सेन्सर बोर्डले दियो ‘लाज शरणम्’ लाई प्रदर्शन अनुमति, निर्धारित मितिमै प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ सेन्सर बोर्डबाट पास भएको छ । आज सेन्सर बोर्डले कुमार कट्टेल निर्देशित चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

कुमार कट्टेल निर्देशित यस चलचित्रको पोस्टर सामाग्री सार्वजनिक भएपछि पूर्वमन्त्री अफताब आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो । अदालतको आदेशलाई लिएर चलचित्रकर्मीहरूले नै गुनासो गरेका थिए । निर्देशक समाजले त विज्ञप्ति नै जारी गरेको थियो ।

अदालतको आदेशले गर्दा चलचित्र निर्माण टिमले काटिसकेको ट्रेलर पनि सार्वजनिक गर्न पाएको थिएन । अहिले सेन्सर बोर्डले पास गरेसँगै चलचित्र प्रचारप्रसारसँगै प्रदर्शनको बाटो समेत पनि खुलेको छ ।

‘लाज शरणम्’ हास्य टेलीश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो । यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारले अभिनय गरेका छन् । विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायत कलाकार पनि मुख्य भूमिकामा छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *