देउवाको ‘आशीर्वाद’को आशा राखेका सिटौलाले गरे आफू निकट नेताहरुसँग बेग्लै छलफल

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति टुंगो नलाग्दै संस्थापन पक्षबाट नेतृत्वको आकांक्षी नेता कृष्णप्रसाद सिटौलाले आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । आज आफू निकटका नेताहरुसँग निवासमै बोलाएर छलफल गरेका हुन् ।

भेलामा केन्द्रीय सदस्य शिव प्रशाद हुमागाईं, कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भुपेन्द्र राई, पूर्व मन्त्री भिमसेनदास प्रधानलगायत नेताहरु सहभागी थिए । पार्टीका नेताहरुबीच भेटघाट भएको भेलामा सहभागी नेता प्रधानले बताए ।

उनले भने, ‘कृष्ण दाईले कुनै औपचारिक भेला बोलाउनुभएको होइन। नेताहरुबीच चिया भेटघाट भएको हो। महाधिवेशनमा छुट्टै समूह बनाएर जाने भन्ने त्यस्तो कुनै छलफल होइन ।’

सिटौला आगामी महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको उत्तराधिकारी तोक्न गत शुक्रबार बूठानीलकण्ठ पुग्ने ११ भाइमध्येका एक हुन्। नेता सिटौला संस्थापन पक्ष एकजुट भएर जानुपर्छ भन्ने पक्षमा रहेका प्रधानले बताए ।

उनले थपे, ‘सभापतिले अब फेरि नउठ्ने भनेपछि कृष्णदाईले सबै एकजुट भएर जानुपर्छ भन्नेमा हुनुहुन्छ । अब देउवादाईले नै संस्थापन पक्षबाट अबको नेतृत्व तोक्ने हो । उहाँले तोकेका नेतृत्व सबैले स्वीकारेर अघि बढ्नुहुन्छ ।’

उनले नेता सिटौलाले नेतृत्वको दाबी गर्नु स्वभाविक भएको सुनाए । तर, देउवाले आफ्नो उत्तराधिकारीबारे अहिलेसम्म मुख खोलेका छैनन् ।

अहिले कांग्रेसमा देउवाको आशीर्वाद पाउने दौडमा सिटौलासहित उपसभापति पूर्णबहादुर खड्का, १४औं महाधिवेशनमा सभापति उम्मेदवार भएर देउवालाई सघाएका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला रहेका छन् ।

पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले १३औं महाधिवेशनमा सभापति उम्मेदवार भएपनि देउवालाई सघाएता निरन्तर साथ दिँदै आएका छन् ।

यद्यपी, कांग्रेसको १५ औं महाधिवेशन आगामी निर्वाचनपछि गर्ने सभापति देउवाले आशय देखाएका छन् । देउवाको आशयपछि इतर पक्षका नेता शेखर कोइरालाले पनि आज आफू निकटका नेताहरुसँग छलफल गरेका थिए ।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा डा. मिनेन्द्र रिजाल, सहमहामन्त्री जीवन परियार, सञ्जय गौतमलगायत नेताहरु सहभागी छन् ।

नेता कोइरालाले ०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

उनले भने, ‘अहिले म जिल्लाजिल्लामा हिँडिरहेको छु, अहिले बजारमा ०७४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने भन्ने कुरा आइरहेको छ। त्यो चिन्ताजनक बिषय हो। त्यो कुरा म मान्नै सक्दिनँ। तपाईंहरुले जिल्लाजिल्लामा नत्र अफ्ठ्यारो हुन्छ भनेर सम्झाउनुपर्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *