प्यूठानमा श्रीमान-श्रीमती घरभित्रै मृत फेला, रहस्य खोतल्दै प्रहरी

रुपन्देही । प्यूठानको माण्डवी गाउँपालिका–२ स्थित रातामाटेमा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । मृतक ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया पत्नी हुकुमा परियार शनिबार दिउँसो आफ्नो घरभित्र मृत फेला परेका हुन् ।

चार छोरा भारतमा र ३ छोरी बिहे भएर दाङमा रहेका परियार दम्पतिको मृत्यु प्रहरीले नै रहस्मय भनेको छ । घटनाको विवरण अनुसार, शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखुलेपछि छिमेकीले ढोका ढकढक्याउन गएका थिए । छिमेकीले चिहाएर हेर्दा दम्पती लडेको अवस्थामा फेला परेपछि प्रहरीलाई सूचना दिइएको हो ।

प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालका अनुसार, घटना शंकास्पद रहेको छ ।

मृतकको शरीरमा घाउ र चोटका निशानहरू देखिएका छन् । घटनाको अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर झिकिएको तर यसमा केही समय लाग्ने बस्यालले बताए ।

‘दुवैको अनुहार र टाउकोमा चोट लागेको छ, बिस्तारै पल्टेको अवस्थामा भेटिएको छ, चार छोरा भारत, छोरी ३ बिहे भएर घरमा एक्लै रहेको पाइएको छ । अहिले मेरो नेतृत्वमा टोली घटनास्थलमै छ । पौने १ बजे खबर पाएर आएका हौं, अहिलेसम्म केही पत्तो लागेको छैन’, प्रनाउ बस्यालले नेपाल प्रेसलाई भने ।

मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए । उनीहरूका चार छोरा भारतमा बस्दै आएका छन् भने तीन छोरी विवाहित भई दाङतिर बस्दै आएकी थिइन् । घटनास्थलमा प्रहरीले स्थानीयबाट सोधपुछ गरिरहेको छ ।

प्रहरी निरीक्षक केशवराज केसीका अनुसार, सुरुमा स्थानीयको सूचनामा प्रहरी चौकी तिरामबाट प्रहरी वरिष्ठ हवल्दार सरद बस्नेतको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

पछि डिएसपी बस्याल र प्रहरी निरीक्षक केसीसहितको प्रहरी टोली पनि घटनास्थल पुगेको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने मृतकको शव परीक्षणका लागि पठाइएको छ । घटनाको कारण र पृष्ठभूमि अनुसन्धान अन्तर्गत रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *