेत गर्दछ ।

सवाल नं. १२

‘एक पटक, यसै पटक’ भन्नुभयो हिजो । कार्यकर्ताले विवेकको मत दिए । आज फेरि चुनाव लड्छु भन्दै हुनुहुन्छ । आज पुनः लड्नु नै थियो त, हिजो ‘एक पटक, यसै पटक’को नारा किन ? कार्यकर्तालाई दिग्भ्रमित पार्ने सुविधा नेतालाई नहुनु पर्ने हो । अर्को कुरा हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अन्याय भयो भन्दै हुनुहुन्थ्यो । तर, आज राज्यले ठिकै गरेछ भन्दै हुनुहुन्छ । यो विरोधाभाषपूर्ण तपाईँका अभिव्यक्तिबाट कार्यकर्ताले के पाठ सिक्ने ?

समग्रमा-

सडक संघर्षबाट खारिएर आएका ‘गगन’ हरूका पनि दर्जन कमजोरी होलान्, त्यसका बावजुद आज कांग्रेसमा नीति उपरको बहस प्रारम्भ गर्दैछन् । यतिबेलासम्म भने कांग्रेसमा नीति उपरको बहसभन्दा पनि नेतृत्वमै रस्साकस्सी देखिँदै आएको थियो । पार्टीमा विचार र उमेरले युवाहरूले भोलिको कांग्रेस र मुलुकको नेतृत्व सम्हाल्ने भएकाले आजै युवाहरू आत्तिन जरुरी छैन् । समयले कांग्रेसलाई समेत युवालाई अगाडि सारेर पार्टी तथा जनताबीच जान दबाब दिने निश्चित प्रायः छ ।

पार्टी जन्मदादेखि नै सँगै ल्याएको ‘गुटगत’ राजनीतिले कमजोर कांग्रेसले ‘जनताको एजेण्डा पनि सम्बोधन गर्न नसक्ने र वामपन्थी तथा नयाँ भनिएकाहरूको बेग पनि रोक्न नसक्ने’ भएकाले कांग्रेस गुटगत राजनीतिबाटमाथि उठ्न पर्ने बुझाइसहितको रणनीति ‘गगन’ हरूले अख्तियारी गरेको देखिन्छ ।

कांग्रेस सभापति देउवाका अलावा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराला आदि नेता ‘समय, उमेर र विचार’ ले पाका तथा ७० कटिसकेकाले उहाँहरूले आ-आफ्नो कालखण्डमा देश पार्टी तथा समाजलाई पुर्‍याउने योगदान पुर्‍याइसक्नु भएको छ । बाँकी जीवन ‘सल्लाहकार’ को भूमिकामा रूपान्तरण गर्नु उहाँहरूकै निम्ति पनि श्रेयस्कर छ ।

कांग्रेसको विरासत जोगाउनकै लागि पनि विचार र उमेरले युवालाई देश र पार्टीको ‘बागडोर’ सुम्पेर आफूले विश्राम लिनु पर्ने दायित्व पनि उहाँहरूकै हो । ज्यादा खरानी घस्नेबाट पार्टी जोगाउन नसक्ने हो र पार्टीका पुराना भनिएकाबाट ‘मै भए मात्र ठिक’ भन्ने सोच त्याग्नै नसक्ने हो भने ‘नयाँ भनिएका (दल) हरूले लगे लगे’, त्यो समय निम्तिँदा मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेस र देश भने कहाँ पुग्ला हेर्नका लागि भने प्रतीक्षा नै गर्नुपर्ने हुन्छ ।

Comments

One response to “कांग्रेसमा महाधिवेशनको बेमौसमी जश्न- एकपटक यसैपटक भनेका शेखरलाई १२ प्रश्न”

  1. deepak dallakoti Avatar
    deepak dallakoti

    सहि विश्लेषण

Leave a Reply

Your email address will not be published. Required fields are marked *