माओवादीले लुटपाटबाट जम्मा गरेको धन वित्तीय प्रणालीमा मिसिँदा नेपाल ग्रे लिस्टमा पर्‍यो- डा.भट्टराई

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विज्ञ डा.राजन भट्टराईले माओवादी केन्द्रकै नेतृत्वमा देश सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको दावी गरेका छन् ।

एमाले वागमती प्रदेश इन्चार्ज समेत रहेका नेता भट्टराईले ४ वटा कारण दिँदै देशलाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पुर्‍याउन माओवादीकै विगतका निर्णय र क्रियाकलापहरु मुख्य कारण रहेको बताएका हुन् ।

माओवादी सांसद माधव सापकोटाले नेपाल ग्रे लिस्टमा परेको भन्दै प्रधामन्त्रीसहित सरकारले मार्ग प्रशस्त गर्नुपर्ने माग संसदमा राखेलगत्तै एमाले नेता भट्टराईले माओवादीमाथि ४ वटा प्रश्न उठाएका हुन् ।

भट्टराईले माओवादी युद्धकालमा चन्दा,लुटपाट र अपहरणबाट अकुत सम्पत्ति जम्मा भएको र त्यो पैसा वित्तीय प्रणालीमा अस्वच्छ रुपमा मिसिएकाले सम्पत्ति सुद्धिकरणको ग्रे लिस्टमा पर्ने आधार बिगतदेखि नै बनेको बताएका छन् ।

भट्टराईले प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा एफएटीएफले पटकपटक ग्रे लिस्टको चेतावनी दिएको तर उक्त सरकारका बेलामा कानूनी र प्रणालीगत सुधारमा कुनै काम नभएकाले सन् अघिल्लो वर्षकै रिपोर्टका आधारमा नेपाल ग्रे लिस्टमा परेको दावी गरेका छन् ।

यस्ता छन् राजन भट्टराईले दिएका ४ आधार

१.माओवादी हिंसा र सम्पत्ति शुद्धीकरणको सम्बन्ध

माओवादी युद्धकालमा अंकुत सम्पत्ति जम्मा गरियो, जुन अनुगमन हुन सकेन।
जबरजस्ती चन्दा, लुटपाट र अपहरणबाट उठाएको पैसा अहिले पनि वित्तीय प्रणालीमा अस्वच्छ रूपमा मिसिएको छ।

२. एफएटीएफ ग्रे लिस्टको कारण नेपाललाई ग्रे लिस्टमा राख्नुको मुख्य कारण भनेकै वित्तीय पारदर्शिता अभाव, गैरकानुनी लेनदेनको निगरानी कमजोरी, र आतंकवादी गतिविधिमा आर्थिक सहयोग हुन सक्ने सम्भावना हो। प्रचण्ड प्रधानमन्त्री भएका बेला नै एफएटीएफले पटक–पटक चेतावनी दिएको थियो।

३‍.२०६३ पछि माओवादी नेतृत्व सरकारमा आएदेखि नै आर्थिक अनियमितता बढ्दै गयो। सरकारमा हुँदा कानुनी सुधार नगर्ने, अनुगमन कमजोर पार्ने, र आफ्ना भ्रष्ट नेताहरूलाई जोगाउने खेल माओवादीले नै गर्‍यो।

४‍. कसले मार्ग प्रशस्त गर्नुपर्छ ?

यदि माधव सापकोटाले नैतिकताको कुरा उठाउने हो भने, पहिला प्रचण्ड स्वयंले नैतिक जिम्मेवारी लिएर राजनीतिबाट संन्यास लिनुपर्छ। माओवादी नेतृत्वकै कारण आज नेपाल अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको नजरमा अस्वच्छ देखिएको हो।

सरकार असफल भयो भन्ने आरोप लगाउनु सजिलो छ, तर यसको जग कसले खन्यो भन्ने बुझ्नुपर्छ। माओवादीकै कारण नेपाल भ्रष्टाचारको अखडा बन्यो, अनि आज आएर आफैंलाई चोखो देखाउने कोसिस गर्दैछन्। वास्तविक दोषी को हो भन्ने जनता राम्रोसँग बुझ्छन्।

Comments

One response to “माओवादीले लुटपाटबाट जम्मा गरेको धन वित्तीय प्रणालीमा मिसिँदा नेपाल ग्रे लिस्टमा पर्‍यो- डा.भट्टराई”

  1. ksp pyl Avatar
    ksp pyl

    अझ प्रचण्डले व्रिटिस भर्जिन आईल्याण्डमा लगेर फेरि लगानी भनेर पैसा ल्याउने गरेका छन् रे । त्यसले त कालो सूचीमै पार्लाजस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *