आजको यो विशेष अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई हृदयदेखि नै जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु । राष्ट्र निर्माणको कठोर यात्रामा तपाईँको योगदान अतुलनीय छ । तपाईँको दृढ नेतृत्वमा देशले आत्मनिर्भरता, राष्ट्रिय स्वाभिमान र समृद्धिको यात्रामा ठूला फड्काहरू मार्दै गएको छ ।
तपाईँको नेतृत्वमा देशले भूकम्पपछिको पुनर्निर्माणदेखि कोभिड-१९ महामारी व्यवस्थापनसम्म, राष्ट्रिय स्वाभिमान उच्च राख्ने विदेश नीतिदेखि ठूला पूर्वाधार परियोजनाहरूको थालनीसम्म अनेक महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ । समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने तपाईँकै अभियानले देशमा नयाँ आशा र उत्साह भरेको छ ।
म निजामती कर्मचारीको हैसियतमा राष्ट्रसेवकका रूपमा कार्यरत छु । राष्ट्रसेवक हुनु भनेको केवल एउटा पेशा होइन, यो त राष्ट्रप्रति हाम्रो सर्मपण हो, जहाँ हाम्रा श्रम, समय र समर्पण समेटिएका छन् । प्रशासनिक संरचनाको मेरुदण्डको रूपमा हामीले संघ, प्रदेश र स्थानीय तहमा दिनरात खटेर जनतालाई सेवा पुर्याउने जिम्मेवारी बहन गरिरहेका छौँ । तर, संघीय निजामती सेवा ऐन अहिलेसम्म जारी नहुनु सम्पूर्ण निजामती सेवामा कार्यरत राष्ट्रसेवकका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।
संघीयता कार्यान्वयन भएको लामो समय भइसक्दा पनि संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको अधिकार, कर्तव्य र उत्तरदायित्व स्पष्ट पार्ने कानूनी आधार अझै पूर्णरूपमा तयार हुन सकेको छैन। यसले राष्ट्रसेवकहरूको मनोबलमा असर पार्नुका साथै प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन कठिनाइ उत्पन्न गरिरहेको छ ।
तपाईँको नेतृत्वमा सरकार अघि बढिरहँदा, यस हिउँदे अधिवेशनमै गहन छलफल गरी संघीय निजामती सेवा ऐन जारी गर्ने कार्यमा तपाईँको विशेष पहल रहनेछ भन्ने गहिरो अपेक्षा राख्दछु । यस कानूनले निजामती सेवालाई थप सुदृढ गर्दै, कर्मचारीहरूको सेवा, सुरक्षाको प्रत्याभूति दिलाउनेछ र संघीय प्रशासनलाई अझ प्रभावकारी बनाउनेछ ।
राष्ट्रसेवकका रूपमा, हामी सरकारका नीतिहरू कार्यान्वयन गर्ने मुख्य सम्वाहक हौं । हाम्रो मनोबल उच्च रहनु भनेको सरकारको कार्यसम्पादन अझ प्रभावकारी बन्नु हो ।
त्यसैले, ऐनलाई केवल कानूनी दस्तावेजका रूपमा होइन, बरु निजामती सेवाको मार्गचित्रका रूपमा अपनत्व गर्न सक्ने गरी यसको निर्माण हुनु अपरिहार्य छ । राष्ट्रले तपाईँलाई केवल एक नेताका रूपमा मात्र होइन, कुशल अभिभावकका रूपमा पनि हेरिरहेको छ । जो स्वार्थभन्दा माथि उठेर जनताको हितका लागि समर्पित छ, जसले नेपाललाई अझ गौरवशाली बनाउन नेतृत्व दिन सक्छ ।
तपाईँको निरन्तर प्रेरणाले हामी राष्ट्रसेवकहरूलाई अझ इमानदार, निष्कलंक र समर्पित भएर काम गर्न हौसला प्रदान गरिरहेको छ। तपाईँको दीर्घायु, उत्तम स्वास्थ्य र सफल कार्यकालको कामना गर्दै, नेपाललाई आत्मनिर्भर, सुव्यवस्थित र समुन्नत बनाउने तपाईँको अभियानलाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।

Leave a Reply